खेलकुद

अर्जुनको उत्कृष्ट ब्याटिङसँगै नेपाल विशाल योगफलतर्फ अघि बढ्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – युवा ओपनर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङसँगै नेपाल आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ । मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २९ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको छ।

नेपालका ओपनर अर्जुन कुमाल ८५ बलमा ८ चौकासहित ७२ रनमा अविजित छन् । यो अर्जुनको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो । घरेलु क्रिकेटमा अर्जुनले गण्डकी प्रदेशबाट खेल्दै निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । अर्जुनले गतवर्ष यू१९ एसिया कपमा बंगलादेशविरुद्ध डेब्यू गरेका थिए । अर्जुनले २३ औं ओभरको तेस्रो बलमा हेनरी थोमसलाई चौका हान्दै ६८ बलमा अर्धशतक पूरा गरेका थिए ।

कप्तान देव खनाल ६१ बलमा ३ चौकासहित ४३ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि अर्जुन र देवले १ सय २ रनको शतकीय साझेदारी गरि सकेका छन् । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । दीपकलाई अर्श साहिलले बोल्ड आउट गरेका थिए ।

सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी भने २ रनमा रन आउट हुन पुगेका थिए । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र दीपेश कँडेललाई आज नेपालले मौका दिएको छ । आकाश तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । दीपेश बायाँ हाते स्पिन अलराउन्डर हुन् । नेपालले पहिलो खेलबाट दुर्गेश गुप्ता र मिलन बोहरालाई बेन्चमा राखेको छ ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।

कुवेत पहिलो जितको सोचमा हुनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *