समाचारसूचना-प्रविधि

२ लाख १५ हजारको मतदाता नामावली ‘कट’, नयाँ दर्ता खुला

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावली सूचीबाट २ लाख १५ हजार ४ सय ३४ मतदाताको नाम हटाएको छ । आयोगले मतदाता नामावली शुद्धीकरणअन्तर्गत २ लाख १५ हजार ४ सय ३४ जनाको नाम मतदाता नामावली सूचीबाट हटाएको हो ।

त्यस्तै, आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि स्थगित नयाँ नामावली दर्ता र अद्यावधिक कार्यसमेत सुचारु गरेको छ । आयोगले गत २ माघबाटै नामावली दर्ता र नामावली अद्यावधिक गर्न सुरु गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावलीमा दोहोरो नामावली रहेका र मृत्यु भइसकेका मतदाताको नामावली मतदाता नामावलीबाट हटाएको जानकारी दिए ।

‘विगतका दिनमा कतिपयको नाम नामावली सूचीमा दोहोरिएको गुनासो आयो, कतिले स्वर्गबाट पनि मत हाले भन्ने गुनासो गरे, त्यसपछि आयोगले मतदाता नामावली शुद्धीकरण गर्न नाम दोहोरिएका र मृत्यु भइसकेकाको नाम सूचीबाट हटाउने प्रक्रिया थालेको हो,’ आयोग प्रवक्ता पौडेलले राजधानीसँग भने ।

आयोगले स्थानीय तहसँगको समन्वय तथा राजनीतिक दलका प्रतिनिधिसहितको सहयोगमा मतदाता नामावलीमा दोहोरो नाम भएका र मृत्यु भइसकेकाको नाम मतदाता सूचीबाट हटाइएको जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार मतदाता नामावली शुद्धीकरण अभियानलाई आयोगले निरन्तररूपमा अघि बढाउने छ । आयोगले ३ मंसिर २०७९ अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएकालाई मतदानका लागि योग्य मानेको थियो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका थिए । जसमध्ये ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ अन्य मतदाता थिए ।

गत निर्वाचनमा १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी कुल १० हजार ८ सय ९२ मतदान स्थल तथा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको थियो । निर्वाचनमा १ सय ४१ अस्थायी मतदान केन्द्रमार्फत ४५ हजार अस्थायी मतदातालेसमेत मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

सो निर्वाचनमा आयोगमा दर्ता कायम भएका १ सय १६ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । त्यसमध्येमा पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने दल ४७ वटा थिए भने प्रत्यक्षतर्फ ६१ दलले निर्वाचनमा सहभागिता जनाएका थिए । तर, निर्वाचनमार्फत संसदमा १२ वटा राजनीतिक दलको मात्रै प्रतिनिधित्व भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भए र सबै परिणाम आएपछि गत २ माघबाट नै मतदाता नामावलीमा नाम दर्ता खुला गरिसकेको छ । आयोगले सोही मितिबाट नामावली संकलन र अद्यावधिक कार्य सुचारु भइसकेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *