समाचार

दुर्घटनाको १४ सेकेण्डअघि पाइलट कमलले लिएका थिए जहाजको कमाण्ड

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटनाको ठीक अघि पाइलटको कमाण्ड परिवर्तन भएको पाइएको छ ।

दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए ।

जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ । त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

ल्याण्डिङ गियर भने सामान्य तरिकाले नै खुलेको थियो । अवतरणका दौरान पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेकी थिइन् । उनले जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् । जसमा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए ।

तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमाण्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट अञ्जु खतिवडा (पीएफ) ले १०ः५७ः१८ मा जहाजको कन्ट्रोल पाइलट कमल केसी (पीएम) लाई हस्तान्तरण गरेकी थिइन् । १०ः५७ः२० मा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताए ।’ त्यतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो ।

दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो ।

यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो ।

यो जहाज १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लिसकेको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्री जीरो’बाट अवतरण गर्न अनुमति दिएका थिए ।
तर, पाइलटले उत्तरतर्फको रनवे ‘वान टू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागे । यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन । सोही अनुसार एटीसीले अनुमति पनि दिएको थियो । तर जहाज केहीबेरमै दुर्घटनामा परेको थियो ।

यो नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा भयानक दुर्घटना थियो । जसमा ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले बुधबार अन्तरिम सुरक्षा सुझावसहितको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको कारण भने विस्तृत प्रतिवेदनमा मात्र खुल्ने आयोगका एक सदस्यले जानकारी दिए ।

‘अब हाम्रो अनुसन्धान कता केन्द्रित भयो भन्ने संकेत मात्र यस प्रतिवेदनले गर्छ’, उनले भने, ‘विस्तृत प्रतिवेदनले त्यसलाई केलाउने प्रयास गर्छ ।’ यस क्रममा भग्नावशेषमा भेटिएका उपकरणहरुलाई थप अध्ययन गर्नुपर्ने समेत उनले बताए ।

दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डेटा विश्लेषण गरेको थियो । आयोगका संयोजक घिमिरे, हवाई विज्ञ र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएका थिए ।

फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डेटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।

सो अवसरमा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययन समेत भएको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *