राजनीतिराष्ट्रिय समाचारसमाचारहेडलाइन

कर्णाली प्रदेशलाई समृद्ध बनाउन मिलेर काम गर्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कर्णाली प्रदेशसभामा नवनिर्वाचित सांसदहरूले प्रदेशलाई समृद्ध बनाउन मिलेर काम गर्ने बताएका छन्।

 

संघीयता कार्यान्वयनपछि दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरूले कर्णालीको समग्र विकास र प्रदेशलाई बलियो बनाउन उचित ऐन, कानून र नीति निर्माणमा एकमत हुने अठोट गरेका हुन्।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशसभा भनमा आयोजित शपथ ग्रहण समारोहपछि नवनिर्वाचित सांसदहरूले यस्तो बताएका हुन्।

दैलेख–२, प्रदेशसभा १ बाट निर्वाचित सांसद घनश्याम भण्डारीले प्रदेशलाई बलियो बनाउने नीति, ऐन र कानून निर्माणमा जोड दिने बताए। पाँच वर्ष स्थानीय तहको नेतृत्व गरेका भण्डारीले स्थानीय तहलाई सहज हुने कानून निर्माण गरिने बताए।

उनी यसअघि दैलेखको दुल्लु नगरको मेयर थिए। ‘राजनीतिक रूपमा संघीयता सफल भएको छ, प्रशासन तथा वित्तीय संघीयता सफल हुन सकेको छैन, अब कर्णाली प्रदेश सभाका सबै सांसदहरू मिलेर प्रशासन र वित्तीय संघीयतालाई बलियो गरी कार्यान्वयन गर्ने नीति निर्माणमा ध्यान दिन्छौं,’ अन्नपूर्णसँग कुरा गर्दै उनले भने।

सांसद विजया बुढाले कर्णालीको समृद्धिका लागि सबै सांसदहरूको एउटै आवाज हुने बताइन्। ‘म हुम्ला जस्तो विकट जिल्लाबाट प्रतिनिधित्व गर्छु, जहाँ अझैँ राष्ट्रिय सडक सञ्जाल जोडिएको छैन,’ उनले भनिन् ‘हुम्लामा राष्ट्रिय सडक सञ्जाल पुर्‍याउन मेरो दायित्व हो, पहिलो प्राथमिकता पनि हुनेछ।’ उनले कर्णालीका महिला, दलित र विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि उचित नीति तथा कानून निर्माणमा ध्यान दिने बताइन्।

पहिलो पटक संसदीय यात्रा तय गरेकी सांसद गमता बिकले कर्णालीका दुरदराजका नागरिकको आवश्यकता र अपेक्षाअनुसार प्रदेश सभामा भूमिका निर्वाह गर्ने बताइन्।

‘कर्णालीका अधिकाँश घरपरिवारको पहुँचमा अझैँ विद्युत पुग्न सकेको छैन, कर्णालीका सबै नागरिकको पहुँचमा विद्युत् पुर्‍याउनुपर्नेछ, त्यसबाहेक सबै नागरिकको पहुँचमा शिक्षा, स्वास्थ्य, खानेपानी पुर्‍याउनुपर्नेछ,’ उनले भनिन्। पहिलो पटक सांसदको भूमिकामा आएको बताउँदै बिकले सबैको सल्लाहमा जनताको पक्षमा काम गर्ने प्रतिक्रिया दिइन्।

नेकपा एमालेको तर्फबाट जुम्ला प्रदेशसभा २ बाट निर्वाचित सांसद टेकराज पछाईले कर्णालीका जनताको जीवनस्तर बदल्नका लागि सहि कानून र नीति निर्माणमा प्रतिबद्ध रहेको बताए।

उनले कर्णालीको समृद्धिका लागि सबै सांसदहरू एकमत हुने अपेक्षा राखेको बताउँदै प्रदेशको भूमिकालाई सशक्त र बलियो बनाउने नीतिहरू निर्माणमा जोड दिने बताए।

हुम्लाको प्रदेश सभा १ बाट निर्वाचित सांसद रन सिंह परियारले जनतासँग गरेको वाचाअनुसार काम गर्ने बताए।
कर्णालीका जनताको आवश्यकता र चाहानाअनुसार प्रदेश सभामा नीति निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र कर्णालीको पर्यटक विकासका लागि काम गर्ने परियारको भनाइ  छ।

‘हामीले चुनावका बेला जनतासँग घोषणापत्रमार्फत, घरदैलोमा पुगेर थुप्रै आश्वासन दिएका छौँ, सोहीअनुसार कर्णालीका सबै प्रदेश सभाका सदस्यहरू मिलेर काम गर्छौं,’ उनले भने।

सोमबार कर्णालीमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सांसदहरूलाई ज्येष्ठ सदस्य नेकपा एमालेका विनोदकुमार शाहले सांसदहरूलाई शपथ गराएका हुन्।

नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए। ४० सदस्यीय कर्णाली प्रदेश सभामा शाहले ३९ जना सांसदलाई शपथग्रहण गराएका हुन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक/एक र एक जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन्। जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *