हेडलाइन

कूटनीतिक वार्तामा होइन, राजनीतिक मन्त्रणामा लागे भारतीय विदेश सचिव

Advertisements
MAHABAI RURAL MUNICIPALITY

परराष्ट्र सचिवस्तरीय बैठक भनिए पनि समकक्षीसँगको वार्तामा एक घण्टाभन्दा कम बिताएका क्वात्राले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री देउवा र ओलीसहित १४ नेता भेटे, प्रधानमन्त्री दाहालसँग दिउँसो औपचारिक वार्ता र राति गुपचुप

काठमाडौँ — सचिवस्तरीय बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राजनीतिक मन्त्रणमा सक्रिय भएर फर्किएका छन् ।समकक्षीसँगको वार्तामा एक घण्टाभन्दा कम बिताएका उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू लगायत १४ जना राजनीतिकर्मीलाई भेटे । उनको मुख्य चासो थियो– दलीय गठबन्धन र राष्ट्रपति निर्वाचन ।

सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै क्वात्राले समकक्षी भरतराज पौड्यालसँगको वार्ता २ बजेसम्म पूरा गरिसकेका थिए । त्यसपछि एकै दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे ।

दोस्रो दिन मंगलबार उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधानमन्त्री तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनमत अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेताहरू शेखर कोइराला, बालकृष्ण खाँण र रमेश लेखक र मधेसी नेता हृदयेश त्रिपाठीलाई पनि भेटे ।

प्रधानमन्त्री दाहाललाई त उनले साँझ औपचारिक र राति गुपचुप रूपमा भेटेका छन् । स्रोतका अनुसार सोमबारका सम्पूर्ण भेट सकेपछि क्वात्रा राति बालुवाटार प्रवेश गरेका थिए । २०७७ कात्तिक ५ को राति ‘रअ’ प्रमुख सामन्त गोयल बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकै शैलीमा भारतीय विदेश सचिव क्वात्राले वर्तमान प्रधानमन्त्री दाहाललाई भेटका हुन् । नेपालका लागि राजदूतसमेत रहिसकेका क्वात्राले सत्ता गठबन्धनको भविष्य र नयाँ राष्ट्रपतिको निर्वाचनबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । दाहाल र क्वात्राबीच दुई घण्टा छलफल भएको थियो ।

दुई/दुई पटक भेट भए पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति भने टुंगो लागेको छैन । ‘केही दिन पर्ख र हेरमा रहने भारतको रणनीति देखियो,’ बालुवाटारका एक अधिकारीले भने, ‘राष्ट्रपति निर्वाचनको तस्बिर प्रस्ट भएपछि मात्रै प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको बुझिन्छ ।’ राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनको कार्यसूची छ भने फागुन २५ मा निर्वाचन ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएदेखि नै प्रधानमन्त्री दाहालले संवैधानिक पद (राष्ट्रपति) मा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका छन् । यही कारण सत्ता साझेदार एमाले र माओवादीबीच असमझदारी बढिरहेकै बेला भारतीय विदेश सचिव क्वात्राले प्रधानमन्त्री दाहाललाई औपचारिक र अनौपचारिक रूपमा भेटेका हुन् । भेटको विषयवस्तुको छनक पाएका एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धनको भविष्य जोखिममा परेको संकेतसमेत गरेका छन् । ‘कथंकदाचित यो स्थिति फेरियो

भने, संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको (छ), बहुमत कसैको छैन, अनेक प्रकारका भित्र र बाहिरका शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन्,’ अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा मंगलबार ओलीको भनाइ थियो, ‘डाँकाले कुनै बैंकमा डकैती गर्न पर्‍यो भने पहिला पालेलाई प्रहार गर्छ । एमाले यो देशमा डकैती गर्न नदिने पाले हो । यसमाथि नहानी भित्रै पस्न पाउँदैन, पहिला यसमाथि प्रहार हुन सक्छ ।’

राष्ट्रपति निर्वाचनलाई नै केन्द्रमा राखेर क्वात्राले नेताहरूलाई भेटेका थिए जसलाई लोसपा नेता मनीष मिश्रले पनि पुष्टि गरे । ‘उहाँले द्विपक्षीय सम्बन्ध, प्रजातान्त्रिक खेमा र दुई मुलुकबीचको सम्बन्धलाई राम्रो हुने राष्ट्रपतिको चयनलगायतका विषयमा छलफल गर्नुभयो,’ मेरियट होटलमा लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता भएपछि मिश्रले कान्तिपुरसँग भने ।

नेताहरूका अनुसार सरकारमा वामपन्थी शक्तिहरू मात्रै हुँदा उत्तर छिमेकीसँग निकटता बढ्न सक्ने भारतीय चासो छ । त्यस्तै जनमत अध्यक्ष सीके राउतले भने क्वात्रासँग द्विपक्षीय हितका बारेमा मात्र कुराकानी भएको बताए । ‘हामीबीचमा दुई मुलुकको हितको विषयमा छलफल भएको थियो । नयाँ पार्टीका रूपमा सफल भएकामा समेत उहाँले बधाई दिनुभयो,’ राउतले भने ।

गत मंसिरमा गठबन्धन बनाए पनि पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयमा देउवा र दाहालको विवादले गठबन्धन भत्किएको थियो । एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका दाहाल ओलीसँग सहज भएका छैनन् । त्यसैले उनी राष्ट्रपति निर्वाचनलाई कडी बनाएर कांग्रेससँग जोडिन खोजेका छन् । दलहरूबीचको असमझदारी आन्तरिक मामिला भए पनि छिमेकी भारतले भने त्यसैलाई उपयोग गर्न खोजेको छ, त्यसैले भारतीय विदेश सचिव दुई दिनमा १४ जना नेता भेटेर फर्किएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *