समाचार

बालेनलाई चिरिबाबुको पत्र : उपत्यकामा मेट्रो रेल बनाउने नेतृत्व लिनूस्, म साथमा छु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका छन् ।

उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर महर्जनले शुक्रबार मेयर साहलाई पत्र बुझाएका छन् ।

महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौं महानगरले मेट्रो रेलका लागि लिने नेतृत्वमा ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्र बुझाउँदै महर्जनले भने, ‘उपत्यकाका दुई महानगर बीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौं । जसका लागि ललितपुर काठमाडौंको सहयात्री बन्छ । काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ ।’ महर्जनले उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो पनि अपरिहार्य भएको बताए ।

‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रो रेलका बारेमा निर्णय नगर्नु किमार्थ ठिक हुँदैन, काठमाडौं उपत्यकालाई बस्न योग्य सहर बनाउनका लागि मेट्रो रेल नल्याइ सुखै छैन’ महर्जनले भने ।

उनले मेट्रोको निर्माणमा ढिला गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताए । ‘अब पनि काठमाडौं उपत्यकामा मेट्रो नबनाउने हो भने सन्ततिले हामीलाई धिक्कार्छन्’ उनले भने ।

योजनाबद्ध छलफल गर्छु : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेनले मेट्रो रेल उपत्यकाका लागि अत्यावश्यक भएको महसुस आफूले पनि गरेको बताए । उनले अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा योजनाबद्ध रुपमा छलफल सुरु गर्ने बताए ।

काठमाडौं महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको साहको भनाइ थियो । दीर्घकालीन रुपमा हेरेर योजना बनाउनुपर्ने भन्दै साहले महर्जनलाई भने, ‘योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुशी र सुख दिन सक्दैन ।’

ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले उपत्यकाकोे ट्राफिक व्यवस्थापन समयमै नभए अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुने बताए । उनले उपत्यका ‘गतिहीन’ हुनसक्ने अवस्था रहेको दुई मेयरको भेटमा सुनाए ।

उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि नेपाली विज्ञहरुको एक अन्तर्राष्ट्रिय समूह ‘वृहत काठमाडांै उपत्यका मेट्रो रेल प्रबद्र्धन समूह’ केही समयदेखि कार्यरत छ । उक्त समूहको संस्थापकमा डा. विनोद अमात्य, ई.वदन न्याछ्योँ, डा. पुरु श्रेष्ठ, डा. श्रीगोविन्द शाह, ई. अनन्त वैद्य, ई सुरेन्द्र जोशी लगायत रहेका छन् ।

यो समूहले काठमाडौं उपत्यका क्षेत्रमा मेट्रो रेल प्रणालीको आधारमा दीर्घकालीन विकास तथा एकीकृत यातायात व्यवस्थापनको विकासको रणनीतिक अवधारणापत्र समेत तयार गरेको छ । मेयर महर्जन उक्त अवधारणा पत्र सहित बालेन भेट्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *