राजनीतिहेडलाइन

ओलीले नेपाललाई अघि सारे के गर्ने ? कांग्रेस-माओवादी सशंकित

Advertisements
MAHABAI RURAL MUNICIPALITY
प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवा नेतृत्वको शीर्ष टोलीले गर्‍यो वार्ता
राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई समर्थन गर्न औपचारिक प्रस्ताव
बीचमा माधव नेपालको नाम आए अप्ठ्यारोमा पर्ने दाहालको जवाफ
काठमाडौँ — राष्ट्रपति निर्वाचन नजिकिँदा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग औपचारिक छलफल अघि बढाएका छन् ।

आइतबार राति बालुवाटारमा भएको छलफलमा कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गर्न माओवादीसँग औपचारिक रूपमै प्रस्ताव राखेको छ । दाहालले ‘सावधानीपूर्वक’ समर्थन गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा बालुवाटार पुगेका थिए । उनीहरूबीच पुरानै गठबन्धन ब्युँताउने विषयमा प्रारम्भिक छलफल भएको नेताहरूले बताएका छन् ।

ओलीले एमालेबाटै उम्मेदवार अघि सारे प्रधानमन्त्री दाहालले पार्टीबाटै औपचारिक निर्णय गरेर कांग्रेस उम्मेदवारलाई सघाउने वचन दिएका छन् । तर, गठबन्धन जोगाउन ओली आफैंले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत आफूले पाएको दाहालले कांग्रेस नेताहरूलाई सुनाएका छन् । ‘माओवादीले माधव नेपाललाई अघि सार्दैन तर ओलीले त्यस्तो गरिदिए भने के गर्ने भन्ने चासो प्रचण्डजीको छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यस्तो अवस्थामा माओवादीले कांग्रेसलाई समर्थन गर्न नसक्ने र कांग्रेसले पनि माधवजीलाई समर्थन गर्नुपर्ने अवस्था आउला कि भन्ने एउटा शंका छ ।’

बालुवाटारमा जानुअघि देउवाले साँझ ६ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा पौडेल र सिटौलासहितको पदाधिकारी बैठक राखेका थिए, जहाँ राष्ट्रपतिका उम्मेदवार तय गर्ने विषयमा छलफल भएको थियो । यो बैठकमा पनि एकीकृत समाजवादी अध्यक्ष नेपालको प्रसंग उठेको थियो । एक नेताका अनुसार दाहालले कांग्रेस नेताहरूलाई ओलीले नेपालको नाम लिन सक्ने संकेत फोनबाटै दिएका थिए ।

माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको छ, जहाँ ओली र कांग्रेससँग भएको छलफलको विषय राख्ने जानकारी दाहालले कांग्रेसलाई दिएका छन् । ‘सोमबारकै बैठकमा औपचारिक निर्णय त नहोला तर मनोनयन गर्ने दिनसम्म माओवादीको औपचारिक निर्णय आउँछ भन्ने विश्वास प्रधानमन्त्रीजीले दिलाउनुभएको छ,’ कांग्रेसका अर्का एक नेताले भने ।

अहिलेको योजनाअनुसार राष्ट्रपति निर्वाचनबाटै सहकार्य गर्ने विषयमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताए । ‘राष्ट्रपतिमा हामीलाई सघाउनुस् भनेर प्रस्ताव राख्यौं, प्रधानमन्त्रीले सहयोग गर्न तयार छु तर पहिले पार्टी पदाधिकारीको बैठकमा कुरा राख्छु भन्नुभएको छ,’ उनले भने ।

दाहालले एमालेको उम्मेदवारलाई भने कुनै पनि हालतमा समर्थन नगर्ने विश्वास कांग्रेसका नेताहरूलाई दिलाएका छन् । माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिनासाथ एमाले सत्ताबाट बाहिरिने आकलन प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूको छ ।

ओलीले आफ्नै पार्टीबाट उम्मेदवार खडा गरेर माओवादीले कांग्रेसलाई समर्थन दिएको अवस्थामा १३ गतेपछि नै गठबन्धनबाट एमाले बाहिरिन सक्ने बुझाइ प्रधानमन्त्रीको छ । एमाले गठबन्धनबाट बाहिरिए प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तो बेला कांग्रेसले काँध थाप्ने मात्रै होइन, दाहाललाई कति वर्ष प्रधानमन्त्री दिने र कांग्रेसले कति वर्ष लिने भन्नेसम्मको सहमति गर्ने दुई दलको योजना छ । यस विषयमा माओवादीको पदाधिकारी बैठकपछि छलफल हुने भएको छ ।

कांग्रेस वरिष्ठ नेता पौडेलका अनुसार बालुवाटार बैठकमा राष्ट्रपतिका विषयमा नै बढी छलफल भएको थियो । ‘सरकारको नेतृत्वको विषयलाई लिएर प्रधानमन्त्री दाहालले कुनै सर्त राख्नुभएको छैन, हामीले पनि पुस १० को घटनालाई बिर्सेर अघि बढ्न चाहेको विश्वास दिलायौं,’ उनले भने ।

पौडेलसहितका केही नेताहरूको जोड तत्काल राष्ट्रपति उम्मेदवार तय गर्नुपर्नेमा छ, खड्का र सिटौलालगायतका नेताहरू भने ओलीको रणनीति प्रस्ट भएपछि राष्ट्रपतिका सम्बन्धमा निर्णय लिनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री दाहालले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाए अघि बढ्न सहज हुने बताएका छन् ।

राष्ट्रपति निर्वाचनमा माओवादीको मतभार निर्णायक हुने भएकाले कांग्रेसले माओवादीको संस्थागत धारणा बनेपछि मात्रै उम्मेदवार तय गर्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारका लागि स्वयं सभापति देउवाको समेत चर्चा हुने गरेको छ । आफू राष्ट्रपति नहुने बताए पनि पार्टीभित्रकै एउटा समूह र प्रधानमन्त्रीले समेत देउवालाई अघि सार्दा बढी सहज हुने धारणा राख्दै आएका छन् । तर, देउवाले आफू नभएर पौडेलको नाम लिने गरेका छन् । सिटौलाले पनि प्रधानमन्त्री दाहालसँगको सम्बन्धका आधारमा आफूलाई अघि सार्दै आएका छन् ।

कांग्रेसले माओवादीको मनोविज्ञान बुझेर मात्रै उम्मेदवार तय गर्ने आन्तरिक समझदारी गरेकाले सिटौलाले दाहाललाई आफ्नो पक्षमा उभिनका लागि आग्रह गर्दै आएका छन् । ‘प्रचण्डले कांग्रेसबाट यो उम्मेदवार हुनुपर्छ, यो हुनु हुँदैन भनेर प्रत्यक्ष भनेका छैनन् । तर, उनको भित्री चाहना देउवा भइदिए सहज हुन्थ्यो भन्नेमा देखिन्छ । देउवा आफैंले आफू अघि नसर्ने भनिसक्नुभएको छ । त्यस हिसाबले पौडेल र सिटौलामध्ये जो भए पनि निर्णय लिनुहोस् भन्ने पक्षमा प्रचण्डजी हुनुहुन्छ,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *