खेलकुद

‘आरिफ र हासिमलाई प्रतिम्याच ६ लाखका दरले फिक्सिङ प्रस्ताव गरेको हुँ’

Advertisements
MAHABAI RURAL MUNICIPALITY

‘आरिफ शेख र हासिम अन्सारीबाहेक अन्य कोही कसैलाई खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले प्रस्ताव गरेको छैन ।’

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – विश्‍व कीर्तिमानी नेपाली क्रिकेटर महबुब आलमले पुसमा सम्पन्न नेपाल टी-२० मा मोहम्मद आरिफ शेख र मोहम्मम हासिम अन्सारीलाई फिक्सिङका लागि प्रस्ताव गरेको स्वीकारेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) सँगको बयानमा महबुबले आफूलाई छिमेकी भाइ रवि माझीले फिक्सिङका लागि आरिफ र हासिमलाई प्रस्ताव गर्न भनेको बताएका हुन् ।

रवि माझीको प्रस्तावअनुसार महबुबले आरिफ र हासिमलाई ब्याटिङमा ५ रनभन्दा कममा आउट भएमा वा बलिङका क्रममा विपक्षी ब्याटरलाई १० भन्दा बढी रन बनाउन दिएमा ६ लाख रुपैयाँका दरले दिने ‘अफर’ सुनाएका थिए । उक्त प्रस्तावबारे आरिफले तत्काल कुनै निर्णय नदिएको पनि उनले बताएका छन् ।

प्रतिम्याच ६ लाखका दरले ३६ लाख रुपैयाँ प्रतिखेलाडीलाई प्रस्ताव गरिएको पनि महबुबले स्वीकार गरेका छन् । उक्त प्रस्ताव आरिफलाई मेसेन्जरमा पठाएको पनि उनले बताएका छन् । आरिफ पोखरा एभेन्जर्स र हासिम फार वेस्ट युनाइटेडका खेलाडी हुन् । खेलाडीलाई फिक्सिङमा मनाएबापत आफूलाई पनि प्रतिम्याच २ लाख रुपैयाँ दिने भनिएको महबुबले बताएका छन् । दुवै खेलाडीलाई कुन टिमविरुद्ध फिक्सिङ गर्ने भन्ने कुरा भने रवि माझीले आफूलाई नबताएको महबुबले बयानमा भनेका छन् ।

महबुबले बयानमा भनेका छन्, ‘कुनै खेलमा ब्याटिङ गर्दा खेलाडीले ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख रवि माझीले उपलब्ध गराउने प्रस्ताव मैले महमद हासिम अंसारीलाई राख्दा ने.रु. चार लाख दिने भनी प्रस्ताव राखेको थिएँ । रवि माझीले ने.रु. छ लाख मध्येबाट मलाई ने.रु. दुई लाख दिने प्रस्ताव गरेको कारण मैले महमद हासिम अंसारीलाई ने.रु. चार लाख दिने भनी प्रस्ताव गरेको थिएँ । उल्लेखित प्रस्ताव खेलाडीले स्वीकार गरे मात्र मलाई ने.रु. दुई लाख दिने रवि माझीले बताएका थिए।’

हासिमको मोबाइलमा रेकर्ड भएको अडियो आफू र हासिमबीचको भएको पनि उनले बताएका छन् । उक्त संवाद हासिमले नै रेकर्ड गरेको हुनसक्ने महबुबको भनाइ छ । रवि माझीको प्रस्तावअनुसार आरिफ र हासिमले स्वीकार नगरेका कारण रकम भुक्तानी नभएको महबुबको भनाइ छ । उनले बयानका क्रममा भनेका छन् । ‘रवि माझीले मलाई भनेबमोजिम मैले उक्त प्रस्ताव मोहम्मद हासिम अन्सारीलाई राखिदिएको थिएँ। सो प्रस्तावको जवाफ एकछिनमा दिन्छु भनी मोहम्मद हासिम अन्सारीले भनेका थिए । निजहरुले तत्काल उक्त प्रस्वावलाई स्वीकार नगरेको कारण उक्त रकम भुक्तान भएको छैन । आरिफ शेख र हासिम अन्सारीबाहेक अन्य कोही कसैलाई खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले प्रस्ताव गरेको छैन ।’

नेपाल टी–२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । तीमध्ये तीन जना खेलाडी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगमा खेलाडीहरू मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ ।

महबुबले सन् २००० देखि २०१७ सम्म राष्ट्रिय टोलीबाट खेल्ने क्रममा एकदिवसीयमा सबै १० विकेट लिने दुर्लभ कीर्तिमान बनाएका थिए । २००८ मा जर्सीमा मोजाम्बिकविरुद्धको खेलमा उनले पाएको त्यो सफलता तीव्र गतिका बलरको हकमा विश्व क्रिकेटमै पहिलो हो । महबुब ५० ओभरको खेलमा नेपालबाट १ सय विकेट लिने पहिलो खेलाडीसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *