राजनीतिराष्ट्रिय समाचार

प्रदेश १ मा नयाँ सरकार गठन प्रक्रिया आउँदो साता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

मोरङ — प्रदेश १ मा आउँदो साताबाट नयाँ प्रदेश सरकार गठन प्रक्रिया सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदो शनिबार दिउँसो १ बुझाउन समय लिएका छन् । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

ज्येष्ठ प्रदेश सांसद ७९ वर्षीय गयानन्द मण्डललाई सोमबार प्रदेश प्रमुखले शपथ ग्रहण गराउने र बुधबार मण्डलले अन्य सांसदलाई प्रदेशसभा बैठक कक्षमा शपथ ग्रहण गराउने तयारी

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले सात वटै प्रदेश प्रमुखलाई निर्वाचन आयोगले आउँदो शनिबार एकै समयमा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाउने कार्यक्रम तय भएको बताए । यस प्रदेशमा प्रमुख निर्वाचन आयुक्त थपलिया आफै आएर प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम बुझाउन समय लिएको उनले बताए । आयोगबाट निर्वाचन परिणाम औपचारिक रुपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुने श्रेष्ठले बताए । उनले नवनिर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण गराउने सम्बन्धमा पनि प्रदेशसभा सचिवालयसँग छलफल भइरहेको बताए ।

निर्वाचन आयोगले शनिबार निर्वाचन परिणाम बुझाएपछि प्रदेश प्रमुख खापुङले आइतबारबाट नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने आन्तरिक तयारी गरेका छन् । यस प्रदेशमा कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसक्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाउन प्रदेश प्रमुखसँग समय लिएसँगै प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेश सांसदहरुलाई सपथ ग्रहणको तयारी थालेको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले कानुनी व्यवस्थाअनुसार आयोगले निर्वाचनको अन्तिम परिणाम शनिबार प्रदेश प्रमुखसमक्ष बुझाइसकेपछि सोमबार शपथ ग्रहण गराउने तयारी गरेको बताए । उनले निर्वाचन परिणामअनुसार उमेरको हिसाबले ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखसमक्ष शपथ ग्रहण गराउने र बुधबार ज्येष्ठ सदस्यबाट अन्य प्रदेश सदस्यहरुलाई प्रदेशसभा बैठक कक्षमा शपथ ग्रहण गराउने तयारी गरेको बताए ।

प्रदेशसभाको ५६ जना निर्वाचित र समानुपातिकमा नाम सिफारिस भएकामध्ये उमेरका आधारमा सबभन्दा ज्येष्ठ प्रदेश सांसद मोरङ क्षेत्र ५(१) बाट निर्वाचित कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाई रहेका छन् । उनले नै प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि अन्य प्रदेश सांसदलाई शपथ ग्रहण गराउने र पहिलो प्रदेशसभा बैठकको अध्यक्षता गर्ने छन् । संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरुले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (५) मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को धारा १९ मा प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनु पर्नेछ । तर संविधानको धारा १८२ को उपधारा (५) बमोजिमको सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिनु पर्ने व्यवस्था छ ।

प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेश सांसदको स्वागतका लागि प्रदेशसभाको रंगरोगनका साथै सरसफाइ गरेर चिटिक्क पारिएको छ । संसदीय दलका नेता, प्रमुख सचेतक, संसदीय समितिका सभापतिहरुका लागि गाडीसमेत सरसफाइ गरेर तयारी अवस्थामा राखेको सचिव पराजुलीले बताए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १४, राप्रपाले ६, नेकपा (एकीकृत समाजवादी)ले ४ र जनता समाजवादी पार्टीले एक जना प्रदेश सांसद प्राप्त गरेको छ । एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग तालमेल गरेर सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा तालमेल गरेका एमालेले राप्रपा र जनता समाजवादीसँग सरकार गठनका लागि पनि तालमेल गर्ने प्रयास गरिरहेको छ । एमालेको राप्रपा र जनता समाजवादीसँग तालमेल भए सरकार गठनका लागि बहुमत ४७ प्रदेश सांसद हुन्छ ।

यता सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग ४६ प्रदेश सांसद मात्रै रहेकाले सरकार गठनका लागि राप्रपा र जनता समाजवादीसँग तालमेल गर्न प्रयास गरिरहेको छ । सरकार गठनका लागि सत्ता गठबन्धनलाई राप्रपा वा जनता समाजवादी दुवैमध्ये कुनै दलको समर्थन प्राप्त भए पुग्ने अवस्था छ । तर एमालेलाई राप्रपा र जनता समाजवादी दुवै दलको समर्थन आवश्यक छ । सत्ता गठबन्धन दल र एमाले दुवै सरकार गठनमा ढुक्क देखिएका छन् तर यीमध्ये बहुमत प्रदेश सांसदको समर्थन प्राप्त गर्नेको मात्रै सरकार गठन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *