राष्ट्रिय समाचारसमाचार

शिलान्यासको डेढ वर्षमा पनि बनेन वडा कार्यालय   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

रमेश गिरी, भक्तपुर, १८ असार (रासस) :

मध्यपुरथिमि नगरपालिका–६ स्थित सोना पुखुः र वडा कार्यालय भवन निर्माण अलपत्र छ । मध्यपुरथिमि नगरपालिकाले परम्परागत शैलीमा पोखरी र त्यसमाथि आकर्षक स्वरुपमा ६ नं वडा कार्यालय भवन निर्माण गर्न शिलान्यास गरेपछि निर्माण रोकिएको हो ।

नगरपालिकाले रु एक करोड २० लाखको बजेट विनियोजन गर्दै वडा कार्यालयको जीर्ण भवन भत्काएर नयाँ भवन निर्माण गर्न नगरप्रमुख मदनसुन्दर श्रेष्ठले २०७६ मङ्सिरमा शिलान्यास गर्नुभएको थियो । कार्यालय सञ्चालन भइरहेको भवन भत्काएर बाहखा बजारस्थित भाडाको घरमा सारेको दुई वर्ष बित्न लाग्दा पनि भवन निर्माण नहुँदा ज्येष्ठ नागरिकदेखि अपाङ्गता भएका व्यक्तिसम्मलाई सेवा लिन समस्या परेको गुनासो गरेका छन् ।

तत्कालीन चपाचो गाउँ पञ्चायत, त्यसपछि चपोचो गाविस हुँदै वडा नं ८, ९, १० को कार्यालय र स्थानीय सरकारसँगै वडा तथा नगरपालिकाको संरचना परिवर्तन भएपछि यस भवनमा वडा नं ६ को वडा कार्यालय रहँदै आएको थियो । नगरप्रमुख श्रेष्ठले भुन्नभयो, “पोखरीमाथि कार्यालय भवन, हेर्न पनि निकै राम्रो देखिने, पोखरीलाई पनि आकर्षक ढङ्गले बनाउने, सबैलाई पायक पर्ने ठाउँमा कार्यालयको भवन रहने भएपछि स्थानीयवासीकै मागअनुसार पुरानो जीर्ण भवनलाई भत्काएर परम्परागत शैलीमा नयाँ भवन बनाउने नगरपालिकाले निर्णय गर्दै शुरु गरेको हौँ, शिलान्यासपछि केहीले विरोध गर्दा निर्माण नै रोकिएको हो ।” विवादकै बीच जबर्जस्ती गर्न नसकिने भन्दै उहाँले स्थानीयवासीमा सहमति बन्ने बित्तिकै पोखरी र भवन निर्माण शुरु हने बताउनुभयो ।

शिलान्याससँगै केही अभियाकर्मीले पोखरीमाथि भवन बनाउन पाइँदैन भन्दै विरोध गर्दा भवन निर्माण अलपत्र परेको हो । अभियानकर्मीले गरेको विरोधले स्थानीयवासीमै फुट ल्याएर एक पक्षले त्यहीँ भवन बनाउनुपर्छ र अर्को पक्षले त्यहाँ बनाउनु हँुदैन भन्दै विभाजित भएर विवाद आएपछि आफ्नै टोलको विकास रोकिएकोे यहाँका बासिन्दाको गुनासो छ ।

वडा नं ६ का वडाध्यक्ष इन्द्र प्रजापतिले भवन निर्माणका लागि स्थानीयवासीबीच सहमतिको प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०३३ मा सोना पुखुःमाथि भवन बनेर तत्कालीन चपाचो गाउँ पञ्चायत रहेको थियो, त्यसपछि गाविस कार्यालय हँुदै अहिले वडा कार्यालय सञ्चालनमा थियो । तर त्यहीँ ठाउँमा नयाँ भवन बनाउन खोज्दा विवाद आउँदा रोकियो ।”

उहाँका अनुसार वडा कार्यालयको भवन बनाउन अन्त कतै जग्गा छैन । त्यो ठाउँ वडाका सबै बासिन्दालाई पायक पर्ने ठाउँ भएकाले त्यहीँ बनाउन लागिएको हो । पोखरीमाथि चार तलाको सुविधायुक्त वडा कार्यालयको भवन निर्माण गर्ने र पोखरीको पहिचानलाई जीवितै राख्दै आकर्षकरूपमा पोखरी बनाउने गरी नगरपालिकाले योजना बनाएको वडाध्यक्ष प्रजापतिको भनाइ छ । चार तलालाई घटाएर भए पनि कार्यालय भवन त्यहीँ बनाउने गरी सहमतिको प्रयास भइरहेको भन्दै उहाँले सहमतिपछि भवन निर्माण शुरु हुने बताउनुभयो ।

यता स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाकमार्ग सडक निर्माणका लागि सहमतिको प्रयास भइरहेको छ । सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिका रु ६० लाख बजेट विनियोजन गर्दै ढल हालेर कालोपत्र गर्न बेस बिछ्याएपछि आएको विवादका कारण कालोपत्र रोकिँदा सडकमा खाल्डो र हिलाम्मे छ ।

विसं २०७४ देखिको विवाद मिलाउँदै सडकको सिमाङ्कनका क्रममा मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सिमाङ्कन सकेर कालोपत्र गर्न शुरु भएपछि नयाँ विवादका कारण कालोपत्र रोकिएको नगरपालिकाका प्रमुख श्रेष्ठ बताउनुहुन्छ । सडकमा दोहोरो बेस हाल्न ल्याएको ग्राबेलसमेत बिछ्याउन नदिएपछि सडकको बीचबीचमा ग्राबेलको थुप्रो छ भने कतै खाल्डो र ढलको मङ्गल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणले रु दुई करोड, नगरपालिकाको रु एक करोड र स्थानीय बासिन्दाबाट सङ्कलित रु एक करोडको बजेटले सडकभन्दा पाँच फिट तलबाट अण्डरग्राउण्ड गर्दै हाइटेन्सन लाइन लैजाने गरी स्थानीयवासीसँग सहमति भए पनि अहिले स्थानीयवासी बीचमै विवाद आएपछि सडक निर्माण नै अलपत्र परेको छ ।

नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ, “नगरप्रमुखले पालिका अगाडिकै सडक कालोपत्र गरेन भनेर बाहिर हल्ला चलाइएको छ, मैले धेरैपटक यहाँका बासिन्दासँग छलफल गरेर सहमतिको प्रयास गरेको हो, विद्युत् अण्डरग्राउण्ड गरेर सडक कालोपत्र गर्नुपर्छ भन्ने र अण्डरग्राउण्ड नगरी कालोपत्र गर्नुपर्छ भन्नेबीचको विवादका कारण सडकको कामसमेत रोकिएको हो ।”

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी केही दिन अगाडि मात्र हाइटेन्सन लाइन अण्डरग्राउण्ड गर्ने काम शुरु गर्न लाग्दा अवरोध भएर काम रोक्नुपरेको बताउनुभयो । स्थानीयवासीबीच सहमतिका लागि आफूले समन्वय गरिरहेको बताउँदै उहाँले दुवै पक्षसँग छलफल गरेर सहमति निकाल्ने दाबी गर्नुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *