फ्रान्ससँग मोरक्कोको अर्थपूर्ण प्रतिस्पर्धा

काठमाडौँ — कतारमा जारी विश्वकप २०२२ को सेमिफाइनल खेलमा बुधबार मोरक्को र फ्रान्स भिड्दैछन् । यस पटकको विश्वकपमा एक गोल पनि नखाइ सेमिफाइनलसम्म आउँदै इतिहास बनाएको मोरक्कोका लागि यो खेल निकै अर्थपूर्ण मानिएको छ ।

किन पनि अर्थपूर्ण छ भने मोरक्को आफ्नो पूर्वउपनिवेशकर्ता फ्रान्ससँग ऐतिहासिक खेल खेल्दैछ । र, उनीहरूबीच यही खेल पहिलो विश्वकप प्रतिस्पर्धा पनि हो । उतारचढावको सम्बन्ध झेल्दै आएका यी दुई देशलाई विश्वकपले आज एउटै मैदानमा ओरालिदिएको छ ।

भूमध्य सागरले अलग बनाएका यी देशबीच सय वर्षभन्दा पुरानो र जटिल सम्बन्धको तिक्तता पनि कायमै छ । कहिले मित्रता र कहिले तिक्तताबीच फ्रान्स र मोरक्कोले तय गरेको सम्बन्धको छाया बुधबार मैदानमा देखिनसक्छ । फ्रान्सका सरकारी निकायहरूका अनुसार हाल फ्रान्समा ७ लाख ८० हजारभन्दा धेरै मोरक्को मूलका मानिसहरू बसोबास गर्छन् । तर हालै उत्पन्न भिसा विवादका कारण फ्रान्समा रहेका मोरक्को मूलका नागरिकहरूले आफन्त भेट्न मोरक्को जान पनि पाएनन् ।

मोरक्कोमा फ्रेन्च उपनिवेश

सन् १९१२ मा फ्रान्सले मोरक्कोका सुल्तान अब्दुज हफिजसँग एक सन्धि गरेका थिए । जसअनुसार मोरक्कोका सुल्तानलाई आन्तरिक विरोधबाट जोगाउने बहानामा मोरक्कोका केही भागहरू कब्जा गर्ने साथै सुल्तान र उनको सरकारलाई नियन्त्रण गर्ने अधिकार फ्रान्सलाई थियो । पहिलो विश्वयुद्धको क्रममा फ्रान्सले आफ्नो औपनिवेशिक सेनामा करिब ४० हजार मोरक्कन सैनिकहरू भर्ना गरायो । साथै उक्त सन्धि अनुरुप फ्रान्सले मोरक्कोको सेना, विदेश मामिला र न्याय प्रणाली समेत नियन्त्रणमा लिएको थियो ।

तर विस्तारै फ्रान्सको उपनिवेशवादविरुद्ध असन्तुष्टि बढ्दै गयो । दोस्रो विश्वयुद्धको क्रममा यो असन्तुष्टि थप विस्तार भयो । त्यसबेला धेरै पूर्व युरोपेली उपनिवेशहरूले स्वतन्त्रता पाए । १९४४ मा भने नवगठित इस्तिकलाल पार्टीले मोरक्कोको स्वतन्त्रताको घोषणा गरिदियो ।

१९५२ मा भने मोरक्कोका उपनिवेशविरोधीहरूमाथि फ्रान्सले हिंसात्मक रुपमा दमन गर्दै सुल्तान मोहम्मद पाँचौंलाई मेडागास्करमा निर्वासित गरिदियो । साथै मोरक्कोका कम्युनिस्टहरू र स्वतन्त्रता घोषणा गर्ने इस्तिकलाल पार्टीलाई फ्रान्सले गैरकानुनी ठहर गर्‍यो । तर यस्तो कदमले उपनिवेशविरोधी आवाजलाई झन् बलियो बनायो । पछि सुल्तानलाई मोरक्को फर्किने अनुमति दिन फ्रान्स बाध्य भयो। अन्तत: १९५५ को नोभेम्बरमा सुल्तानले स्वतन्त्रता घोषणा गरे । यसरी मोरक्कोमा फ्रान्सको शासन १९५६ मा औपचारिक रुपमा समाप्त भयो ।

त्यसपछि फ्रेन्च उपनिवेशको असरबाट मुक्त गर्न मोरक्कोका विदेश तथा आर्थिक लगायत थुप्रै नीतिहरू लागू गरियो । १९७३ मा राजा हसन द्धितीयले निजी क्षेत्रमा आर्थिक सुधारका थुप्रै नीति लागू गरे । त्यससँगै ५० प्रतिशतभन्दा बढी विदेशी स्वामित्वका उद्योगहरू मोरक्कोको स्वामित्वमा ल्याए । र ती विदेशी स्वामित्वमध्ये अधिकांशमा फ्रेन्च स्वामित्व नै थियो ।

१९८० पछि भने राजा हसनले ‘अरबाइजेसन नीति’ लागू गरे । जुन नीतिको मूल मर्म थियो मोरक्कोमा फ्रेन्च भासाबाट अरबी भासा ग्रहण गर्नु । तर त्यसको ३० वर्षपछि विद्यालय तहका केही विषयका लागि भासा सम्बन्धी उक्त नीति उल्ट्याइयो । क्रमश: फ्रान्सले पनि मोरक्कोसँग मित्रताको सम्बन्ध बढायो । व्यापार, विदेशी लगानीका क्षेत्रमा फ्रान्स पनि साझेदार मुलुक बन्यो ।

यसबीचमा थुप्रै कूटनीतिक बैठक भए । यसका लागि तत्कालीन राष्ट्रपति निकोलस सार्कोजीले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसअघि यी दुई देशका टोली फ्रान्समा बराबरी २ गोलसहित मैत्रीपूर्ण फुटबल खेलेका छन् ।

यद्यपि मोरक्कोले आफ्ना एक सुरक्षा उच्च अधिकारीलाई पेरिसस्थित अधिकारीहरूले सोधपुछको प्रयास गरेपछि २०१४ मा फ्रान्ससँग न्यायिक सहयोग खारेज गरिदियो ।

निलम्बन गर्‍यो जब पेरिसका अधिकारीहरूले अब्देलतिफ हम्माउचीलाई सोधपुछ गर्ने प्रयास गरे। त्यसको असर एक वर्षसम्मै रह्यो । पछि पुन: सम्बन्ध कायम भयो ।

२०१८ मा राजा मोहम्मद छैटौं र फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रों दुई देशबीच सुरु गरिएको टांगियर र मोरक्कोको राजधानी रबात जोड्ने रेलमार्गमा संयुक्त यात्रा गर्दै रेलको उद्घाटन गरे ।

यस वर्षको सुरुमा म्याक्रोंले पश्चिमी सहाराको विषयमा मोरक्कोको योजनालाई समर्थन गरे र मोरक्कोलाई साथ दिए ।

तर गत वर्ष सेप्टेम्बर २०२१ मा फ्रान्सले मोरक्कन र अल्जेरियन नागरिकहरूका लागि जारी गर्ने भिसामा ५० प्रतिशत कटौतीसँगै दुई देशबीच सम्बन्धमा तिक्तता आयो । फ्रेन्च सरकारले भने उत्तर अफ्रिकी देशहरूले फ्रेन्च अधिकारीहरूबाट पठाइएका शरणार्थीहरूलाई शरण दिन अस्वीकार गरेपछि त्यसको जवाफ दिएको भन्दै त्यस्तो नीति ल्याएको प्रतिक्रिया दिएको थियो ।

मोरक्कोले चाहिँ यसलाई अन्याय भएको भन्दै विरोध जनायो । तर ती शरणार्थीहरू अनिवार्य कोरोना परीक्षणका लागि तयार नरहेकाले प्रवेशमा रोक्नु परेको जनाएको थियो । र त्यो फ्रान्सकै समस्या रहेको उसको भनाइ थियो ।

तर के स्पष्ट छ भने दुवै देशले द्विपक्षीय सम्बन्धलाई स्वीकार गरेका छन् । यस्तै उतारचढावपूर्ण सम्बन्ध झेल्दै आएका यी दुई देशका खेलाडीहरू बुधबार कतारमा आमनेसामने हुँदै छन् । पछिल्लो समय दुई देशबिच देखिएको तिक्ततापूर्ण सम्बन्ध कतारको मैदानमा पनि देखिनसक्छ ।

यद्यपि दुवै देशका लागि यो विश्वकप उत्तिकै ऐतिहासिक छ । यस विश्वकपमा फ्रान्स चौथो पटकको विजेता बन्न चाहन्छ भने मोरक्को विश्वकप विजेता पहिलो अफ्रिकी मुलुक बन्न चाहन्छ । त्यसो त सेमिफाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुकको इतिहास मोरक्कोले रचिसकेको छ ।

जवकि फ्रान्सका लागि यो सातौं विश्वकप सेमिफाइनल हो । रोचक पक्ष त के छ भने मोरक्कोले यस विश्वकपमा एक आत्मघाती गोल बाहेक अहिलेसम्म एक गोल पनि खानु परेको छैन । फ्रान्सको भने प्रदर्शन अब्बल देखिँदै आएको छ । मोरक्कोले यदि यसपटकको सेमिफाइनल जित्यो भने उसले सय वर्ष पुरानो इतिहास उल्ट्याएको जस्तै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *