राजनीति

राष्ट्रपतिको निर्वाचनबारे माओवादीमा अन्योल : उम्मेदवारी नदिने, समर्थनको टुंगो छैन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ फाल्गुन २०७९ , बिहीबार

काठमाडौं। राष्ट्रपतिको उम्मेदवार सर्वसम्मत बनाउने निर्णय गरेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा अन्यौलग्रस्त देखिएको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान लिँदै आएको माओवादीले हालसम्म उम्मेदवार र समर्थनको कुनै टुंगो लगाएको छैन। यद्यपि बुधबार राति विकसित घटनाक्रमले पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेको छ।

सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। मनोनयन गर्ने समय आउन तीन दिन बाँकी रहँदा माओवादीले हालसम्म राष्ट्रपतिको निर्वाचनको विषयमा ठोस निर्णय गर्न सकेको छैन।

निर्वाचन आयोगले फागुन २५ गते तोकेको राष्ट्रपतिको निर्वाचनका लागि आउँदो १३ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन तय गरेको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुसार राष्ट्रपतिको निर्वाचनले नेपालको राजनीतिमा नयाँ आयामका संकेत देखिएको छ।

सत्ता साझेदार प्रमुख घटक नेकपा(एमाले)ले राष्ट्रपतिमा उम्मेदवार आफ्नै पूर्वसहकर्मी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अगाडि सार्ने तयारी गरेको छ।

तर, सत्ता साझेदार दलभित्रै सहमति जुट्न नसक्दा गठबन्धनको भविष्यसमेत अन्योलपूर्ण रहेको बताइन्छ। एमाले र माओवादीका राष्ट्रपतिको निर्वाचनमा आआफ्नै दाउ रहेको छ। माओवादीले कुनै हालतमा एमालेको उम्मेदवार राष्ट्रपतिमा समर्थन नगर्ने पूर्ववत अडानमा कायमै रहेको छ।

तथापि एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अगाडि सारे माओवादीले बाध्यताबश् समर्थन गर्ने एमालेको आँकलन छ।

यस्तै मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सारेको छ। केही दिन यता महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गर्दै प्रमुख दलका शीर्ष नेताहरुसँग लोसपाका नेताहरुले छलफल गरिरहेका छन्।

उता कांग्रेसलेसमेत आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेको छ। कांग्रेस माओवादीको समर्थन पाउनेमा विश्वस्त छ। कांग्रेसका शीर्ष नेताहरुले बारम्बार राष्ट्रपति आफ्नो पार्टीको उम्मेदवार बन्ने बताइरहेका छन्।

माओवादीले आफ्नै पार्टीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरुको दाबी छ। तर, माओवादीले हालसम्म यसबारेमा यथोचित निर्णय गर्न सकेको छैन। राष्ट्रपतिको निर्वाचनको विषयमा माओवादी हालसम्म अनिर्णित बनेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको बताउँछन्। उनले राष्ट्रपतिमा उम्मेदवारी नदिने प्रष्ट्याए तर समर्थनबारे अझै टुंगो नलागेको बताए।

उनले डिसी नेपालसँगको कुराकानीमा भने, ‘पार्टी अध्यक्षलाई सम्पूर्ण जिम्मा दिएका छौं। राष्ट्रपतिमा दलविशेष भन्दा सबैको सर्वसम्मत साझा उम्मेदवार बनाउन छलफल जारी छ। उम्मेदवार समर्थन गर्नेबारे अझै टुंगो लागेको छैन।’

महासचिव गुरुङले माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनको विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई दिएकाले यस विषयमा मनोनयन गर्ने दिनसम्म अध्यक्षले टुंगो लगाउने बताए।

सबै प्रमुख दलहरु राष्ट्रपति निर्वाचनको तयारी गरिरहँदा सत्तारुढ दल माओवादी भने राष्ट्रपतिको निर्वाचनबारे मौन रहेको छ। निर्णायक दिन मनोनयन गर्ने समय आउन तीन दिन बाँकी रहदा पनि माओवादी हालसम्म अनिर्णित हुँदा सत्ता साझेदार दल एमाले सशंकित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *