अन्तर्राष्ट्रिय समाचारसमाचारसूचना-प्रविधि

इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

जेरुसेलम, ३० बैशाख (रासस–एपी) –

गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह (सिनागग) मा आगो लगाइदिएका छन् ।

दुबै समुदायको मिश्रित बसोबास रहेको शहर लोडका मेयरले मङ्गलबारको यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गर्नुभयो । अरब विज्ञहरु एवं अधिकारवादीहरुले जेरुसेलममा भड्किएको हिंसाका कारण दुबै समुदायबीच हिंसा फैलिएको बताएका छन् । जेरुसेलम घटनाले अर्को गाजा युद्ध निम्त्याउने सम्भावना बढाएको छ ।

बुधबार राति पनि हिंसा पुनः भड्किएको थियो र एकअर्कामाथि प्रतिशोध राखेर आक्रमणहरु भएका थिए । तेल अभिभको बाहिरी इलाका बाट याममा दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरब व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर ती व्यक्तिलाई रक्ताम्य हुनेगरी भुइँमा पछारेर बेस्करी कुटपिट गरे । पछि अस्पताल भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ ।

यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले बाट यामकै एउटा अरब व्यक्तिले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहूदीहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमै “अरबीहरु मर्नुपर्छ,” भन्दै नाराबाजी गरिरहेका थिए । उत्तरी शहर टिबेरियाजमा इजरायली झण्डा बोकेका अतिवादीहरुले सम्भवतः अरबी चढेको कारमाथि ढुङ्गामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो ।

इजरायलको च्यानल १३ ले एक जना वरिष्ट प्रहरी अधिकृतलाई उद्धृत गर्दै तटीय शहर अकरमा अरबी व्यक्तिहरुले एक जना यहूदी व्यक्तिमाथि कुटपिट गरेर सख्त घाइते बनाएको खबर प्राप्त भएको जनाएको छ ।

राति अबेर प्रशारण भएको अन्तर्वार्तामा इजरायली राष्ट्रपति रुभेन रिभलिनले देश अहिले गृहयुद्धमा पर्न थालेको बताउँदै नागरिकलाई यस्तो बहुलठ्ठीपन तत्काल रोक्न आग्रह गर्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यहूदी र अरब दुबै समुदायलाई एकअर्का विरुद्ध आक्रमण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाइँमा रगत उम्लिरहेको होला, त्यससँग मलाई मतलब छैन । तपाइँले कानुन हातमा लिन सक्नुहुन्न ।”

प्रहरीले बुधबार देशका विभिन्न भागमा हिंसात्मक भिडन्तमा सहभागी झण्डै ४०० व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।

इजरायलका अरब अल्पसंख्यकले इजरायली राजनीतिमा स्वीकार्यता र प्रभाव बढाउनै लागेको समयमा यस्तो हिंसात्मक घटना भएको छ । इस्लामिक पृष्ठभूमिका अरब पार्टीका प्रमुख मन्सुर अब्बास गत मार्चको चुनावपछि नयाँ सरकार गठनमा राम्रै भूमिकामा देखिनु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकार ढाल्ने गरी निर्माण भएको विपक्षीहरुको गठबन्धनमा अब्बासको पनि मूख्य भूमिका देखिएको छ ।

तर बुधबार एपीसँग कुरा गर्दै अब्बासले हिंसात्मक घटना बढ्न थालेकाले गठबन्धनको विषय अहिले ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि युद्धबिराम भए हामी नयाँ सरकार गठनका बारेमा फेरि छलफलमा जुट्ने छौं ।”

हालैका दिनहरुमा इजरायलमा बसोबास गर्ने अरब नागरिकहरुले जेरुसेलममा प्रहरी दमन बढाइएको र दर्जनौं प्यालेस्टिनी परिवारलाई हटाउने योजना ल्याइएको भन्दै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् ।

इजरायलमा रहेबसेका अरब अल्पसंख्यकले इजरायलको कूल जनसंख्याको झण्डै २० प्रतिशत हिस्सा ओगटेका छन् । उनीहरु मूलतः प्यालेस्टिनी मूलका हुन् । यी समुदायसँग इजरायलको नागरिकता छ र मतदानको अधिकार पनि छ, तर विभिन्न विभेदको सामना गर्नु परिरहेको छ ।

यसैबीच, रमादानको अन्तिम दिनको तयारीमा जुटेका गाजाका प्यालेस्टिनी मुस्लिम समुदाय अहिले इजरायली हवाई कारबाहीको चपेटामा परेका छन् । गाजा क्षेत्रबाट प्यालेस्टिनी विद्रोहीहरुले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरिरहेका छन् भने त्यसको प्रतिशोधमा इजरायलले पनि भिषण सैन्य कारबाही गरिरहेको छ ।

एकअर्काबीच आक्रमणको सिलसिला गत सोमबारदेखि शुरु भएको हो । यसबीचमा इजरायलले हमास लडाकू रहेको भन्दै दुई वटा अग्ला भवन ढालिदिएको छ । उक्त भवनमा निशाना बनाउनुअघि इजरायलले त्यहाँ रहेबसेका सर्बसाधारणलाई भवन खाली गर्न चेतावनी दिएको थियो ।

इजरायली सेनाको भनाईमा सोमबार यतामात्र एक हजार ६०० क्षेप्यास्त्र गाजा क्षेत्रबाट प्रहार गरिएको छ जसमध्ये ४०० वटा गाजा क्षेत्रमै खसेका थिए । इजरायली सेनाले ६०० भन्दा बढी क्षेप्यास्त्र गाजा क्षेत्रमा हमासका लडाकू रहेका ठाउँमा प्रहार गरिएको जनाएको छ ।

हालसम्मको यस आक्रमणबाट ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ जसमा १६ जना बालबालिका र ६ जना महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इस्लामिक जिहाद र हमासले आफ्ना वरिष्ट नेता एवं लडाकूहरु इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । जिहादीहरुको आक्रमणमा सात जना इजरायलीको पनि ज्यान गएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघ र इजिप्टले दुबै पक्षबीच युद्धबिरामको प्रयास जारी रहेको जनाएका छन्, तर त्यसतर्फ खासै प्रगति हुन सकेको छैन । इजरायलको च्यानल १२ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मन्त्रिपरिषदले थप आक्रामक कारबाही गर्न सेनालाई आदेश दिएको जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रबाट इजरायलतर्फ अन्धाधुन्ध भइरहेका क्षेप्यास्त्र आक्रमणको निन्दा गर्नु भएको छ । साथै उहाँले इजरायललाई पनि बढीभन्दा बढी संयमता अपनाउन आग्रह गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई फोन गरी आत्मरक्षा गर्न पाउने इजरायलको अधिकार रहेको बताउनु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा तनाब मत्थर पार्ने गरी वरिष्ट कुटनीतिज्ञ त्यसतर्फ पठाइने बताउनु भएको छ ।
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *