खेलकुद

स्कटल्याण्डले लिग टू च्याम्पियन ट्रफी नेपालमै पाउने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टूको विजेता भइसकेको टोली स्कटल्याण्डले मंगलबार च्याम्पियन ट्रफी पाउने भएको छ ।

स्कटल्याण्डले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लिग टूमा आफ्नो ३६ औं अर्थात अन्तिम खेल नेपालविरुद्ध खेल्दैछ ।

यसअघि नै लिग टूको विजेता निश्चित भएकाले नेपालसँगको खेलपछि त्रिवि मैदानमा स्कटल्याण्डलाई च्याम्पियन ट्रफी प्रदान गरिने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

त्रिवि मैदानमा नेपाल, नामिविया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृंखला चलिरहेको छ । शृंखलाको आफ्नो पहिलो खेलमा गत बुधबार नामिबियालाई पराजित गरेपछि स्कटल्याण्ड लिग टूको विजेता हुने निश्चित भएको थियो ।

स्कटल्याण्डले पाउने च्याम्पियन ट्रफी भोलि (मंगलबार) नै आईसीसी मुख्यालय दुवईबाट नेपाल ल्याइनेछ । ट्रफी लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)का प्रतिनिधि काठमाडौं आउने र उनीहरुले नै स्कटल्याण्डलाई हस्तान्तरण गर्ने क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

सोमबार नामिबियालाई पराजित गरेपछि लिग टूको ३५ खेलमा स्कटल्याण्डले ५० अंक जोडेको छ । उसले एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने पनि निश्चित भइसकेको छ । लिग टूमा शीर्ष ३ स्थानमा आउने टिमले जुलाईमा हुने ग्लोबल क्वालिफायर खेल्नेछन् । ३६ खेलबाट ४४ अंक जोडेको ओमान पनि शीर्ष तीनभित्र रहने निश्चित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *