मनोरञ्जन

नेपाली कथा सुनाउँदै अस्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

नेपालमै बसेर फिल्म बनाइरहेका एक अस्ट्रेलियन नागरिकको नेपाल नाता

काठमाडौँ — एकदिन चटपटे खाँदै गर्दा कलनी ग्याकनको आँखा अनौठो कुराले तान्यो । चटपटे बेरिएको कागज रहेछ हस्तलिखित चिठ्ठी । एकैछिन चिठ्ठीतिर एकोहोरिए । त्यतिबेलै दिमागमा झिल्को पस्यो, ‘जसका लागि यो चिठ्ठी लेखिएको हो उसले यो चिठ्ठी पाए के गर्ला ?’

६ वर्षको नेपाल बसाइमा कलनीले यस्ता थुप्रै क्षण र भोगाइ संगाले । उनलाई थाहा थियो, यी क्षणहरु कुनै दिन फिल्ममा अटाउनेछन् । फिल्म ‘सपनाको आवाज’मा त्यही चटपटेको प्रसंग अट्यो ।

चटपटे खाँदै गर्दा एकदिन सोनमको हातमा छुटिसकेका प्रेमी विकासको चिठ्ठी पर्छ । सोनम नयाँ भविष्यको खोजीमा अष्ट्रेलिया जाने तयारीमा छिन्, डिपेन्डेन्ट भिसामा । परिवारको आर्थिक अवस्था कमजोर छ । घरको जिम्मेवारीबीच उनले आफ्नो खुसीमा सम्झौता गरेकी छन् । प्रेमी विकासको प्रेम मनमा लुकाएर डिपेन्डेन्टमा अष्ट्रेलिया लैजाने व्यक्तिसँग बाँच्ने बहाना खोज्दैछिन् । ‘टुटल राइडर’ विकासले पनि सोनमलाई कहाँ बिर्सन सकेका छन् र ! सपनामै भए पनि सोनमको नजिक पुगिरहन्छन्, उनलाई फर्काउने प्रयास गरिरहन्छन् । यस्तो अवस्थामा उक्त चिठ्ठीले उनीहरू दुईको चिसिएको सम्बन्धमा न्यानोपन थप्ला ? लघु फिल्म सपनाको आवाज (साउन्ड अफ ड्रिमिङ) यी दुई प्रेमीका प्रेमको कथामात्रै होइन सामाजिक, आर्थिक, राजनीतिक परिस्थितिले दबिएका पात्रहरुको बाध्यता, संघर्ष, त्याग, विद्रोह र प्रेमको कथा हो । २९ मिनेटमै ग्याकनले फिल्ममार्फत् नेपाली समाजको यथार्थ चित्रण गर्दै विदेशिनेहरुका सपना पछाडिका पीडा, मनोभावलाई समेटिदिएका छन् ।

छोटो अवधिमै यति गम्भीर विषयलाई गहिरिएर दृश्य भाषामा शसक्त ढंगले स्थापित गर्नु सजिलो छैन, ‘तपाईं विदेशी भएर नेपाली समाजको यस्तो कथा कसरी खोज्नुभयो ?’ खासमा उनी नेपाली युवाहरुको सामाजिक मुद्दाका कथा भन्न चाहन्थे । ‘विदेश जाने उनीहरुका जटिल सपना र त्यसका लागि गर्नुपर्ने त्यागहरु । त्यस्ता कथा जसले नेपाली समाजको वास्तविकता पनि देखाइदियोस् भन्ने थियो,’ जवाफमा ग्याकनले भने ।

लघु फिल्मको कथा ग्याकनले नै लेखेका हुन् । माया लुना खानले त्यसमा सहलेखन गरिन् । खासमा माया नेपाली । ग्याकन चाहन्थे आफूले लेखेका पात्रहरू नेपाली समाजकै देखिउन् । कथाले नेपालीहरूले भोगेको भोगाइको वास्तविकता नजिक पुर्‍याइदियोस् भन्ने सोचेरै मायाको सहयोग लिए । पटकथाकार सम्पदा मल्लको निर्माणमा तयार भएको यो फिल्म हालै काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा प्रदर्शन भयो । बुसान इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल र एलए सर्ट्स फिल्म फेस्टिभलतर्फ छनोट भइसकेको ‘सपनाको आवाज’ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवहरूमा उपस्थिति जनाइसकेको छ ।

पहिलो पटक नेपालमा फिल्म प्रदर्शन गर्दा पाएका प्रतिक्रिया भने निर्माण टिमका लागि विशेष बन्यो । ‘गत वर्ष यो फिल्म अन्तर्राष्ट्रिय प्लेटफर्महरुमा प्रदर्शन भयो । तर, नेपालमै प्रदर्शन गरेकोजस्तो विशेष कहाँ हुन्छ ? जहाँको कथा हो त्यहीँ प्रदर्शन गर्नुको अनुभव राम्रो हुँदोरहेछ । कोरियामा फिल्म देखाउँदा दर्शक सुनसान थिए । तर, नेपालमा त दर्शक हाँस्थे, कहिले शान्त बन्थे । यसरी दर्शकले फिल्म हेर्दा मनै प्रफुल्ल भयो,’ ग्याकनले किम्फमा फिल्म हेर्दाको अनुभव सुनाए ।

खासमा फिल्मको कथा ग्याकनले ४० घण्टामै लेखेका रहेछन् । जब कथा फुर्‍यो, ग्याकन लेख्न बसे । ‘त्यतिबेला सायद सिर्जनशील आत्माले काम गर्‍यो । लेख्नु सिवाय मसँग अरु विकल्प नै थिएन । लेखेको लेख्यै गरेको ४० घण्टा भएछ,’ मुसुक्क हाँस्दै सुनाए । फिल्मको स्क्रिप्ट भने पाँच महिनामा तयार भयो । छायांकनमा एक महिना लाग्यो । फिल्मको पूरा काम सक्न १ वर्ष लाग्यो । लघु फिल्मका लागि खर्चिएको यो समय धेरै नै हो । तर, लकडाउनले गर्दा सोचेको समयमा छायांकनमा जान पाएनन्, टिमले वर्कसपमा समय बिताउन पायो । वर्कसपमै कलाकारहरुले आफ्नो चरित्रका लागि संवाद लेखे । ‘मलाई उनीहरुको मुखमा आफ्नो शब्द राख्न मन थिएन । त्यसैले आफ्नो पात्रका लागि उनीहरुबाटै शब्द निकाल्न लगाएँ । वर्कसप लामो भयो । तर, त्यसले हामीहरुको सम्बन्ध बढाइदियो । सहकार्य र विश्वास बढाइदियो,’ कलनी सुनाउँछन् । फिल्ममा प्रस्तुत सबै पात्रहरु कलनीले कहीँ न कतै भेटेकै अनुभवहरुको संगालो हो । पात्रहरुको नाम पनि धेरै त वास्तविक नै राखेका छन् ।

कलनीले उठाएकै विषयलाई पछिल्लो समय व्यवसायीक फिल्मकर्मीले नउठाएका होइनन् । तर, विषयवस्तुको गहिराइमा गएर पात्रहरुको भोगाइलाई जुन मनोभावमा पस्किएको छ, त्यसका लागि ग्याकन धन्यवादका पात्र हुन् । ‘हामीले बनाएको फिल्मले पैसा कमाउँदैन भन्ने हामीलाई थाहा थियो । तर, हामी कलाको सिर्जना गर्न चाहन्थ्यौं, समयको यस्ता क्षणहरुलाई संगाल्न चाहन्थ्यौं जसमा जीवन लुकेको होस्,’ उनले भने, ‘खासमा जीवन भनेको आख्यान भन्दा माथि हुँदोरहेछ । फिल्मले त्यही जीवनको जादुलाई कैद गर्न खोज्ने हो ।’

फिल्ममा भूकम्पका दृश्य, ‘लुसिड ड्रिम’का कुरालाई पनि समेटिएको छ । भूकम्पसँग नेपालीहरूका भावनात्मक सम्बन्ध गाँसिएको छ भन्ने थाहा थियो ग्याकनलाई । त्यसैले फिल्मको कथालाई भूकम्पतिर ढल्काएनन् । ‘भूकम्पले कसरी मानव जीवनलाई हल्लाइदिएको थियो भन्ने कुरालाई भने फिल्ममा देखाउनु नै थियो । त्यसैले उपकथामा उनें,’ उनी सुनाउँछन् । फिल्ममा ‘लुसिड ड्रिम’मार्फत् विकास र सोनमले एकअर्काले भेट्न खोजिरहेका हुन्छन् । वास्तविक संसारमा एक हुन नसके पनि सपनामा उनी दुई एकअर्काको नजिक पुग्छन् । धेरै अगाडि कलनी ‘लुसिड ड्रिम’ देख्ने एक जनासँग ठोक्किएका थिए । ती व्यक्ति गाडी चलाउँदै गर्दा पनि निन्द्रमा उँघ्थे । कलनी उनलाई ब्यूँझाउन बोलिरहन्थे । पछि थाहा पाए ती व्यक्तिले ‘लुसिड ड्रिम’मै एक युवती भेटेका रहेछन् । त्यसैले रातको समय ‘लुसिड ड्रिम’मार्फत् उनलाई खोजिबस्थे । त्यही पात्रको भोगाइलाई पटकथामा उनेर ‘सपनाको आवाज’मा राखे ।

भूकम्पकै समयमा नेपाल

नेपालसँग कलनीको सम्बन्ध भूकम्पले जोडिदिएको रहेछ । सन् २०१५ मा उनी भारत घुम्न निस्केका थिए । तर, गोरखपुर आइपुग्दा यात्राको थकान बढी भयो । आरामका लागि कतै होटल पनि पाएनन् । रेल स्टेसनतिर गएर निदाउने सोचे । त्यतिबेलै एउटा गाडीमा उभिएको बालक चिच्याउँदै थियो, ‘काठमाडौं, काठमाडौं’। उनी निन्द्रा पूरा गर्ने लोभले गाडी चढे । आँखा खोल्दा, काठमाडौं । काठमाडौं आइपुग्दा महाभूकम्पपछिको दोस्रो परकम्प गयो । उनलाई लाग्यो, ‘सायद म यहाँ आउनुको केही कारण छु । त्यसअघि भूकम्पबारे केही थाहा नपाएका उनले ‘भूकम्प’ भन्ने डकुमेन्ट्री बनाए । डकुमेन्ट्रीमा भूकम्पलाई बालबालिकाको नजरबाट प्रस्तुत गरिएको थियो ।

त्यसपछि सन् २०१८ मा बसाइसराइबारे डकुमेन्ट्री ‘जर्नी टु द सेन्ट्र अफ दि हर्ट’ बनाए । नेपालीहरुको ठूलो संख्या विदेसिँदै गर्दा नेपालमा बसाइसराइ गरी आउने विदेशी पात्रहरुलाई पछ्याइएको उक्त डकुमेन्ट्रीले त्यो वर्ष अन्तर्राष्ट्रियतर्फ किम्फमा अवार्ड नै जित्यो । यसबीच उनले नेपाली फिल्महरुमा पनि काम गरे । अष्ट्रेलियाका कलनी अहिले नेपालमै बस्न रुचाउँछन् । नेपालसँग उनको गहिरो सम्बन्ध त छैन । तर उनका फिल्म र डकुमेन्ट्री नेपालबाटै सुरु भयो । ‘नेपालमा बसेर फिल्म बनाउने खासमा नसाजस्तै भइसक्यो, ‘२७ वर्षीय कलनीले हाँस्दै सुनाए, ‘विदेशमा फिल्म बनाउनु भन्दा नेपालमा बनाउँदाको अनुभव नै अर्कै हुन्छ ।

कलनी स्वतन्त्र (इन्डिपेन्डेन्ट) फिल्मकर्मी हुन् । ‘सपनाको आवाज’ बनाउरन खासै बजेट पुग्दो थिएन । दु:ख गरेर फिल्म बनाए । सपनाको आवाज छायांकनपछि त तीन महिना एक्लैले सम्पादन गरे । दिनमा अरुका लागि काम गर्दा रातमा सम्पादन गर्थे । कलाकारहरुलाई राम्रो पारिश्रमिक पनि दिन सकेनन् । ‘सपनाको आवाज’ बन्न करिब १० लाख खर्च भएको उनी सुनाउँछन् । कलाकारहरु खोज्न भने सम्पदाले सहयोग गरेकी थिइन् ।

कलनी नेपालमा स्वतन्त्र फिल्मकर्मीहरू प्रतिभाशाली रहेको बताउँछन् । ‘नेपालमा यति धेरै प्रतिभाशाली फिल्मकर्मीहरु छन् । उनीहरुको फिल्म अन्य फिल्मका झैं व्यवसायिक रुपले प्रदर्शन त हुँदैनन् । तर, विस्तारै स्वतन्त्र फिल्मकर्मी र व्यवसायिकबीचको अन्तर कम हुँदै गइरहेको देख्छु,’ उनले भने, ‘उनीहरु फर्मुला फिल्महरु बनाउँदैनन् । फरक कथा, फरक विधाका फिल्महरु बनाउँदैछन् ।’

कलनी अष्ट्रेलियामा जन्मे, हुर्के । हजुरबुवाले खिचेको छिमेकीको भिडियो हेरिसकेपछि फिल्ममेकिङले ८ वर्षको उमेरमै उनलाई तान्यो । हजुरबुवाले दिएको क्यामेरा त्यसयता उनको हातबाट छुटेको छैन । नेपाल कथाहरुमा निकै धनी रहेको बताउँछन् उनी । त्यसैले होला उनी नेपाली माटोको कथा सुनाउँदैछन् । व्यवसायिक फिल्मकर्मीले देख्न नसकेका कथाहरू उत्खनन् गर्दैछन् । बसाइसराइका मुद्दामा नेपालमा थुप्रै कथाहरु देख्छन् उनी । उनी अहिले काठमाडौंमै आधारित अर्को फिचर फिल्ममा काम गर्दैछन् । ‘विदेशमा भएका नेपालीहरुको एकदमै शक्तिशाली कथाहरु छन् । आफ्नो जीवन नै विदेशमा बिताइरहेका कथाहरु कति छन् कति,’ उनले भने, ‘तर नेपाली फिल्महरुले विदेशमा भएका नेपालीहरु विलासी जीवनमा रमाइरहेको मात्र देखाउँछ । चित्त पनि दुख्छ त्यस्तो देख्दा । वास्तविकता दुखद होला, तर त्यसभित्र पनि सुखदुख, सौन्दर्य अनि काव्यिक कथा छन् । सायद बलिउड फिल्मको नक्कल गर्ने भएर होला यस्ता कुराहरु फिल्ममा नजरअन्दाज गरिएका छन् । वास्तविकता लुकाएर फेन्टासीमै दर्शक झुलकाउँदैछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *