अर्थ

३ महिनामा साढे ५ अर्बले घट्यो सार्वजनिक ऋण

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौं – चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा नेपालको सार्वजनिक ऋण साढे ५ अर्ब रुपैयाँले घटेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम (असार मसान्त)सम्मको तुलनामा ५ अर्ब ४५ करोड रुपैयाँ कम हो । उक्त अवधिसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा नेपालले अघिल्लो आवको तुलनामा शून्य दशमलव २७१ प्रतिशतले ऋण घटाएको छ ।

तथ्यांक अनुसार पहिलो त्रैमाससम्म नेपालको बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रहेको छ । यो गत आवको असार मसान्तसम्मको तुलनामा २.३७७ प्रतिशत बढी हो । असार मसान्तसम्म बाह्य ऋण १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । तर, आन्तरिक ऋण भने घटेको छ । जसले समग्र सार्वजनिक ऋण घटाउन भूमिका खेलेको हो । असोज मसान्तसम्म ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । असार मसान्तसम्म आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ थियो ।

यस अनुसार आन्तरिक ऋण ३.०२२ प्रतिशतले घटेको छ । यसरी समग्रमा सार्वजनिक ऋण ०.२७१ प्रतिशत घटेको हो । त्यसो त सरकारले आन्तरिक ऋण दोस्रो चौमासिक सुरु भएपछि उठाउन थाल्छ । यसबीचमा भुक्तानी भएको आन्तरिक ऋणका कारण ऋण घटेको देखिएको हो । सोही कारण आवको सुरुमा आन्तरिक ऋण केही कम हुन्छ । यस अवधिमा २९ अर्ब ८३ करोड आन्तरिक कम हुँदा २४ अर्ब ३८ करोड बाह्य ऋण बढेको छ ।

यस्तो छ सार्वजनिक ऋण

बाह्य ऋण : १० खर्ब ५० अर्ब
आन्तरिक ऋण : ९ खर्ब ५७ अर्ब
कुल : २० खर्ब ७ अर्ब
तथ्यांक अनुसार पहिलो त्रैमासमा सरकारले २४ अर्ब ७० करोड रुपैयाँ बाह्य ऋण लिएको छ । बाह्य ऋणको भुक्तानी भने यस अवधिमा ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको छ ।

एक्सचेन्ज रेटमा भएको उतार चढावका कारण बाह्व ऋण ५ अर्ब ५२ करोड थप भएको छ । जस अनुसार पहिलो त्रैमासमा समग्रमा २४ अर्ब ३८ करोडले बाह्व ऋण बढेको देखिएको छ । असार मसान्तमा १ अमेरिकी डलर बराबर १२८.११ रुपैयाँ रहेकोमा असोज मसान्तमा १ डलर बराबर १३२.०७ रुपैयाँ पुगेको छ ।

जीडीपीको ४१.३८ प्रतिशत छ सार्वजनिक ऋण

पहिलो त्रैमाससम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४१.३८ प्रतिशत रहेको छ । यो असार मसान्तसम्मको तुलनामा केही कम हो । कार्यालयका अनुसार असार मसान्तसम्म सार्वजनिक ऋण जीडीपीको ४१.४९ प्रतिशत थियो ।

आर्थिक सर्वेक्षण अनुसार नेपालको जीडीपीको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबरको छ । यसमा बाह्य ऋणको हिस्सा २१.६४ प्रतिशत र आन्तरिक ऋणको हिस्सा १९.७३ प्रतिशत रहेको देखिन्छ ।

जीडीपीको तुलनामा सार्वजनिक ऋणको हिस्सा

बाह्य ऋण : २१.६४ प्रतिशत
आन्तरिक ऋण : १९.७३ प्रतिशत
कुल : ४१.३८ प्रतिशत
२४ अर्ब ७० करोड बाह्य ऋण कुन कुन स्रोतबाट ?

नेपालले पहिलो त्रैमासमा लिएको कुल २४ अर्ब ७० करोड बाह्य ऋणमध्ये बहुराष्ट्रिय निकायबाट ८८.७८ प्रतिशत ऋण लिएको छ । मुलुकहरुबाट ११.२१ प्रतिशत हिस्सा बराबर ऋण प्राप्त भएको तथ्यांक छ । तथ्यांक अनुसार नेपालले बहुराष्ट्रिय निकायबाट २१ अर्ब ९३ करोड रुपैयाँ ऋण लिँदा द्धिपक्षीय निकाय (मुलुक)बाट २ अर्ब ७७ करोड रुपैयाँ ऋण लिएको छ । यसबीचमा आन्तरिक ऋण लिइएको छैन ।

कुल बाह्य ऋणमध्ये नेपालले विश्व बैंक, एसियाली विकास बैंक मातहतका निकायबाट बढी ऋण लिने गरेको छ । जापान, कुवेत, साउदी, बेल्जियमसहितका मुलुकबाट बढी ऋण लिने गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *