खेलकुद

एभिनियरलाई हराउँदै शेर्पा फाइनलमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ –  क्यामरुनको एभिनियर एफसीलाई हराउँदै हिमालयन शेर्पा क्लब पाँचौ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। सोमबार भएको अन्तिम सेमिफाइनलमा एभिनियरसँग १–० को कठिन जित निकाल्दै शेर्पाले फाइनल भिडन्त पक्का गरेको हो।

खेलमा सुनिल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। ५२ मिनेटमा उनको ‘वान भर्सेस वान’ प्रहार गोलमा परिणत भएको थियो। यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले फाइनलमा स्थान बनाइसकेको छ।

खेलमा एभिनियरले गोल गर्ने केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। २१ औं मिनेटमा एभिनियरका कप्तान यान्निक योओनाको प्रहार शेर्पाका गोलरक्षक विश्वास चौधरीले मुस्किलले बचाउँदा अग्रता लिनबाट चुके। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७४ औ मिनेटमा शेर्पाका गोलरक्षक अघि बढेको अवस्थामा रिचार्ड विल्सनले प्रहार बाहिरिँदा बराबरी गोल गर्ने मौका खेर गयो। ७६ मिनेटमा क्रसबाट आएको बललाई शेर्पाका सुशिल राईले पोष्टको दिशा दिन नसक्दा अग्रता दोब्बर बनाउन सकेन।

८२ औं मिनेटमा शेर्पाका गोलरक्षक चौधरी अघि बढेको समयमा एभिनियरका योमीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। निर्णायक गोलकर्ता सुनिल श्रेष्ठ नै खेलको म्यान अफ द म्याच भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीको मेहनतका कारण जित निकाल्न सफल भएको प्रतिक्रिया दिए। ‘हाम्रा केही राम्रा खेलाडीहरु घाइते रहेका छन्’, उनले भने, ‘शारीरिक रुपमा बलियो एभिनियरसँग जित निकाल्नु नै ठुलो उपलब्धि हो।’ फाइनलमा थप सुधारिएको खेल खेल्दै उपाधि जित्ने उनको प्रतिक्रिया थियो। शेर्पाका कप्तान विश्वास श्रेष्ठले फाइनल जित्न कुनै समस्या नहुने बताए।

फाइनल खेल बुधबार दिउँसो ३ बजेबाट हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ। १२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *