खेलकुद

यसरी जोगिन्छ नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

लिग टूमा शीर्ष पाँचभित्र पर्न सकेन भने पनि एकदिवसीय मान्यता जोगाउने अन्तिम अवसर नेपालले पाउनेछ । त्यो भनेको विश्वकप क्वालिफायर प्लेअफ हो ।

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं –  मंगलबार त्रिवि मैदानमा नामिबियामाथिको प्रभावशाली जित आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालको चुनौतिपूर्ण यात्रामा एक सकारात्मक संकेत हो । लिग टूमा नेपालले खेल्ने बाँकी ११ मध्ये ७ खेल घरेलु मैदानमा हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को कार्यक्रमअनुसार एकदिवशीय मान्यता पाएका ७ एशोसिएट देशबीच तीन वर्ष लामो शृंखला सन् २०१९ देखि सुरु भएको हो । लिग टूमा एउटा टिमले ३६ खेल खेल्नेछन् भने कुल १४० खेल हुनेछ ।

आगामी चैत २ गते नेपाल र यूएईबीच त्रिवि मैदानमा हुने खेलबाट लिग टूको औपचारिक समापन हुनेछ । कोरोना महामारीको असरले यो शृंखलाका खेलहरु केहि समय पर धकेलिएको हो । अहिलेसम्म ओमान र अमेरिकाले मात्र शृंखलामा आफ्ना सबै ३६ खेल पूरा गरेका छन् ।

सन् २०१९ को अगष्टदेखि सुरु भएको लिग टू शृंखला नेपालले भने सन् २०२० को फेब्रुअरीमा ओमानसँगको खेलबाट सुरु गरेको हो । नेपालले त्रिवि मैदानमा लिग टू अन्तर्गतको सातौं त्रिकोणात्मक शृंखला खेलिरहेको छ । यसअघि खेलेका ६ मध्ये पहिलो शृंखलामात्र घरेलु मैदानमा खेलेको थियो ।

लिग टूमा स्कटल्याण्ड र ओमान शीर्ष तीनभित्र छनोट भइसकेका छन् । यी दुई टिमले जुलाइमा एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाएका छन् । भारतमा सन् २०२३ को अक्टोबर–नोभेम्बरमा एकदिवशीय विश्वकप आयोजना हुँदैछ । बुधबार त्रिवि मैदानमा नामिबियामाथि १० विकेटको जितसहित स्कटल्याण्ड शृंखलामा आफूले खेल्न बाँकी तीन खेल अगावै च्याम्पियन बन्ने निश्चित भएको छ ।

स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक भएको छ भने सबै ३६ खेल खेलिसकेको ओमानको ४४ अंक छ । तेस्रो स्थानमा रहेको नामिबियाको ३२ खेलबाट ३७ अंक छ । चौथो स्थानमा रहेको अमेरिकाले सबै खेल खेल्दा ३५ अंक जोडेको छ ।

२६ खेलबाट २७ अंक जोडेको यूएई शीर्ष तीनको दौडमा रहँदा २५ खेलबाट २० अंक जोडेको नेपाल शीर्ष पाँचभित्र पर्ने लक्ष्यमा छ ।

लिग टूमा नामिबियालाई पहिलोपल्ट पराजित गरेपछि नेपाल टिमले सकारात्मक संकेत देखाएको छ । घरेलु मैदानमा खेलिने सबै ८ खेलमा जित हासिल गर्ने योजनामा पहिलो सफलताबाट उत्साह मिल्ने कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

‘पहिलो खेलमै एउटा मोमेन्टम बनेको छ । अब यसलाई कायम राख्दै खेल्नेछौं । यो जितले हामीलाई आत्मविश्वास दिलाएको छ । अन्य खेलहरु पनि सकारात्मक नतिजाका लागि खेल्नेछौं,’ नामिबियाको खेल जितेपछि रोहितले भनेका थिए ।

यस्तो छ एकदिवसीय विश्वकप पुग्ने बाटो

नेपालले सन् २०१८ को मार्चमा भएको एकदिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । चार वर्षको समयावधिका लागि पाएको नेपालको एकदिवशीय मान्यता आगामी जुलाइसम्मका लागि मात्र हो ।

आईसीसीले २० देशलाई एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता दिएको छ । १२ पूर्ण सदस्य राष्ट्रले स्थायी रुपमा एकदिवशीय मान्यता पाउँछन् । सन् २०१९ मा चारवटा कोटा थपेर ८ एशोसिएट टिमलाई अल्पकालीन मान्यता दिने व्यवस्था गरिएको हो ।

एकदिवशीय क्रिकेटमा सन् २०१९ को विश्वकप सकिएपछि २०२३ को विश्वकप छनोटसम्मको चक्रका लागि तीन श्रेणीको लिग सन्चालित छ । पूर्ण सदस्य राष्ट्र १२ र सन् २०१५–१७ सम्म चलेको आईसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसिपको विजेतास्वरुप नेदरल्याण्ड्सलाईसमेत समावेश गरेर १३ टिम सहभागी शीर्ष श्रेणीको सुपर लिग चलिरहेको छ ।

आगामी मे महिनासम्म सन्चालन हुने सुपर लिगमा १३ मध्ये शीर्ष ८ टिमले सन् २०२३ को अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवशीय विश्वकपमा सोझै छनोट हुनेछन् । अहिलेसम्मको नतिजामा न्युजिल्याण्ड, भारत, इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानले विश्वकपमा स्थान बनाइसकेका छन् । सिधै विश्वकप खेल्ने आठौं टिमको टुंगो लाग्न बाँकी छ । यो लिगमा पुछारमा रहेका पाँच टिमले जुलाईमा हुने विश्वकप ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछन् ।

सुपर लिगमा अन्तिम अर्थात १३औं हुने टिम दोस्रो श्रेणीको लिग टू मा घटुवा हुनेछ । सुपर लिग प्रतियोगिता बाँकी रहे पनि नेदरल्याण्ड्स पुछारमा रहँदै लिग टूमा घटुवा हुने निश्चित भइसकेको छ । यद्यपी उसको एकदिवशीय मान्यता कायम रहनेछ ।

आईसीसीको चार वर्षे चक्रअनुसार दोस्रो श्रेणीको लिग टूमा एकदिवशीय मान्यता पाएका नेपालसहित सात टिम छन् । सन् २०१९ को अगष्टदेखि सुरु भएको यो लिग अर्को महिना सम्पन्न हुनेछ । यो लिगबाट शीर्ष तीन टिमले विश्वकप ग्लोवल क्वालिफायर खेल्नेछ । शीर्ष पाँचस्थानमा रहने टिमको एकदिवशीय मान्यता कायम रहनेछ भने अन्तिम दुई स्थानमा रहने टिमले एकदिवशीय मान्यता गुमाउनेछ ।

अन्तिममा रहने दुई टिमलाई एकदिवशीय मान्यता जोगाइराख्ने एउटा अन्तिम अवसर पनि छ । त्यो भनेको एकदिवशीय विश्वकप क्वालिफायर हो ।

आईसीसीको तेस्रो श्रेणीको एकदिवशीय प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग हो । डिभिजन दुईदेखि पाँचसम्मका १२ वटा टिमबीच सम्पन्न यो लिग दुई समूहमा विभाजन गरी खेलाइएको थियो । आआफ्नो समूहबाट क्यानडा र जर्सी विजेता भइसकेका छन् ।

लिग टूमा पुछारमा रहेका चार र च्यालेन्ज लिगका शीर्ष दुई गरी ६ टिमबीच एकदिवशीय विश्वकप क्वालिफायर प्ले अफमा प्रतिस्पर्धा हुनेछ । लिग टूमा पुछारमा रहेर एकदिवशीय मान्यता गुमाउने जोखिममा रहेका टिमहरुले यो प्रतियोगितामा शीर्ष दुई भित्र पर्न सके कम्तिमा अर्को चार वर्षका लागि अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता कायम राख्ने अवसर हुनेछ ।

क्वालिफायर प्लेअफका शीर्ष दुई, लिग टूका शीर्ष ३ र सुपर लिगका पुछारका ५ गरी १० टिमबीच एकदिवशीय विश्वकपको विश्वव्यापी छनोट प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ ।

नेपालले एकदिवसीय मान्यता जोगाउने तथा विश्वकप खेल्ने सम्भावना कति ?

लिग टूमा शीर्ष तीनभित्र रहेर एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाउने तेस्रो टिमको होडमा मुख्य गरी नामिबिया र यूएई नै छन् । नेपालको पनि झिनो सम्भावना बाँकी छ ।

शृंखलामा नामिबियाले ४, यूएईले १० र पपुवा न्यूगिनीले ८ खेल खेल्न बाँकी छ । नेपाल लिगको शीर्ष तीनमा पर्नका लागि बाँकी ११ खेल जितेर मात्र पुग्दैन । नामिबिया र यूएईको नतिजामा पनि भर पर्नुपर्छ ।

नामिबियाले शृंखलामा बाँकी चारमध्ये यूएईसँगको दुईसहित कम्तिमा तीन खेल हार्नुपर्छ । नेपालले युएईलाई बाँकी चारै खेलमा हराउनु पर्छ । गणितीय संभावना देखिए पनि नेपालको शीर्ष तीनमा पुग्न निकै नै कठिन छ ।

तर, नेपालले लिग टूको शीर्ष पाँचभित्र रहेर एकदिवशीय मान्यता जोगाउने सम्भावना भने छ । नेपाल लिग टूमा २५ खेलबाट २० अंकसहित छैटौं स्थानमा छ । २८ खेलबाट ५ अंक जोडेको पपुवा न्युगिनी लिगको अन्तिममा रहने निश्चितजस्तै छ । तर, बाँकी ११ मध्ये कम्तिमा ८ खेल जितेमा अमेरिकालाई उछिनेर नेपाल लिगको पाँचौं स्थानमा पुग्नेछ । सबै ३६ खेल खेलिसकेको अमेरिकाको ३५ अंक छ ।

लिग टूमा शीर्ष पाँचभित्र पर्न सकेन भने पनि एकदिवशीय मान्यता जोगाउने अन्तिम अवसर नेपालले पाउनेछ । त्यो भनेको विश्वकप क्वालिफायर प्लेअफ हो । मार्च २४ देखि अप्रिल ५ सम्म नामिबियामा हुने यो प्रतियोगितामा लिग टूका अन्तिम चार र च्यालेन्ज लिगका शीर्ष दुई गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । च्यालेन्ज लिगबाट क्यानडा र जर्सी यो प्रतियोगिताका लागि छनोट भइसकेका छन् । लिग टू बाट अमेरिका र पपुवा न्युगिनीले खेल्ने निश्चित भइसकेको छ । फागुन २७ देखि चैत २ गतेसम्म नेपालमै हुने लिग टूको अन्तिम शृंखलाबाट क्वालिफायर प्लेअफ खेल्ने अरु दुई टिमको टुंगो लाग्नेछ ।

यो प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले जुलाईमा हुने एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ भने एकदिवसीय मान्यता पनि पाउने छन् । यदि नेपाल लिग टूमा अहिलेकै पोजिसन रहेको अवस्थामा एकदिवसीय मान्यता जोगाउन क्वालिफायर प्ले अफको शीर्ष दुईमा पर्नुपर्छ । त्यसो हुँदा नेपालले एकदिवसीय मान्यता मात्र होइन विश्वकप ग्लोबल छनोटमा पनि स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *