जाडो बढेसँगै काठमाडौंमा वायु प्रदूषण पनि बढ्यो

काठमाडौँ — वायु प्रदूषणको अवस्था बिग्रँदै गएको जनाउँदै गत साता वातावरण विभागले मापदण्डभन्दा बढी धुँवा निकाल्ने सवारी साधनलाई मर्मत नगरे कारबाही गर्ने चेतावनी दियो । हिउँदमा उपत्यकालगायत देशका विभिन्न ठाउँहरुमा वायु प्रदूषण बढ्ने गर्छ ।सोमबार साँझ आईक्यू एयरको तथ्यांकअनुसार काठमाडौंको वायुको गुणस्तर सूचांक(एक्यूआई) १ सय ५५ थियो । यस्तै, धनुकटामा १३७, मध्यथिमीमा १७१ र इटहरीमा १६५ थियो । यो सामान्य अवस्थाभन्दा बढी हो । शून्यदेखि ५० सम्मको मानलाई सामान्य अवस्था लिने गरिएको छ ।

वातावरण विभागबाट पछिल्लो समयमा छड्के जाँचमा उपत्यकामा सञ्चालन भइरहको सवारी साधनहरूको धुवाँ निष्कासनको अवस्था अत्यन्त दयनीय अवस्था रहेको वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए । उनका अनुसार उत्सर्जन रोक्नका लागि सवारी परीक्षणलाई प्रभावकारी गर्न लागिएको हो ।

विभागले पुस १ गतेपछि परीक्षणमा जाँच पास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन,२०७६को दफा ४१ को उदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ । त्यस्ता सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्रै सञ्चालनमा ल्याउन विभागले अनुरोध गरिसकेको छ ।

वातावरण निरीक्षक लामिछानेका अनुसार डिजेल गाडीको हकमा ६५ स्मोक डेन्सिटी न्यूनतम मापदण्ड राखिएको छ । ‘डिजेल गाडीबाट अलिक धेरै प्रदूषण हुने भएको पहिलो चरणमा डिजेल गाडीबाटै परीक्षण थालेका छौं,’ लामिछानेले भने । उपत्यकाको हकमा अधिकांश भाडाका सवारी साधनहरुको प्रदूषण मापदण्ड फेल भएको उनले सुनाए ।

हिउँद लागेपछि ‘इन्भर्सन’ हुने हावाको बहावको औसत अवस्था ठ्याक्कै उल्टो हुन्छ । ‘सामान्य अवस्थामा तातो हावा जमिनमा र चिसो हावा माथितिर हुन्छ,’ लामिछानेले कान्तिपुरसित भने,‘ हिउँदमा यो उल्टो हुने गरेको देखिन्छ ।’ जसका कारणले उपत्यकाको वायुमण्डलमा प्रदूषणको मात्रा धेरै नै देखिएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको नेसनल एट्मस्फोरिक रिसर्च एन्ड इन्भारोन्मेन्टल रिसर्च ल्याबोरेटरी(न्यारेल)का प्रमुख एवं प्राध्यापक डा. रामप्रसाद रेग्मीका अनुसार सामान्य अवस्थामा तराईंबाट काठमाडौंमा दक्षिणकाली–वाग्मती किनार हुँदै, दक्षिण पश्चिमको धादिङबाट थानकोट तथा भीमढुंगा भन्ज्याङ हुँदै र उत्तर पश्चिमको नुवाकोटबाट मुड्खु तथा तीनपिप्ले भन्ज्याङ हुँदै उपत्यकामा हावा प्रवेश गर्छ । कचौरा आकारको काठमाडौं उपत्यकामा तराईंबाट आउने हावा केही तातो र अन्यत्रबाट आउने केही चिसो हुने गर्छ । यस्तै, साँगा हुँदै बनेपाबाट बाहिरिन्छ ।

‘चिसो हावा माथि हुने र तातो हावा तल नै हुन्छ घाम अस्थाएपछि जमिन चिसो हुँदा हावा पनि चिसो हुन्छ र प्रदूषण पनि त्यही हुन्छ ,’ डा. रेग्मीले कान्तिपुरसित भने,‘बिहानको समयमा चाहिँ चिसो हावा विस्तारै माथि सर्न थाल्छ र माथि भएको हावा तल झर्न थाल्छ । त्यही बेला प्रदूषण फिँजिएको देखिन्छ । ’ जाडोयाममा बिहान ९ बजेपछि उपत्यकाको बीच भागमा धुलाका कण भएको एउटा तह बन्ने गरेको विज्ञहरु बताउँछन् ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार हावामा पाइने साना धुलोका कण(पार्टिकुलेट म्याटर्स) पीएम २.५को दैनिक औसत मापदण्ड ४० माइक्रोगाम्र प्रतिघनमिटर हुनुपर्नेमा त्यो हुने गरेको छैन । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–साना कणहरु पीएम २.५ हुन् । यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम, धुलोका स–साना कणहरु हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कणहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारी साधन, उद्योग, कृषि, निर्माण, घाँस दाउरा बाल्दा यस्ता कणहरु निस्कन्छन् ।

अघिल्लो आर्थिक वर्षमा वातावरण विभागमातहत रहको वायु गुणस्तरीय मापदन केन्द्रहरुको तथ्यांक अनुसार रत्नर्पाक केन्द्रमा २३० दिनमध्ये ७८,पुल्चोकमा ५१मध्ये ३, धुलिखेलमा २४१ मध्ये २९ दिन,भक्तपुरमा २१४मध्ये ३७ दिन,सौराहामा १९३ दिनमध्ये ९०,भैंसेपाटीमा ३५९ दिनमध्ये १४० दिनलगायत अन्य विभिन्न केन्द्रहरुमा राष्ट्रिय मापदण्डभन्दा बढी देखिएको पाइएको थियो । वायु प्रदूषण हुने कार्य नियन्त्रण गर्न थप नीतिगत एवं प्रक्रियागत व्यवस्था मिलाउन महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ले पनि सझाव दिएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । वायु प्रदूषणका कारण क्यान्सर, फोक्सो, मुटुसम्बन्धीको रोग लाग्ने गरेको छ । सन् २०२१मा मात्रै पीएम २.५ पार्टिकल्सका कारण ५ वर्ष कम उमेर भएका ४० हजार बालबालिकाहरुको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रहेको उल्लेख छ । २०२१मा विश्व स्वास्थ्य संगठनले लाखौं मृत्यु घटाउने उद्देश्यले मापदण्ड १० बाट ५ मा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *