राजनीति

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन्

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १४ फाल्गुन २०७९,आइतबार

काठमाडौँ-नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्। संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ। राष्ट्रिय पार्टी नभएको र पछिल्लोपटक एमालेले दलको मान्यता दिएर पार्टी एकीकरणसहित राष्ट्रपतिमा गरेको प्रस्तावलाई अस्वीकार गर्दा मुलुकको चौथो कार्यकालका लागि तेस्रो व्यक्ति राष्ट्रपति हुनबाट उनी चुकेको भनिए पनि एमालेसँग विश्वस्त हुन नसक्दा उनी राष्ट्रपतिको प्रस्तावबाट पछि हटेका हुन्।

एमालेका केही सांसदले मत हाल्दैनन् भन्ने सूचनालाई आधार मानेर उनले राष्ट्रपतिको प्रस्तावलाई पन्छाएका हुन्। जानकारहरूका अनुसार शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा राष्ट्रिय अनुसन्धान विभागको हवाला दिएर एमालेका आठ संघीय सांसद र १५ प्रदेश सांसदले मत हाल्दैनन् भन्ने जुन सूचना दिइयो, अन्तत: त्यही कारणले शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भएको भेटघाटमा अविश्वास उत्पन्न भयो। ‘मैले हार्ने चुनाव किन लड्ने ? माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेसलाई सहयोग गर्नेगरी अघि बढिसके। राष्ट्रपति कांग्रेसले जित्छ, कांग्रेससँग प्रतिस्पर्धा गरेर हार्नुपर्ने अवस्था आउँछ भनेर नेपाल बाहिरिए,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्षले विश्वास दिलाउने आधार दिन्छु भन्दा पनि उनले मानेनन्।’ राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएलगत्तै एमालेले नेकपा एसलाई समेत पत्राचार गरेर पार्टीका रूपमा स्वीकार गरेको छ।

शुक्रबार महाराजगन्जको भेटघाटमा दुवै नेताले आफ्ना कमजोरीलाई स्वीकार गरेर अघि बढ्ने र राष्ट्रपतिका लागि नेपालका नाममा सहमति खोज्नेसम्मको कुराकानीमा नेपालले विश्वास गर्न सकेनन्।

तर शनिबार दिउँसो राष्ट्रपति निर्वाचनलाई लिएर एमालेले नेकपा एसलाई औपचारिक पत्र पठाएर ओली र नेपालबीच पहिलाको भन्दा सम्बन्ध सुधार भएको संकेत गरे। एमालेद्वारा नेकपा एसलाई औपचारिक रूपमा पार्टी स्वीकार गरी पत्र नै पठाएको भने यो पहिलोपटक हो। उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमालेले नेकपा एसलाई औपचारिक पत्र पठाएको हो। राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले पुस १० को सहमतिलाई पनि आधार बनाएको छ। तर उक्त सहमतिमा नेकपा एस भने सहभागी थिएन।

‘पुस १० मै माधव नेपाललाई साथ लिएको भए अहिलेको अवस्था आउने नै थिएन, जसले गर्दा विश्वास गर्ने आधार नदेखिएको हो,’ नेकपा एसका एक पदाधिकारीले दाबी गरे। केही समय अघिसम्म नेकपा एसलाई पार्टीको हैसियत दिन पनि तयार नभएको एमालेले अध्यक्ष नेपाललाई नै सम्बोधन गरी औपचारिक पत्र पठाएकोमा नेकपा एसका केही नेता भने सकारात्मक बनेका छन्।

शुक्रबार ओली–नेपालबीचको भेटअघि ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई पनि भेटेका थिए। ओलीले नेपालकै नाममा सहमति खोजौं भन्दा दाहालले नमानेको स्रोतको भनाइ छ। कांग्रेस र जसपा मान्दैनन् भन्दै राष्ट्रपतिका रूपमा नेपाललाई अघि सार्न दाहाल पन्छिएका थिए। त्यतिबेला ओलीले नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सँगै कुराकानी गरौं भन्ने प्रस्तावमा पनि दाहालले रुचि नदेखाएको कुरा नेपाललाई बताएका थिए। त्यतिबेला ओलीले नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सँगै कुराकानी गरौं भन्ने प्रस्तावमा पनि दाहालले रुचि नदेखाएको कुरा नेपाललाई बताएका थिए।

ओलीले माधव नेपालकै नाममा माओवादी केन्द्रबाहेकलाई पनि जिताउन सकिने आधार प्रस्तुत गर्दा नेपालले पछिल्लोपटक कांग्रेससँग मिलेर चुनाव लड्ने अहिलेचाहिँ एमालेतिर लाग्दा माओवादी केन्द्रका अध्यक्ष दाहालभन्दा फरक हुन नसकिने भन्दै कांग्रेस उम्मेदवारलाई नै समर्थन गर्न पुगेका थिए।

त्यति मात्र होइन, नेपालले आफ्नै पार्टीका केही नेतालाई मनाउन पनि सकेनन्। महासचिव वेदुराम भुसाललाई राष्ट्रियसभा अध्यक्ष बनाइदिने आश्वासन कतैबाट पाएपछि भुसाल एमालेसँग सहकार्य गर्न नहुने पक्षमा उभिए। साथै नवप्रवेशी घनश्याम भुसालले पनि ओलीसँग सहकार्य गर्न कठिन भएको र विगतमा १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै नेपालको मानसपटलमा पुराना विषय ल्याएर रिलजस्तै घुमाए। नेपालले ओलीको प्रतिबद्धतालाई विश्वास गर्न सकेनन्। त्यसपछि उनले ओलीलाई आपत् परेपछि मात्रै सम्झेको रूपमा लिइदिए।

तर शनिबार बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउन खोजेको र त्यसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल बाधक रहेको ब्रिफिङ गरेका थिए। ओलीले माओवादी केन्द्रका अध्यक्षले देशीविदेशी शक्तिहरूसँग झुकेर कांग्रेसको पोल्टामा राष्ट्रपति पारेको बताएका थिए। ‘अहिलेलाई ठिकै छ राष्ट्रपतिमा समर्थन जुटाउन अब सबै दललाई पत्राचार गरौ, माधव नेपाललाई पनि पत्र पठाऔं,’ एमालेको सचिवालय बैठकमा ओलीको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो।

पछिल्लोपटक ओलीले राष्ट्रपति बन्न आग्रह गर्दै नेपालसँग चारपटक कुराकानी गरेका थिए। चारपटक नै ओलीका पुराना कार्यकर्ता तर अहिले नेकपा एसमा रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’का घरमा भेटघाट भएको थियो। ओलीसँग भेटघाट गराउन सोमप्रसाद पाण्डे, राजेन्द्र पाण्डे र किसान श्रेष्ठले पहल गरेका थिए। ओलीका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेतलगायत नेताहरूले पहल गरेका थिए। ओली–नेपाल मिलाउन खोज्नेहरू पहिला पनि वाम एकताको पक्षधर रहेकाले उनीहरूलाई नेपालले त्यति शंका गरेनन्। एमालेका महासचिव शंकर पोखरेललगयात नेताहरूले नेपालले पार्टी विभाजन गरेर पार्टीलाई तहसनहस बनाएको पुस १० पछि पनि अभिव्यक्ति दिएका थिए। त्यस किसिमको अभिव्यक्तिबाट झस्किएका नेपालले राष्ट्रपतिमा एमालेकै नेताहरूले असहयोग गर्छन् कि भन्ने आशंका गरेका थिए। त्यही आशंकाकै कारण उनले राष्ट्रपति बन्ने मौका चुकाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *