खेलकुद

मकवानपुर गोल्डकप: एभिनियर सेमिफाइनलमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं –  वीरगन्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौँ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

बुधवार भएको खेलमा एभिनियरलाई वीरगञ्जसँग २–० को जित निकालेको हो। कप्तान यानिक योआनाले ३९ औँ मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका हुन्।

टिम्बा टिम्बाले मिलाइदिएको पासलाई उनले गोलमा परिणत गरेका हुन्। ७४ औँ मिनेटमा साबाले अग्रता दोब्बर पारे। टिम्बा टिम्बाको स्थानमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै उनले गोल गरेका हुन्। बोयोमिको प्रहारमा रिबाउण्ड आएको बललाई उनले सहजै गोल गरेका हुन्।

पहिलो हाफमा कमजोर देखिएको वीरगञ्जले दोस्रो हाफमा निकै सुधारिएको खेल प्रस्तुत गर्दै दर्शकको मन जिते पनि गोल भने गर्न सकेन। २४ औँ मिनेटमा वीरगञ्जका कृपा चौधरीको फ्रिकिक प्रहारलाई एभिनियरका गोलरक्षक टासोह अलाइनले बचाए।

२८ औँ मिनेटमा यानिकको प्रहार वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छादारले कठिनका साथ बचाए। ५५ औँ मिनेटमा तीन डिफेण्डरलाई छलाउँदै कृपाले फितलो प्रहार गर्दा बराबरी गर्नबाट चुके। ७२ मिनेटमा कृपाकै फ्रिकिकलाई एभिनियरका गोलरक्षक अलाइनले मुस्किलले बचाए।

पहिलो खेलमा एनआरटीलाई हराउँदै उच्च मनोबल बनाएको वीरगञ्जले खेलको अन्तिमतिर केही राम्रा मुभ बनाए पनि खेलमा फर्किन सकेन। खेलको म्यान अफ द म्याच वीरगञ्जका उमेश कार्की घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। एभिनियरका प्रशिक्षक आशिक थापा मगरले अपेक्षा अनुरूपको खेल नभए पनि जित निस्केकोमा खुसी व्यक्त गरे।

‘यात्राका कारण खेलाडीहरू थाकेकोले पनि सोचे अनुसारको खेल भएन’, उनले भने, ‘हामी फिनिसिङमा चुक्यौँ। सुधार गर्दै आगामी खेल खेल्नेछौँ।’

जारी प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ। मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् यहाँका स्थानीय तहसहित विभिन्न संघसंस्थाको सहयोगमा जारी प्रतियोगिताको यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *