राजनीतिसमाचार

प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने व्यवस्था गराैँ : सांसद सुवाल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० फाल्गुन २०७९ , बुधबार

काठमाडौं नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । देशको सन्तुलित विकास र काठमाण्डाै उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उहाँको तर्क थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाण्डाै उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गर्नुभयो । काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभाबी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उहाँले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुवालले भन्नुभयो, ‘काठमाण्डाै उपत्यका विकास प्राधिकरण अविलम्ब खारेज गर्न आवश्यक छ । ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा नागरिककाे विरोध छ । काठमाण्डाैमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाण्डाै उपत्यकामा खाद्यान्न आपूर्ति राेकिने र यहाँका नागरिक भोकभोकै मनुपर्ने अवस्था छ । २०७२ सालको जस्तो ठूलो भूकम्प काठमाण्डाैमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ नागरिककाे ज्यान जाने अवस्था छ । यस कारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय नागरिसँगै घर बनाएर बस्नुपर्ने, काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’

सांसद सुवालले भक्तपुरमा रहेकाे नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराउनुभयो । आठ वर्षदेखि यस सडक खण्डको निर्माण कार्यले पूर्णता नपाएकोमा उहाँको आक्रोश थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *