राष्ट्रिय समाचार

‘लुम्बिनी प्रदेश स्तरीय’ महिला उद्यम प्रदर्शनीको तयारी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं –  महिला उद्यमीले उत्पादन गरेका बस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्नका लागि नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरीय’ प्रदर्शनी हुने भएको छ।

महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा यही फागुन ५ गते देखी ९ गतेसम्म छैटौँ संस्करण हुन लागेको हो।

संघले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले महिला उद्यमीहरूको सिप प्रदर्शन र उत्पादित बस्तु बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको बत्ताइन्।

‘यो हाम्रो छैटौँ संस्करण हो,’ उनले भनिन् ‘प्रदर्शनीमार्फत महिलाको उत्पादनलाई प्रवर्द्धन गर्नु हो।’ नेपालगन्ज उपमहानगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा गरिने उक्त प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने छन्।

प्रदर्शनीको लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गर्ने आयोजकले जनाएको छ। प्रदर्शनीका संयोजक सावित्री बस्नेतका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको चिल्ड्रेन पार्कमा प्रदर्शनी सञ्चालन हुनेछ।

प्रदर्शनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्युठान, रुकुम, दाङ, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखिनेछ। महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, कला साहित्य, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको आयोजकले जनाएको छ।

यस्तै नव उद्यमी उत्पादन गर्न बिद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन विद्यार्थीको स्टल समेत राखिनेछ। प्रदर्शनीमा सानो लगानीबाट महिला उद्यमी बन्न सफल महिला उद्यमीहरूलाई सम्मान गरिने संयोजक बस्नेतले बताइन्। २०६० सालमा स्थापना भएको संघमा ६२ जना महिला उद्यमीहरू सदस्य छन्। संघले २०७२ साल देखी प्रदर्शनी गर्न थालेको हो।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान केन्द्रिय अध्यक्ष भवानी राणाले महिलाभित्र धेरै सिप भए पनि त्यसलाई बाहिर ल्याउन नसकेको बताइन्। ‘महिलाभित्र भएको सिपलाई बाहिर ल्याउनमा यस्तो प्रदर्शनी महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्।

बाँकेका महिला उद्यमीले उत्पादन गरेका बस्तुको काठमाडौँमा धेरै माग भइरहेको राणाले बताइन्। ‘नेपाली महिला उद्यमीले उत्पादन गरेका केही सामानहरू थाईल्याण्डसम्म पुर्‍याउने गरिएको छ, विदेशमा समेत माग बढेको छ,’ राणाले भनिन्। महिलाले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न ठुलो समस्या रहेको उनको भनाई छ। बैङ्कमा महिला उद्यमीको पहुँच कम रहेकाले उनीहरू पछाडि परेको महासंघकी निवर्तमान अध्यक्ष राणाले जोड दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *