खेलकुद

विश्वकपमा चम्केका ६ युवा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शनिबार, पुस २, २०७९

काठमाडौं – कतार विश्वकपको अब फाइनल र तेस्रो स्थानको खेल मात्रै बाँकी छ । आइतबार राति हुने फ्रान्स र अर्जेन्टिनाबीचको खेलको विजेताले यस संस्करणको विश्वकप उपाधि उचाल्नेछ ।

मोरक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्यो । क्रोएसिया पनि अर्जेन्टिनासँग ३-० ले पराजित हुँदै सेमिफाइनलमै रोकियो ।

टिमलाई सेमिफाइनलसम्म पुर्‍याउन मोरक्कोका युवा मिडफिल्डरले यसपालि आफ्नो प्रतिभा देखाए । क्रोएसियाका २० वर्षका डिफेन्डरले आफूप्रति ध्यान केन्दि्रत गर्न सफल भए ।

कतार विश्वकपमा आफ्नो प्रभाव छाड्न सफल ६ जना युवा :

कोडी ग्याक्पो (नेदरल्यान्ड्स)

विङ्गर कोडी ग्याक्पो आफ्नो पहिलो तीन विश्वकप खेलमा गोल गर्ने पहिलो नेदरल्यान्ड्सका खेलाडी बने । ६ फिट ४ इन्च कदका २३ वर्षीय खेलाडी ग्याक्पोले पीएसभी इन्डोभेनका लागि २४ खेलमा १३ गोल र १७ असिस्ट गरेका थिए । व्यावसायिक फुटबलमा गरेका उत्कृष्ट प्रदर्शनलाई विश्वकपको मैदानमा पनि आफ्नो प्रभाव छोड्न उनी सफल भएका छन् ।

अर्जेन्टिनासँगको क्वाटरफाइनल खेल हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले भनेका थिए, ‘कोडीमा स्टार बन्ने सबै किसिमका गुण छन् ।’

भर्जिल भान डाइकले पनि कोडीको प्रशंशा गरेका छन् । ‘उनी चन्द्रमाको जति उचाइमा पुग्न सक्छन् र उनको मागले आकाश छुन सक्छ ।’

एन्जो फर्नान्डेज (अर्जेन्टिना)

अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजले विश्वकपअघि अर्जेन्टिनाबाट कुनै पनि खेल खेलेका थिएनन् । जादुयी क्षमता भएका मेस्सीको कप्तानीमा खेलिरहेका उनले टिममा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

२१ वर्षीय खेलाडीले मेक्सिकोविरुद्धको समूह चरणको खेलमा एक उत्कृष्ट गोल गरे । पहिलो खेलमा साउदी अरेबियासँग हारे पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

क्रोएसियासँगको सेमिफाइनल जितमा उनले उत्कृष्ट ट्याकल गरे । मेस्सीसँग उनले उक्त खेलमा ६२ पास मिलाएका थिए ।

उनी पोर्चुगाली टिम बेन्फिकासँग ६ महिनाअघि ८.६ मिलियन पाउण्डमा आवद्ध भएका छन् ।

एज्जेदिन ओनाही (मोरक्को)

मोरक्कोका मिडफिल्डर एज्जेदिन ओनाहीले यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । प्रतियोगिता अघि उनी एक अज्ञात खेलाडी थिए । यो प्रतियोगिता पछि भने हत्तपत्त कसैले उनको नाम भुल्दैनन् ।

‘हे भगवान यो मान्छे कहाँबाट आयो । उनीहरुको आठ नम्बर जर्सी लगाउनेको नाम मलाई याद भएन’ भन्ने अवस्थाका ओनाहीले विश्वकपमा आफ्नो नाम रंगिन बनाएर छोडेका छन् ।

२२ वर्षीय ओनहीले सेमिफाइनलमा एक उत्कृष्ट खेल प्रदर्शन गरे । उनको मैदानमा गति एक ऐतिहासिक पल बन्यो । उनले लुइस एनरिकको स्पेनलाई अन्तिम १६ मै सीमित राख्न मद्दत गरे । उनको अलराउण्डर प्रदर्शनले स्पेनविरुद्धको खेलमा उनको चर्चा सर्वत्र भयो ।

२०१० को विश्वकप विजेताविरुद्ध उनले १४.७ किमी दुरी तय गरेका थिए । पोर्चुगलसँगको क्वाटरफाइनल खेलमा उनले तीन ड्रिबल र सात डुअल्स गरेका थिए ।

जोस्को ग्वार्डिओल (क्रोएसिया)

विश्वकपको मैदानमा मास्क लगाएर उत्रिए पनि जोस्को ग्वार्डिओलले आफ्नो अनुहार विश्वभरका फुटबल समर्थकले सम्झनु पर्ने बनाएका छन् ।

ग्वाडिओलले विश्वकप अघि क्लबको खेल खेल्दा नाक भाँचिएका कारण विश्वकपको खेलमा मास्क लगाएर मैदानमा उत्रिएका थिए ।

क्रोएसियाको मुख्य डिफेन्डरका रुपमा देखिएका २० वर्षीयको प्रदर्शन सुपर हिरोको जस्तै थियो । उनको प्रदर्शनले क्रोएसियालाई सेमिफाइनलमा यात्रा गर्न मद्दत मिल्यो ।

सेमिफाइनलमा अर्जेन्टिनासँग उनको टिमले हारे पनि उनको प्रदर्शन भने निकै सम्झन लायक रहृयो ।

उनी एक आक्रमक किसिमका डिफेन्डर थिए । बीबीसी रेडियो लाइभ फाइभमा पण्डित पेट नेविनले उनको बारेमा ‘रोल्स रोयल्स अफ अ डिफेन्डर’ को रुपमा चर्चा गरेका थिए ।

इंग्ल्यान्ड्का पूर्व स्ट्राइकर एलन शियररले भने,’क्रोएसियाले खेलेका हरेक खेलमा उनको प्रदर्शन उच्च थियो । क्रोएसियाले जसरी खेल्यो,त्यसका कारण पनि उनीमाथि ठूलो भार रहेको थियो ।’

‘उनी एक बलियो पिल्लर थिए । उनी एकदम मजबुत र बहादुर डिफेन्डर हुन्’ उनले थपे ।

जुड बेलिङ्हम (इङ्ल्यान्ड)

विश्वकपका बेला फिल फोडनले भनेका थिए, ‘मलाई लाग्छ उनी विश्वकै उत्कृष्ट मिडफिल्डर हुन सक्छन् ।’

१९ वर्षीय जुडको फुटबल शैली उनको उमेरभन्दा निकै पाको छ । उनी इंग्लिस मिडफिल्डको बलियो काँध हुन् ।

फ्रान्सविरुद्धको पेनाल्टीमा गोल गर्न चुकेपछि उनले जसरी कप्तान हृयारी केनको सामना गरे त्यो उनको परिपक्वता थियो । उनले पेनाल्टी मिस गरेपछि कप्तान हृयारी केनले उनलाई थम्थमाएर सान्त्वना दिएका थिए ।

इरानसँगको पहिलो खेलमा ६-२ को जित दर्ता गरेपछि बोरुसिया डर्टमन्डका मिडफिल्डर इंग्ल्यान्डका लागि गोल गर्ने दोस्रो युवा खेलाडी बने ।

उनको शानदार प्रदर्शनका कारण सेनेगलविरुद्ध अन्तिम १६ मा जित हात पार्‍यो । उनी १९६६ पश्चात नकआउटमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

इंग्ल्यान्डको हारले भने बेलिङहामको उडानमा रोक लाग्यो ।

गोन्सालो रामोस (पोर्चुगल)

विश्वको नजर भएको स्थानमा आफूलाई कसरी चिनाउने भन्ने कुरा खेलाडीमा भर पर्ने कुरा हो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा अन्तिम १६ को खेलमा विश्वकपमा पहिलो खेल खेल्ने मौका पाएका गोन्सालो रामोसले पहिलो खेलमा नै ह्याट्रिक गरेर विश्वको ध्यान आफूतिर खिच्न सफल भए । स्वीट्जरल्यान्डविरुद्ध उनले गरेको प्रदर्शन कुनै जादुयी क्षणभन्दा कम थिएन ।

२१ वर्षीय उनले शानदार प्रदर्शन गरे । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको तुलनामा उनले नकआउट चरणमा बढी गोल गरे ।

सन् १९६६ पछि पोर्चुगलको लागि विश्वकपको एकै खेलमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *