अर्थ

बुटवलमा कृषि मेला सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

मुलुकको अर्थतन्त्र सुधारकालागि कृषिजन्य बस्तुको आयात प्रतिस्थापनमा जोड

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – मुलुकको अर्थतन्त्र सुधारका लागि कृषिजन्य उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्नु पर्नेमा सरोकारवालहरूले जोड दिएका छन्।

मंगलबार देखि बुटवलमा सुरु भएको कृषि मेलाको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले मुलुकको अर्थव्यवस्था सुधारको लागि कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्नेमा जोड दिएका हुन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबार देखि एघारौँ संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो। मेलाको उद्घाटन गर्दे नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारको लागि हाल भइरहेको कृषिजन्य बस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनु पर्ने बताए। नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिजन्य बस्तुको उपभोग आयातमा धानिएको भन्दै उनले यही अवस्था रहिरहे मुलुकको अर्थव्यवस्था झनै खस्किने बताए।

मुलुकको अर्थव्यवस्था सुधारको लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यावसायिक विकासकालागि प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउने तर्फ सरकार गम्भीर हुनु पर्ने बताए।

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले कृषिको व्यावसायिक विकासको लागि प्रवर्द्धनात्मक रूपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए। कृषि बस्तुको प्रवर्द्धन तथा विविधिकरणकालागि मेलामा खाद्य परिकारको प्रवर्द्धन गरिने बताए। त्यसकालागि यसपालिको कृषि मेलामा पोर्क (बङ्गुर) का परिकार सहितको फेस्टिभल आयोजना गरिएको उनले जानकारी दिए।

त्यस्तै च्याउ, दुग्ध, कोदो माछाका परिकारहरूको प्रवर्द्धन मेला मार्फत गरिने र त्यसले पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कुल गृहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिँदै आएको अध्यक्ष कशजुले बताए।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यावसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन, उत्पादित बस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गी, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार निर्मल प्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै देशको अर्थतन्त्र सुधारकालागि कृषि क्षेत्रको विकास र बिस्तारमा सरकार गम्भीर हुनु पर्ने बताए।

बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला फागुन ६ गते सम्म चल्ने छ।

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको छ। पोर्क फेष्टिवललाई मेलाको प्रमुख आकर्षणको रूपमा लिइएको छ।

पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषि सम्बन्धी प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धी जानकारी सहितको सेवा र पोर्क पेष्टिवलका गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमल राज भट्टराईले जानकारी दिए। कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ।

त्यस्तै कृषि सम्बन्धी अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा बिक्री वितरण तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले जानकारी दिए।

उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टीकृत कृषि मेला आयोजना गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *