धर्म-संस्कृतिराष्ट्रिय समाचारसमाचारहेडलाइन

बहुउद्देश्यीय धर्मशालाको ९० प्रतिशत काम सम्पन्न   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

भोजपुर, २४ वैशाख (रासस) :

प्रदेश नं १ सरकारको रु चार करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिङ्ला बहुउद्देश्याीय धर्मशालाको काम ९० प्रतिशत बढी सम्पन्न भएको छ । बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको दिङ्लामा प्रदेश सरकारले धर्मशाला निर्माण शुरु गरेको हो ।

षडानन्दको पुन्यभूमिलाई विकास गर्ने लक्ष्यका साथ निर्माण गरिएको धर्मशाला निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । धर्मशालाको मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको करिब १४ महिनाको अवधिमा कामले तीव्रता पाएको हो । यही वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको भए पनि भुक्तानीमा ढिलाइ भएका कारण केही ढिला भएको निर्माण कम्पनी अरुण बरुणका प्रमुख प्रेम शेर्पाले जानकारी दिनुभयो ।

प्रमुख शेर्पाले भन्नुभयो, “निर्माण शुरु गरेको करिब १४ महिना भयो । हालसम्म ९० प्रतिशत काम सकिएको छ । भुक्तानीमा केही ढिलाइ भएकाले काममा केही बाधा पुगेको छ । तर पनि यो महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य छ ।”

तीन तलाको भवन ३० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । निर्माण अवधि आगामी असोजसम्म भए पनि तोकिएको अवधिभन्दा अगाडि सक्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ । धर्मशाला निर्माणले विभिन्न समयमा हुने मेला, महोत्सव तथा अन्य विविध कार्यक्रमलाई व्यवस्थापन गर्न सहजता हुने जनाएको छ ।

प्रदेश सरकारले विषेश महत्वका साथ योजना सञ्चालन गरिरहेकाले षडानन्द नगरपालिकाको विकासमा टेवा पुगेको षडानन्द नगरपालिका उपप्रमुख मेरीका राईले बताउनुभयो । उपप्रमुख राईले भन्नुभयो, “यो बालागुरु षडानन्दले जन्म लिएको पुण्यभूमि हो । यहाँ विभिन्न समयमा धेरै धार्मिक कार्यक्रममा हुने गर्दछन् । धेरैको सङख्यामा भक्तजन आउने हुनाले बस्ने संरचना नहुँदा धेरै समस्या थियो । धर्मशाला निर्माणले आगामी दिनमा हुने कार्यक्रमको व्यवस्थापनमा सहज हुनेछ भने षडानन्द नगरपालिकाको विकासमा समेत टेवा पुग्ने देखिएको छ ।”

निर्माण भइरहेको धर्मशालाको अनुगमन तथा निर्माणका क्रममा आइपर्ने समस्याका विषयमा षडानन्द नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । भवनलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन पहल गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले बताउनुभयो । धर्मशाला निर्माणको कूल लागत भ्याटबाहेक रु चार करोड ८४ लाख रहेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दिङ्ला बजारको विकासमा प्रदेश सरकारले महत्वको साथ विभिन्न योजना सञ्चालनमा ल्याएसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।

षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्णप्रसाद पौडेलले भन्नुभयो, “धर्मशाला निर्माणले यस क्षेत्रको गौरव बढेको छ । हामीले माग गरेअनुसार प्रदेश सरकारले बजेटको व्यवस्था गरेर निकै ठूलो लगानीमा यो संरचना निर्माण भइरहेको छ । अहिले हामी स्थानीयवासीमा उत्साह थपिएको छ ।”
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *