सक्छौ भने मलाई माफ गरिदेऊ!

प्रकाशित; आइतबार, पुस ०३, २०७९

‘मलाई सहानुभूति होइन, सक्छौ साथ देऊ, सक्दैनौ घात नदेऊ। बाँच्न देऊ एक्लै। मलाई थाहा छ, सक्दिनँ होला तिमीजस्तै गरी बाँच्न। तर म कोसिस गर्छु, बाँचेर देखाउने छु एक्लै। तिमी सुखै-सुखमा बाँच हाँस, म केही गुनासो गर्दिनँ। म तिमीलाई दु:ख दिने काम कहिले गर्दिनँ। जे थियो, जे भयो ती सब नमिठो सपना सम्झेर भुल्ने कोसिस गर्छु। कोसिस मात्रै होइन म भुल्छु। संयोगले भेटी हाले अपरिचित बनेर बाटो छलेर गैइदेऊ। म यसैमा खुशी हुन्छु।’

यस्तै-यस्तै विगतमा घटेको वियोगान्तको आलो कथालाई सम्झँदै अनामिका पहिला जोडी भएर बस्ने सुन्दर पार्कको निर्जीव एकान्तको एक्लो पुरानो काठको बेन्चमा टोलाएर समय ब्यतित गर्दै थिइन्।

कानमा जडित एयरफोनमा वरिष्ठ गीतकार किरण खेल ज्युले लेख्नु भएको माइतीघर सिनेमाको गीत बजिरहेको थियो।

बाझो भयो संसार यो!

बिझाउने मान्छेहरू

बसन्त नै बिधुवा भई आगो भए फूलहरू…..!

गीतको शब्द-शब्दले मनलाई  मात्रै छोएको थिएन अनामिकाको। त्यो गीतको अन्तरा आफ्नै लागि लेखेको जस्तो लागिरहेको थियो। विगतको असफल प्रेमको कारण पटकपटक आँसुले भिजेको मनलाई सुकाउन यसरी नै एक्लोपन रोज्ने गर्छिन् उनी। जहाँ घामले उनलाई, उनले घामलाई देखेको होस्।

पहिला-पहिला समयको खुब ख्याल गर्थिन् अनामिका। हिजोआज बेफिक्री बनेकी छिन्। उनी समयसँग नभएर समय उनीसँग लतारेर हिँड्दै गरेकोजस्तो लाग्छ। अरू बिउँझेको बेला उनी सुत्छिन्। अरू सुतेको बेला उनी  उठ्छिन्। मनभित्र आन्दोलित विचलित तरंगहरूको गतिलाई समाल्न हम्मेहम्मे भएको आभास खुद आफैंले गरेको हुन्छ। मन स्थिर नभएको महसुसले मनमनै विपश्यना जाने योजना बनाउँछिन्। मनमनै बनाएको मनको योजना मनमै तुहाइदिन्छ।

पहिलाको जस्तो फूर्ति छैन उनमा। भोक होइन बेला-बेलामा छोडी गएको निरमोहीको सम्झनाले एक्लै-एक्लै भुत्भुताउनु मन लाग्छ। मनको फूलबारीमा भेट्छिन्। मनमनै भेट्छिन्। मनमनै बिदा गरेर जान्छन्। यस्तै-यस्तै लथालिङ्ग बनेको छ जिन्दगी।

दिनप्रतिदिन मुर्झाउँदै गएको पहिले-पहिले जहिले धपक्क बलेको मुहारको बारेमा आमाले सोधी रहन्छिन्। आमाको सोधाइमा छोटो ‘ठिक छ मलाई’ भनेर टारिदिन्छिन्।

अनामिका  ठिकठाक मध्यम वर्गीय परिवारमा जन्मेकी। बा-आमाको दुई सन्तानमध्ये उनी जेठी छोरी। उनीभन्दा मुनि एउटा भाइ। भाइ स्कुलमा पढ्दै थियो। बाको सरकारी जागिर। सेक्सन अफिसर एउटा सरकारी कार्यालयको। आमा गृहिणी, छोराछोरीको लालन-पालनमा ब्यस्त।  पुर्ख्यौली घर सुदूर पश्चिमतिर भए पनि जन्मेको हुर्केको काठमाडौंमा।

राम्रै प्राइभेट स्कुलबाट स्कुले शिक्षा सकाएर एउटा प्रतिष्ठित प्राइभेट कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययन गर्दै गरेको अनामिका। सुन्दर त छँदै थिइन् उनी। बाहिरी आवरण जति सुन्दर थियो त्योभन्दा बढी सुन्दर ऊ भित्रको असल गुण थियो।

समय, साथ र सम्बन्धबारेमा जानकार भैसकेकी अनामिका घरदेखि इष्टमित्रमाझ प्रिय थिइन्। कलेजमा गुरू वर्गदेखि साथीसंगीको माझ राम्रै थियो छवि। कलेजमा हुने अतिरिक्त कार्यक्रममा राम्रै भूमिका निभाएको हुन्थी।

आफ्नै गतिमा चल्दै गरेको जिन्दगीको एउटा घुम्तीमा संयोगले नै त नभनौं उज्वल भविष्यको सपना देख्नेहरूको संगमस्थल कलेजमा उस्तै-उस्तै उमेर। ठ्याक्कै उस्तै-उस्तै सपनाको पटकथा कोर्न तल्लीन। एक जना युवासँग भेट हुन्छ। सुन्दर शान्त स्वभावको युवा जसलाई चिनाउन राखेको नाम आकाश। आकाश अन्तर्मुखी स्वभावको थियो।  सजिलै जो सुकैसँग तत्काल घुलमिल हुन अलि गाह्रो मान्थ्यो।

अनामिका स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् भने आकाश स्नातक तेस्रो वर्षमा। दुबै जनाको मर्निङ सिफ्टको क्लास। बिना तयारीले नै गराई दिएको भेट। हाई हलो गर्दागर्दै नजिकको साथी बनिसकेका थिए।

आकाश मोफसलबाट भित्रेको थियो काठमाडौं। ऊ भाइसँग बस्थ्यो। कलेज आउन/जान पायक पर्ने स्थानमा थियो उसको डेरा। आकाशको डेरा र अनामिकाको घर त्यति धेरै टाढाको दूरीमा थिएन। लगभग पाँच-सात सय मिटर टाढाको दूरी थियो।

कलेज आउँदा-जाँदा कहिलेकाहीँ सँगै हुन्थे। बाटो काट्ने बहानामा कुरा गर्थे। पढाइको बारेमा। भविष्यको योजनाका बारेमा। उमेरले दुई-ढाई वर्षको अन्तर थियो।

मंसिर महिनाको दोस्रो शनिबार। अनामिका घरमै आमाले गर्ने काममा सहयोग गर्दै थिइन्। अचानक उनको मोबाइलमा टिङटिङ गरेको आवाजसँगै एउटा म्यासेज आयो।  म्यासेज खोलेर हेरिन्। म्यासेज आकाशले पठाएको रहेछ।

‘हाई अनामिका’!

‘के छ हालखबर’?

‘आज घरमै हो तिमी’?

एक्कासि यसरी पहिलो पटक आएको आकाशको म्यासेजले झस्कायो!

‘भेट हुँदा हाई हलोको साथ सामान्य कुरा सिवायाक त्यत्ति साह्रै बोलचाल हुँदैन थियो र पनि आज किन म्यासेज पठाएको होला। अरूभन्दा नि मेरो नम्बर कसरी पायो उसले।’ मनभित्र हल्ली-खल्ली मच्चिरहेको थियो।

म्यासेज रिप्लाइ गरौं कि नगरौं भन्ने दोधारमा अल्झेकी थिइन् अनामिका।

एक मनले भन्दै थियो ‘एउटै कलेजमा पढ्ने साथी हो के हुन्छ र म्यासेज रिप्लाई गर्दा।’

अर्को मनले भन्थ्यो, ‘होसियार अनामिका कतै केही स्वार्थ बोकेर नजिक हुन खोजेको त होइन!’

अन्तमा म्यासेज रिप्लाई गर्ने निधो गरिन्। पठाइन् म्यासेज।

‘हाई आकाश’ !

‘मलाई राम्रो छ’ ! अनि तिमीलाई कस्तो छ ? म घरमै हो।’

उता आकाश कुरिरहेको थियो रिप्लाई।

म्यासेज आयो, खुसी भयो आकाश!

‘थ्याङ्गस गड’ !

‘अनामिका तिमीलाई एउटा म्यासेज पठाउने हिम्मत जुराउन ठ्याक्कै छ महिना भएछ। आज साहस जुटाएर पठाएको म्यासेज तिमीले रिप्लाई गर्‍यौं। धन्यवाद अनामिका’!

‘ल एउटा म्यासेज पठाउन पनि त्यत्रो साहस जुटाउनु पर्ने’!

‘के म बाघ हो र हेहे’ !

‘कुरा त्यस्तो होइन, कुरा डरको हो’।

‘ल फेरि डराउनुको कारण के म अलग ग्रहबाट आएको एलिएन हो’र !’ हाँस्दै बोलिन् अनामिका!

‘होइन! अनामिका आज साँझपख फुर्सद भए भेट्ने मन गरेको। यदि तिमीसँग समय छ भने!’

‘यही त हो तिमी केटाहरूको नौटंकी। भर्खरै म्यासेज पठाउन कुनि कति महिनाको कुरा गर्दैथियो। बोल्यो म्यासेज रिप्लाई गर्‍यो। अब भेट्ने कुरा गर्छौ। भेटेपछि डेटिङ्गको कुरा गर्ने होला! प्रेम कुरा गर्ने होला। ल ल विचार गरेर पठाउँछु म्यासेज’। आकाशले खुसी भएर ह्याप्पी इमोजी मात्रै पठायो।

बेलुकीपख अनामिकाले म्यासेज गरिन्। कहाँ भेट्ने भनेर। आकाश खुसी हुँदै लोकेशन पठायो।

परबाट अनामिका आउँदै गरेको चाल पायो उसले। जति जति नजिकिँदै थिइन् अनामिका, उतिउती मुटुको धड्कन तीव्र भएको अनुभव बटुल्दै थियो आकाश।

परैबाट बोल्दै आउँदै थिइन् अनामिका।

‘किन यस्तो सुनसान ठाउँमा भेट्न बोलाको’ !

आकाश मुसुक्क हाँस्दै बोल्यो।

‘मलाई यस्तै एकान्त मन पर्छ। जहाँ म बोलेको, तिमी बोलेको मौनता अंगालेर बसेको रूखले मात्रै सुनुन्। सुन्दर प्रकृतिले मात्रै चाल पाऊन् भनेर हेहेहे’….!

अनामिका बोल्न थालिन् धाराप्रवाह।

‘हलो महोदय भावुक बनेर पट्याउनु खोजेको हो कि क्या हो’ ?

‘म त स्ट्रेट फरवार्ड केटी हुँ ! सिधा भन्नु के कति कामले बोलाको, त्यो कुरा भन्नू। मसँग धेरै छैन समय। आमालाई एक घन्टामा फर्कन्छु भनेर आएको। साथीलाई भेट्ने बहाना बोकेर।’

आकाश नम्र भावले बोल्यो।

‘अनामिका कुरा त्यस्तो होइन।तिमीलाई एउटा असल साथीको नाताले बोलाएको हो। यो ठूलो सहरको भिडमा मेरो मनको आँखाले देखेको तिमी राम्रो मान्छेलाई त्यसै-त्यसै भेट्न मन लागेर भेट्न खोजेको हो। अन्यथा नसोच्नू।’

अनामिका बोलिन्।

‘बेसी भावुक हुनुपर्दैन। म पनि साथी नै सम्झेर आको हुँ। बरू जाऊँ साँझ पर्न लागिसकेको छ। बोल्दै-बोल्दै जाँदा हुन्न!’

दुबै जना फर्के। मनमनै धेरै कुरा गर्दै। बस्ने बासस्थान आइपुग्दा आकाशमा जून देखिसकेको थियो। उनीहरू सँग-सँगै आएको देखेर जून पनि खुसी भयो।

आकाशलाई भेटेदेखि अनामिकाले आफूलाई के भइरहेको छ भेउ पाउनै सकिरहेकी थिइनन्।

भोलिपल्ट कलेजबाट घर फर्कने बेला हिम्मत जुटाएर बोल्न कोसिस गर्‍यो आकाशले।

‘अनामिका हिजो मैले तिमीलाई किन भेट्न बोलाएको भन्ने कुरा गर्न नपाउँदै हामी फर्क्यों। समय घर्केको बहाना बोकेर। तिमीसँग एउटा कुरा गर्नु थियो।’

अनामिका बोलिन्, ‘भैगोनी अहिले। म छँदैछु तिमीसँग। तर लब-सब को कुरा चाहिँ गर्ने होइन। पहिले भन्देको छु।’

अनामिकाको कुराले आकाश झस्कियो। केही बोलेन। दुबै चुपचाप हिँडिरहे।

‘किन चुपचाप मिस्टर के हो कुरा ?’

एक्कासि अनामिका बोलेको सुनेर आकाश बोल्यो।

‘किन मुखलाई दु:ख दिऊँ भनेर नबोलेको।’

‘ल ल धेरै अन्योलमा नराख। कुरा के हो भन।’

‘मलाई ल्याङल्याङ गरेको मन पर्दैन’ अनामिका कड्केर बोलिन्। आकाश बोल्न बाध्य भयो। उसको मौनता टिकेन अनामिकाको जिद्दी अगाडि।

‘अनामिका कुरा प्रेमको हो। तर तिमीले सुरूमै भन्यौ। लब सब कुरा नगर भनेकोले भन्न सकिनँ।’

‘बोल्न साहस नपुगे पनि म तिमीलाई सत्य चोखो माया गर्छु अनामिका। मैले गरेको प्रस्तावलाई अस्वीकार नगर। बरू समय लिऊ। सोच विचार गर। भरे-भोलि भन्दिनँ दुई-चार महिना होइन तिम्रो लागि सिङ्गै जिन्दगी अर्पण गर्छु पर्खाइमा।’

आकाशको धारा प्रवाह कुरा अनामिकाको अनुहार रातो पिरो भयो। केही बोलिन अनामिका। हिँड्दै गरेको बाटो दोबाटो बने दुबै आ-आफ्नो गन्तव्यतर्फ लागे।

धेरै सोच विचार गरेपछि अनामिकाले निर्णय लिइन्। उनलाई आकाशको कुरा ठिक लाग्यो। आकाशको प्रेम प्रस्ताव स्वीकार गरिन् मनमनै। कलेज  आउँदा-जादा बाटोमै भन्न मन लागेको थियो उनलाई।

डर लागेर भन्न सकिनन्। आकाशले पनि पुनः त्यो कुरा दोहोराउनु उचित नठानेर होला कहिले कुरा झिकेन।

स्नातक चौथो वर्षको पढाइ चल्दै थियो आकाशको। फाइनल एक्जाम आउन धेरै दिन बाँकी थिएन। परीक्षाको तयारीमा निकै खटिरहेको थियो आकाश।

एक साँझ घरमा कोही नभएको मौका पारी अनामिकाले हत्तपत्त फोन गरिन् आकाशलाई।

एकै सासमा बोलिन्, ‘आकाश म पनि तिमीलाई माया गर्छु।’

आकाश खुसी भयो । दुबै जनाको खुसीमा झुम्न आकाशको जून-तारा तयार भए।

दिनहरू खुसीसाथ बित्दै गए। आकाशको प्रेम स्वीकार गरेपछिको प्रायः छुट्टीका दिन काठमाडौंका क्याफेदेखि नजिकै पर्ने धुलिखेल, नगरकोट, ककनीको सुन्दर पार्कहरूमा भेटिन्थे  उनीहरू।

स्नातक चौथो वर्षको परीक्षा दियो आकाशले।

परीक्षा सकेपछि  छुट्टीको केही समय आफ्नै ठाउँमा गएर बिताउने योजना बनायो आकाशले र अनामिकासँग पनि कुरा सेयर गर्‍यो। सोही बमोजिम आकाश आफ्नै ठाउँ पूर्वी नेपालको ठूलो सहर विराटनगर लाग्यो।

केही दिन बितायो घरमा। आकाशको मामाघर भारतमा थियो। मामाहरूले मास्टर्स गर्न भारत लाने कुरा सुनाए।  बा-आमाको कुरा आज्ञाकारी बनेर सुनिरहे। बा- आमाको कुरा काट्ने हिम्मत गरेन उसले।

केही दिनपछि काठमाडौं फर्कियो आकाश र घरमा भएका सबै कुरा अनामिकालाई सुनायो। इन्डिया पढ्न जाने कुराले अनामिका दु:खित भइन्।

छ-सात महिनापछि रिजल्ट आयो। नब्बे प्रतिशत ल्याएर पास भयो आकाश।

उता घरमा बा-आमाले दिएको वचन पूरा गर्नुछ। यता आफ्नो जीवनभन्दा प्रिय प्रेमिकालाई साथ दिनुछ।

सदाको लागि नभएर केही वर्षको लागि सबैबाट टाढिन बाध्य भएको छ आकाश।

बाध्यताको त्रिवेणिमा उभिएको आकाश उच्च शिक्षा हासिल गर्न भारतमा जाने निर्णय गर्‍यो।

सधैंझैं हुने एउटा साँझ भेट्छन् उनीहरू। अनि गर्छ थुप्रै विश्वास र भरोसाको कुरा गर्छन्। आफूबाट कहिल्यै धोका नहुने कुरा राख्छन्। विश्वास दिलाउन आकाशले आफ्नो हात काटेर थोरै रगतले अनामिकाको सिउँदो रंगाउँछ्न्। बिना पण्डित, बिना रितिरिवाज नै एक प्रकारको बिहे गर्छन्।

केही दिनपछि आकाश भारत गयो। अनामिका एक्लै काठमाडौंमा जेनतेन बाँचिरहिन्। सुरू-सुरूका दिनहरूमा आकाश हरेक दिनको बिहान ,दिंउँसो र साँझ बनेर सम्झरहन्थ्यो।

जब-जब दिनहरूले महिना, वर्षको दुरी बनाउँदै गए बिस्तारै म्यासेज, फोन गर्ने काम कम हुँदै गए।

साँझ, बिहान गुडमर्निङ र गुड नाइट बनेर हरेक दिन आइरहने आकाश बिस्तारै हप्ता र महिना बन्दै थियो।

आकाशले काठमाडौं छोडेको चार वर्ष भैसकेको थियो।

साँझ सँगै अनामिकाको मोबाइलमा म्यासेज आयो।

म्यासेज आकाशको थियो।

‘हाई अनामिका! मेरो रिजल्ट राम्रो आयो! ‘के छ तिम्रो खबर’?

अक्षर फारो गरेर पठाएको म्यासेज पाएर खुसी नै भइन् अनामिका। म्यासेज रिप्लाई गर्न के खोजेको थिइन्।

अफलाइन भयो आकाश।

यसरी बिस्तारै सम्बन्धलाई टाढा बनाउन खोजेको जस्तो लाग्दै थियो अनामिकालाई। मनमा लागेको कुरा सोध्ने, आफ्नै मन मात्रै थियो।

आकाश टाढिन खोजेको हो भन्ने कुरा थाहा भैसकेको थियो अनामिकालाई। आकाशलाई भेट्न जान मन नलागेको होइन। आकाशको घरसम्म पुगेर सबै कुरा पत्ता लगाउन नसक्ने पक्कै थिएन। तर त्यहाँसम्म पुग्ने गरी साइनोको बाटो खोलिसकेको थिएन। त्यही कुरालाई कारण बनाएर अनिश्चित पर्खाइमा बस्दा-बस्दै, एक दिनको बिहानी अनामिकालाई नमिठो खबर बोकेर आयो। खबर ल्याउने उही  म्यासेजर थियो।

म्यासेज आकाशको थियो।

‘अनामिका मिठो सम्झना,

कसरी भनौं म। जुन कुरालाई तिमीसमक्ष राख्न मुस्किल भएको छ मलाई। मलाई थाहा छ, तिमी दु:खी हुनेछेऊ। मलाई घृणा गर्नेछौ। चाहेको जस्तो हुँदैन रहेछ जिन्दगीमा, हामी त फगत निरिह पात्र मात्रै रहेछौं। जिन्दगी नामको रंगमंचको।

के सोचेर आको थिएँ। ठिक त्यसको उल्टो भयो मेरो जीवनमा। हो अनामिका म यहाँ आएर मास्टर्स गरी। ठिकै भयो। तर मबाट एउटा भूल भयो। त्यो भूलले मलाई भन्दा तिमीलाई दुखाउने छ।

म यहाँ आएको ६-७ महिनापछि मेरो जिन्दगीमा एउटी साथी आइन्। एउटै क्लासको सहपाठी। उनी मेरो मामाको चिनजानकै हुन्। राम्रो साथीको नाताले नजिकिँदै थियौं। त्यो नाता कतिखेर प्रेममा परिणत भयो थाहै पाइनँ। हामी दुईको सम्बन्धबारे उनका परिवार जानकार छन्। कसरी-कसरी भूलबस हुन पुगेको फिजिकल रिलेसनको नतिजा उनको गर्भमा पलाउँदै गरेको कुराले मलाई बन्धनमा पारेको छ। यदि मैले उनलाई स्वीकार नगरे थाहा छैन ममाथि के-के हुन्छ।

म विवस छु, अनामिका! त्यही भएर तिमीबाट टाढा हुँदै गएको। सक्छौ भने मलाई माफ गरिदेऊ!

म्यासेज पढेर अनामिका छाँगाबाट खसेजस्तै भइन्। उनलाई चिच्याएर रूँन मन नलागेको कहाँ हो र तर उनले त्यसो गरिनन्। गर्नु उचित पनि थिएन। त्यो भूमिगत अज्ञात प्रेमको बारेमा परिवारमा कसैलाई थाहा थिएन। आफूले आफैंलाई धोका दिएकोमा पछुताउनु सिवाय अरू विकल्प छँदै थिएन भन्दा हुन्छ।

जसलाई उनले पर्खेर बसिन् के थाहा उही घात बनेर आउँछ भनेर। मन, मुटु, मस्तिष्क सबै घाइते छ उनको। बेला-बेला मृत्युलाई सम्झिने भएकी छन् समय अगावै। हिजोको स्वर्णिम अतीत, वियोग र वेदनाले अंगालेको वर्तमानमा परिणत भएको छ। थाहा छैन भविष्य कस्तो होला ? के यस्तै हुन्छ र प्रेम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *