राजनीति

पौडेललाई रोकेर अघि बढ्लान् सिटौला ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

२०७९ फागुन १ गते

नेपाली कांग्रेसमा राष्ट्रपति पदको आकांक्षीमा मूख्यतः दुई पात्र छन् – नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला । सभापति शेरबहादुर देउवाले ९ माघमा बसेको शीर्ष नेताको बैठकमा नाम लिएसँगै सिटौलाको नाम चर्चामा आएको हो ।

भावी राष्ट्रपतिको उम्मेदवारमा आकांक्षी रहेको विषयलाई सिटौलाले सभापति मार्फत सुनाएका थिए । कांग्रेसको बैठकमा औपचारिक रुपमा सिटौलाको नामले प्रवेश पाएसँगै उनको सक्रियता ह्वात्तै बढेको छ । कांग्रेस नेताहरुका अनुसार सिटौलाले पार्टीभित्रको भेटघाटलाई बढाएका छन् ।

सिटौलाले कांग्रेसका शीर्ष तहका अधिकांश नेताहरुसँग यस वीचमा संवाद गरिसकेका छन् । धेरै नेताहरुलाई उनले आफ्नै निवासमा आमन्त्रण गरी भेटेका छन् । कांग्रेसका एक नेताका अनुसार सिटौलाले एकल भेटलाई प्राथमिकतामा राखेका छन् । पार्टीभित्र आफ्नो माहोल बनाउने उद्धेश्यले सिटौलाले नेताहरुसँग छलफल गरिरहेको उनलाई भेट्ने नेताहरु बताउँछन् ।

भावी राष्ट्रपतिका लागि आफू योग्य पात्र भएको सिटौलाले नेताहरुसँग खुलाउने गरेका समेत छन् । पुरानो गठबन्धन व्युँताउने जगको सुत्रधार आफू भएको सिटौलाको दाबी पार्टीभित्र छ । पुस १० मा कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएको थियो । प्रधानमन्त्रीमा पहिलो कार्यकाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने राय सिटौलाको थियो । गठबन्धन टिकेन । विश्वासको मत दिएर पुरानो गठबन्धन जोगाउन सकिने विकल्प सिटौलाले सुझाएका थिए । ‘विश्वासको मत दिनुपर्छ र दिनैहुन्न फरक फरक मत पार्टीभित्र थिए,’ कांग्रेसका शीर्ष तहका नेता भन्छन्,’कृष्ण दाइले उपसभापति पूर्णबहादुर खड्कालाई विश्वासको मत दिनुपर्ने तर्कमा सहमत बनाएपछि दुवै जना लाग्नुभयो ।’ कांग्रेसले विश्वासको मत दिएपछि वर्तमान सत्ता गठबन्धन धरमर बनेको छ ।

कांग्रेसबाट राष्ट्रपतिका लागि उपयुक्त पात्र आफू रहेको अर्को तर्क प्रचण्डसँगको सम्बन्धलाई लिएर गर्ने गरेका छन् । पूर्व सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्तिकाल प्रचण्डसँगको संवादमा मूख्यतः सिटौलालाई खटाएका थिए । शान्ति प्रक्रियायता प्रचण्डको सबैजसो नेताहरुसँग सम्बन्धको उताचढाव रह्यो, तर प्रचण्ड-सिटौला सम्बन्धमा अहिलेसम्म कटुता देखिएको छैन । प्रचण्डसँग निकट सम्बन्धका कारणले पनि सिटौलामा आशा बढेको उनी निकटका नेताहरुको दाबी छ ।

कांग्रेसबाट सिटौलालाई राष्ट्रपतिको उम्मेदवारमा प्रचण्डले भित्री इच्छा उनी देउवाको रबरस्ट्याम्प हुँदैनन् भन्ने विश्लेषण पनि हो । ‘एमाले अध्यक्ष ओलीको रबरस्ट्याम्प विद्या भण्डारी हुँदा संविधान विरोधी कार्य भए,’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्, ‘कृष्ण दाइ राष्ट्रपति बने देउवाले जे भन्यो, त्यही गर्नुहुन्न ।’ राष्ट्रपति कांग्रेसबाट हुने र एमाले सरकारमै रहिरहे आधा कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । त्यसबेला ओलीलाई ‘चेक एण्ड व्यालेन्स’ गर्नसक्ने तथा संविधान बाहिर जान नदिने पात्र सिटौला हुने उनी तर्क गर्छन् ।

देउवा पक्षीय नेताहरुका अनुसार राष्ट्रपतिमा पदमा सभापतिले नेता पौडेललाई उठाउन चाहन्छन् । देउवा उनको पक्षमा देखिनु संसदीय दलको निर्वाचनमा गरेको प्रतिवद्धता हो । संसदीय दलको निर्वाचनमा देउवालाई मत दिने पक्षमा रहे पनि पौडेल प्रस्तावक बन्न तयार भएका थिएनन् । देउवा निकट केही नेताहरुले आसन्न राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार ‘तपाई नै हो’ भनि प्रतिवद्धता गरेपछि पौडेल प्रस्तावक बसेका थिए ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार हुने उत्कट चाहना राख्ने अर्का पात्र हुन्-गोपालमान श्रेष्ठ । पौडेल र सिटौलाको नाम सञ्चार माध्यममा छाइरहँदा उनको नाम विरलै सुनिन्छ । पार्टीभित्र भने उनको लविङ तीव्र छ । श्रेष्ठले कांग्रेसका हरेकजसो फोन गरेर राष्ट्रपति पदका इच्छा देखाएका छन्

देउवा र पौडेलको सम्बन्धमा सुधार आएको १४ औं महाधिवेशन लगत्तै हो । तर, देउवा र सिटौला फरक समूहमा रहेपनि एक आपसमा सहकार्य १३ औं महाधिवेशन देखि हो । १३ औं महाधिवेशनमा दोश्रो चरण चरणमा भएको सभापतिको निर्वाचनमा सिटौलाले देउवालाई सघाएका थिए । दोस्रो चरणमा सिटौला देउवातिर ढल्किँदा पौडेल सभापति हुन वञ्चित भएका थिए । १४ औं महाधिवेशनमा प्यानल नै खडा नगरि सिटौलाले देउवासँग सहकार्य गरे ।

प्रचण्ड र देउवाले गुन तिर्न पनि उनलाई राष्ट्रपति बनाउनुपर्ने तर्क राख्छन् सिटौला पक्षीय नेता भीमसेनदास प्रधान । ‘प्रचण्ड र देउवालाई यहाँ सम्म ल्याई पुर्‍याउन कृष्ण दाइको योगदान छ,’ प्रधान भन्छन्,’उहाँहरुले गुन तिर्न पनि कृष्ण दाइलाई राष्ट्रपति बनाउनु पर्दछ ।’ कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार छनोट प्रधानमन्त्री प्रचण्डको इच्छाले पनि काम गर्ने प्रधानको बुझाई छ । कांग्रेसबाट उम्मेदवार बनाउने निर्णय अधिकार पार्टीभित्रै रहेकोले अरु शक्तिको चाहनाको औचित्य नहुने अर्का केन्द्रीय सदस्य रामहरि खतिवडा तर्क गर्छन् । केन्द्रीय समितिको बैठक राष्ट्रपति निर्वाचन अघि नबस्ने भएकाले कार्य सम्पादन समितिको बैठकबाट राष्ट्रपतिको उम्मेदवार चयन हुने नेता खतिवडाले बताए ।

पौडेल दाबी : ‘पुरानो गठबन्धनको पहलकर्ता म हुँ’

राष्ट्रपति बन्नका लागि नेता पौडेलको दौडधुप पनि कम छैन । त्यसो त, कांग्रेस नेतृत्वको गठबन्धन जोगाउन पौडेलले प्रधानमन्त्रीमा प्रचण्डलाई पहिलो कार्यकाल दिनुपर्ने पक्षमा थिए ।

वरिष्ठ नेता हुनु, पार्टीभित्र नेता कार्यकर्ताको सहानुभूति, सभापतिलाई सहयोग लगायतका कारण देखाउँदै उनी सक्रिय भएर लागेका छन् । पार्टीभित्रका नेताहरुलाई भेट्दा समेत पौडेलले राख्ने तर्क राख्ने गरेका छन् । राष्ट्रपति पदमा पराजित भएपनि उम्मेदवार भएरै छाड्ने अडानमा पौडेल रहेको उनी निकट नेताहरु बताउँछन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन ऐन समेत उनका लागि अनुकुल रहेको छ । राष्ट्रपतिको उम्मेदवार हुन सांसद पदबाट राजीनामा दिनुपर्दैन । पराजित भए भने सांसद पद कायम रहन्छ । निर्वाचित हुँदा मात्रै उपनिर्वाचन गर्नुपर्ने हुन्छ । ‘राष्ट्रपति जिते मात्रै उहाँको क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ,’ पौडेल निकट नेता भन्छन्, ‘हार्नुभयो भने सांसद पद कायमै रहन्छ । हार जित जे भए पनि उठ्ने तयारी गर्दै हुनुहुन्छ ।’

पूर्व सत्ता गठबन्धन बनाउने प्रमुख पहलकर्ता आफू भएको पौडेलले पार्टीभित्र दाबी गर्दै आएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको साथमा प्रधानमन्त्रीमा देउवा बनाउन आफ्नो योगदान रहेको उनी बताउँदै आएका छन् । चुनावी तालमेल गर्नुपर्छ/गर्नुहुन्न भन्ने दुई धारमा उनले तालमेलको पक्षमा खुलेर देउवालाई साथ दिएका थिए ।

देउवाको समकालीन भएर पनि राज्य तथा पार्टीको प्रमुख कार्यकारी पदमा नपुगेकाले उनीप्रति नेता तथा कार्यकर्ताको सद्भाव छ ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार हुने उत्कट चाहना राख्ने अर्का पात्र हुन्-गोपालमान श्रेष्ठ । पौडेल र सिटौलाको नाम सञ्चार माध्यममा छाइरहँदा उनको नाम विरलै सुनिन्छ । पार्टीभित्र भने उनको लविङ तीव्र छ । श्रेष्ठले कांग्रेसका हरेकजसो फोन गरेर राष्ट्रपति पदका इच्छा देखाएका छन् । प्रत्यक्षमा टिकट छोडेको र समानुपातिकमा उम्मेदवार रहे पनि सांसद हुनबाट वञ्चित गराएको उनले सुनाउँदै आएको नेताहरु बताउँछन् ।

पार्टी विभाजनको बेलादेखि सभापतिलाई साथ दिए पनि आफूलाई किनाराकृत गरिएको उनले गुनासो पार्टी नेताहरुलाई राख्दै आएका छन् । स्याङ्जा-२ मा प्रत्यक्षमा उपसभापति धनराज गुरुङ उठेपछि टिकट पाएनन् । समानुपातिक उम्मेदवारमा जनजातिबाट पहिलो नम्बरमा रहेपनि सांसद हुन पाएनन् । समानुपातिकबाट तीन जना मात्रै पुरुष सांसद हुँदा उनी परेनन् ।

कांग्रेसबाट केही व्यक्तिले मानबहादुर विश्वकर्माको नाम पनि अघि सारेका छन् । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि राष्ट्रपति पदमा इच्छा देखाएका छन् । केही नेताहरुलाई आफ्नो आकांक्षा सुनाएका छन् ।

अघिल्लो गठबन्धन व्युँताउन इतर पनि सक्रिय

कांग्रेसका नेताहरु पुरानो गठबन्धन व्युतिँनेमा आशावादी छन् । कांग्रेसका नेताहरुको बालुवाटार भेटघाट बाक्लिएको छ । कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति देउवाले केही पटक भेटिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट शीर्ष तहका नेताहरुलाई एकल रुपमा भेट्दै आएका छन् । गत दुई सातामा महामन्त्री गगन थापाले दुईपटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । सबै भेट आसन्न राष्ट्रपति निर्वाचन केन्दि्रत थिए ।

कांग्रेसबाट राष्ट्रपति बनाउन संस्थापन पक्ष र इतर दुबै समूह भरमग्दुर लागेका छन् । संस्थापनइतरका नेता डा शेखर कोइराला र महामन्त्री थापाको बोलीले पनि कांग्रेसको पहललाई देखाउँछ । गत साता सार्वजनिक रुपमा बोल्ने क्रममा शेखर र गगनले कांग्रेसको उम्मेदवारले राष्ट्रपतिमा जित्ने दाबी गरे ।

माघ २४ मा चितवनमा बोल्ने क्रममा नेता शेखरले कांग्रेसले उठाएको उम्मेदवारले राष्ट्रपति चुनावमा जित्ने दाबी गरेका थिए । अर्को दिन काठमाडौंमा सार्वजनिक रुपमा बोल्ने क्रममा महामन्त्री थापा राष्ट्रपति पदमा कांग्रेसले जित्नेमा ढुक्क जस्तै देखिए । ‘नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । हराएरै छाड्छौँ,’ थापाले भने ।

प्रधानमन्त्री प्रचण्डलाई पुन विश्वासमा लिएको कांग्रेस भित्रको बुझाइ छ । यद्यपी प्रचण्डले कांग्रेसबाट नै राष्ट्रपति उम्मेदवार बनाउने भनि माओवादी भित्र पनि बोलेका छैनन् । ‘कुनै राजनीतिक दलको कार्यकर्ता बन्ने राष्ट्रपति हुँदा दुई/तीन चोटी दुःख पाइयो,’ माघ २६ मा भएको केन्द्रीय समितिको भर्चुअल बैठकमा भनेका थिए,’संविधानको, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाऔं भन्ने मेरो इच्छा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *