राजनीति

सांसद अरूणकुमार चौधरी रिहा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कैलाली जिल्ला कारागारमा रहेका कैलाली–२ का प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सचेतक अरूणकुमार चौधरी आइतबार रिहा भएका छन्। प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी रिहा भएका हुन्।

ट्याक्टर आगजनी गरेको अभियोगमा दोषी ठहर भई अदालतको आदेशबमोजिम कैद भुक्तान नगरेको भनी उनलाई पक्राउ गरी कैलाली जिल्ला कारागारमा राखिएको थियो। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकाले थुनामा परेको १८ दिनमै चौधरी रिहा भएका हुन्। आइतबार रिहा भएका चौधरीलाई नाउपा अध्यक्ष रन्जना श्रेष्ठसहितका नेता–कार्यकर्ताले अबिर र फूलमालाले स्वागत गरेका थिए।

कैलाली कारागारका निमित्त जेलर लालबहादुर बोगटीले राष्ट्रपतिले आम माफी गरेकाले चौधरीलाई रिहा गरिएको बताए। उनको चालचलनबारे सोधिएपछि १८ दिनमा चालनचलन राम्रो रहेको भनेर लेखिपठाएको उनको भनाइ छ। माघ १९ गते चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरी धनगढी ल्याएर माघ २० गते जिल्ला कारागारमा पठाइएको थियो। ट्याक्टर आगजनीको मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरूणकुमार चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरी गरी तीनजनालाई ६ महिना कैद सजाय सुनाएको थियो। ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला गरिएको थियो।

२०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगार्इंले अरूण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले २०७० वैशाख ९ गते तीनजनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न आदेश दिएको थियो। ट्याक्टर आगजनीकै अभियोगमा पक्राउ परेका वीरबहादुर चौधरी भने जिल्ला कारागार कैलालीमा थुनामै छन्। वीरबहादुरका बारेमा माथिबाट चालचलनबारे नसोधिएकाले आफूले केही लेखेर नपठाएको निमित्त जेलर खड्काले बताए।

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *