अर्थसमाचार

सुपारीको जस्तै तस्करीका लागि पोस्तादानाको आयात खुलाउने गृहकार्य

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

लागूऔषधका रुपमा समेत प्रयोग हुने पोस्तादानाबारे आपूर्ति मन्त्रालय र विभागका अधिकारीले अध्ययनको माग गरिरहँदा व्यापारीको प्रभावमा आयात खुला गर्न निरन्तर दबाब दिँदै उच्च राजनीतिक नेतृत्व

काठमाडौँ — आमनिर्वाचन सकिएसँगै दलहरू नयाँ सरकार गठनको तयारीमा छन् । तर, शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकार भने विवादास्पद काममा अग्रसर भइरहेको छ । जसको एउटा उदाहरण हो, पोस्तादाना आयात खुलाउन गृहकार्य । सुपारीजस्तै तस्करी हुने पोस्तादानाको आयात खुलाउन सरकार अग्रसर भएको हो ।

प्रधानमन्त्री देउवाको निर्देशनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पोस्तादाना आयात खुलाउने गृहकार्य थालेका मन्त्रालय स्रोत बताउँछ । त्यसका लागि विगतमा पोस्तादाना आयात र बन्देजसम्बन्धी भएका निर्णयहरू मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमक्ष माग गरेको छ । विभागले सुपारी, केराउ, मरीचको आयातबारे निर्णय गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘कार्यविधि बनाएर मात्रै खुला गर्नू’ भनेको थियो । तर, अख्तियारको निर्देशन अवज्ञा गर्दै सरकारले कार्यविधि नबनाई सुपारी आयात खुला गरिसकेको छ । अहिले पोस्तादानाको पनि आयात खुलाउने तयारीमा सरकार जुटेको हो ।

‘पोस्तादाना आयात खुलाउन प्रधानमन्त्री कार्यालय र आपूर्तिमन्त्रीबाटै दबाब छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘विदेशी विनिमय सञ्चितिको चाप परिरहेको अवस्थामा पोस्तादाना आयात खुला गर्नु अनैतिक हुन्छ । जसको प्रयोग नेपालमा खासै हुँदैन । आवश्यक नै भए पनि माग र आपूर्तिको अध्ययनपछि मात्रै आयात गर्नुपर्ने हो । तर, केही व्यापारीको दबाबमा आयात खुलाउने निश्चितजस्तै अवस्था छ ।’

टर्कीबाट आयात हुने पोस्तादाना नेपालमा त्यति प्रयोग हुँदैन । यसको आयातमा नेपाल र भारतमा पनि प्रतिबन्ध छ । मुख्यतः मिठाईमा प्रयोग हुने पोस्तादाना नेपालबाट तस्करी गरी भारत पठाइन्छ । मिठाईसँगै तरकारी र रोटी तथा आलुमा छर्किने विषादीको सन्तुलन मिलाउन पनि यसको उपयोग हुन्छ । पोस्तादानाको दाना, चोप, फूल, पातको छुट्टाछुट्टै महत्त्व छ ।

नेपालले पोस्तादानाको आयात पूर्ण रूपमा खुला कहिल्यै गरेको छैन । व्यापारीहरूको प्रभावमा परेर सरकारले कोटा तोकी एक पटक आयात खुलाएको भने छ । त्यसबाट पन्छिन अहिले आपूर्ति मन्त्रालय र विभागका अधिकारीहरू अध्ययनबिनै आयात खुला गर्न नहुने अडानमा छन् । तर, उच्च राजनीतिक नेतृत्वको दबाब निरन्तर रहेको मन्त्रालयका अधिकारीहरू स्विकार्छन् । ‘नेपालमा खासै प्रयोग हुँदैन । भारतमा ठूला भोजभतेरमा मसलाका रूपमा प्रयोग गरिन्छ । माग उच्च भए पनि भारतले आयातमा प्रतिबन्ध लगाएको छ,’ ती अधिकारीले भने, ‘सुपारीसरह आयात गरेर भारत तस्करी गर्ने चलखेल भइरहेको छ ।’

पोस्तादानाको आयात यसअघि तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टले खुलाएका थिए । पोस्तादाना आयात खुला गर्ने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानु पर्दैन । मन्त्रालयलाई कोटा तोकेर आयात खुला गर्न सक्ने अधिकार छ । मन्त्रालयबाट निर्णय भएपछि कार्यान्वयन गर्ने निकाय वाणिज्य विभाग हो । ‘२०७६ असार २ मा राजपत्रमा प्रकाशित सूचित आदेशअनुसार पोस्तादाना खुलाउने निर्णय मन्त्री स्वयंले गर्न सक्छ । अहिले त फलानो व्यापारी भनेर सूची नै आउने चर्चा पनि छ,’ मन्त्रालय स्रोतले भन्यो । सोही सूचित आदेशअनुसार आर्थिक चलखेल गरेरै आव ०७७/७८ मा तत्कालीन आपूर्तिमन्त्री भट्टले एक पटकका लागि २ हजार टन पोस्तादाना आयातको अनुमति दिएका थिए । तर, यसपटक भने त्यस्तो अनुमति नदिइएको दाबी गर्छन्, आपूर्ति सचिव तोयम राया । पोस्तादाना आयात खुला गर्नेबारेमा आफूलाई कुनै जानकारी नभएको पनि उनले बताए । ‘मन्त्रालयबाट आयात खुला गर्ने निर्णय भएको छैन । त्यस्तो कुनै पनि प्रस्तावमा मैले हस्ताक्षर गरेको छैन,’ उनले भने ।

विभागका महानिर्देशक महेश भट्टराईले पनि आयात खुला गर्न तयारी नभएको बताए । ‘अध्ययन गरिएको होला तर खोल्नका लागि तयारी छैन । छलफलका क्रममा विषयवस्तु उठे पनि निर्णय भए–नभएको विषयले महत्त्व राख्छ । यस विषयमा विभागसँग राय माग भएको छैन, हामीलाई जानकारी पनि छैन,’ उनले भने ।

तस्करीका लागि सुपारी, केराउ, मरीच, छोकडा र पोस्तादानालगायतको आयात खुला गर्ने विषयमा पटक–पटक चलखेल हुँदै आएको छ । सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ (१) बमोजिम ति वस्तुको पैठारीमा बन्देज लगाएको थियो । कोभिड–१९ महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बन्देज लगाएका थिए ।

अर्थतन्त्र चलायमान हुन थालेपछि २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाइएको थियो । पछिल्लो समय व्यापारीलाई मागेअनुसार कोटा दिन ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ लाई परिमार्जन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमार्जन गरेको कार्यविधिमा उद्योगबाट प्राप्त स्वीकृत स्किम र स्वीकृत परिमाण सीमाभित्र रही वाणिज्य विभागले इजाजत दिने उल्लेख छ । तर अहिले सुपारीमा तोकिएको कोटा नै हटाउन पनि गृहकार्य सुरु भइरहेको हो ।

‘विदेशी मुद्रा सञ्चिति घटेपछि एकातर्फ १० वस्तुको आयातमा बन्देज लाग्यो । तर, तस्करी हुने सुपारीको हकमा निर्बाध रूपमा स्वीकृति दिइयो । अहिले फेरि पोस्तादानामा आयात खुलाउन सरकार जुटेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यसले सरकार कमाउधन्दामा लागेको प्रस्ट हुन्छ । आयात हुने पोस्तादाना नेपालमा प्रयोग नभई तस्करी हुने हो । यसले विदेशी मुद्रा बाहिरिनेबाहेक केही फाइदा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *