समाचार

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, १४ असार (रासस) :

टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको राससलाई जानकारी दिनुभयो । यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ र चालु आव २०७७/७८ मा ३४ उजुरी परेका छन् । चालु आवमा परेका ३४ उजुरीमध्ये १७ उजुरी फैसला भइसकेको नगरपालिकाले जनाएको छ ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहनुभएको छ । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रूपमा हुनुहुन्छ । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ ।

नगरपालिकामा उजुरी आउने क्रम बढेपछि टोखाले प्रत्येक वडामा ‘मेलमिलाप केन्द्र’ स्थापना गर्ने भएको छ । टोखाको बुधबार सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलमिलाप केन्द्रमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम अगाडि सार्नुभएको हो ।

विसं २०७४ पुस २७ मा स्थापना भएको टोखाको न्यायिक समितिमा मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । सोमबार बस्ने इजालसका लागि आइतबार उजुरीको अध्ययन गर्दै आएको टोखाले जनाएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिन पनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताउनुभयो । नगरपालिकाले कार्यविधि ऐन, २०७५ अनुसार न्याय दिँदै आएको छ । टोखा नगरपालिकामा ११ वडा छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *