राजनीतिसमाचार

कांग्रेस संसदीय दलमा देउवाविरुद्व कोइराला कि थापा ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

संसदीय दलमा हाल संस्थापन पक्षमा खुलेका ५०, कोइराला-थापा समूहमा खुलेका ३२ र कतै नखुलेका ७ जना छन् । कोइराला र थापामध्ये एकमात्र उम्मेदवार बने यो समीकरणमा केही बदलाव आउन सक्छ । त्यस्तो अवस्थामा देउवाका लागि चुनौतीपूर्ण बन्नसक्छ । यदि कोइराला र थापा दुवै उठे देउवाका लागि संसदीय दलको नेता बन्ने बाटो सहज छ ।

काठमाडौँ — नेपाली कांग्रेसमा पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एक पटक उत्कर्षमा छ । एक वर्षअघि भएको महाधिवेशनमा नयाँ पुस्ता र युवाको घेराबन्दी हुँदा पहिलो पुस्ताका आधा दर्जन नेताहरू पार्टीमा भूमिकाविहीन भए भने प्रतिस्पर्धी समूहको विभाजनको लाभमा शेरबहादुर देउवा सभापतिमा दोहोरिए ।

यसअघि केन्द्रीय सदस्यमात्रै रहेका नेता शेखर कोइराला देउवासँग पराजित भए, पार्टीभित्र प्रतिपक्षी नेता बने । तर महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको एजेण्डासहित लोकप्रिय मतले जितेका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा देउवाविरुद्व उभिने घोषणा गरेपछि इत्तर समूहमा अहिले चर्को शक्ति संघर्ष चलिरहेको छ ।

महाधिवेशनमा थापासहित युवाको साथ लिएर देउवाविरूद्व खडा भएका कोइराला अब संसदीय दलमा आफैँ उभिने वा थापालाई अघि सार्ने भनेर सोमबार साँझसम्म अनिर्णित छन् । चुनाव अगावै संसदीय दलमा देउवाविरुद्व उभिने भनेर प्रधानमन्त्री बन्न तयारी थालेका महामन्त्री थापाको घोषणा संसदीय दलको चुनावमा देउवाकालागि मात्रै होइन, कोइराला र इत्तर पक्षका अधिकांश नेताहरूका लागि समेत चुनौती बनेको छ ।

महाधिवेशनमा गुटको घेरा तोडेर जित निकालेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको प्रस्तावक बन्ने घोषणा गरेपछि कांग्रेसजन उत्साहित छन् । तर थापा र शर्माको यो मोर्चाबन्दी पार्टीमा पदाधिकारी रहेका र भइसकेका नेताहरूकालागि चुनौतीपूर्ण बनेको छ । महाधिवेशनमा पुस्तान्तरणको एजेण्डामा अगुवा बनेका नेता कोइराला अहिले थापालाई संसदीय दलको नेतामा उम्मेदवार बनाउँदा आफु ओझेलमा पर्ने त्रासमा छन् । अर्कोतिर कोइरालासहित कतिपय नेतालाई थापा र शर्माको मोर्चाबन्दी आगामी महाधिवेशनमा चुनौती बन्ने डर छ ।

कोइरालालाई उपसभापति धनराज गुरुङ र मिनेन्द्र रिजालसहित नेताहरूले आफैँ उम्मेदवार बन्न दबाब दिइरहेका छन् । महाधिवेशनमा शेखर र गगनको विद्रोहले नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइराला एकैपटक पाखा लागेका थिए, उनीहरू अहिले दलको नेतामा दाबी गर्न सक्ने हैसियतमा समेत छैनन । एकथरी नेताहरू भने पौडेल, सिंह र कोइराला समेतको समर्थन लिएर संसदीय दलमा थापालाई अघि सार्न लागिरहेका छन् ।

कोइरावा वा थापालाई कसलाई आधिकारिक उम्मेदवार बनाउने भनेर कोइराला समूहका नेताहरू निरन्तर छलफलमा छन् । संसदीय दलमा कोइराला र थापा दुवैले दाबी गर्दा सो समूहका अधिकांश नेता कसलाई उम्मेदवार बनाउने भनेर खुल्न सकेका छैनन् ।

सभापति देउवा आफ्नो समूहबाट सर्वसम्मत दलको नेताको उम्मेदवार बनिसक्दा कोइराला समूहका नेताहरूले भने सोमबार दिनभर छलफल गरेपनि देउवाविरुद्व कसलाई उम्मेदवार बनाउने भनेर निर्णय लिन सकेका छैनन । नेता कोइराला र थापाले एक्ला–एक्लै र संयुक्तरुपमा समेत समूहका नेता र सांसदहरूसँग छलफल गरिरहेका छन् ।

सहमहामन्त्री जीवन परियारले सोमबार दिनभर भएका छलफलमा आफूहरूले संस्थापन इत्तर पक्षको एकतामा जोड दिएको बताए । ‘आज विभिन्न चरणमा छलफल भयो । हामीले उहाँहरू दुवै जनाका कुरा सुनेपछि आफ्ना सुझावहरू राख्यौँ,’ सहमहामन्त्री परियारले भने, ‘रातभरिको समय छ, तपाईंहरू छलफल गर्नुहोस्, मिलेर अगाडि आउनुस्, दुईमध्ये एक जना उम्मेदवार बन्दा टिमको लागि सबैभन्दा राम्रो हुन्छ भनेका छौँ, सबै नेताहरूले यो वा त्यो नभनेर मिलेर जानुपर्छ, एकल उम्मेदवार उठाउनुपर्छ भन्ने धारणा राख्नुभएको छ ।’

उनले अहिले टिमको हिसाबले दुई जना नै उम्मेदवार हुने कुरा नसोचेको र मंगलबारसम्म सहमति हुने समेत दाबी गरे । उम्मेदवार चयन गर्न कोइराला समूहका नेताहरू मंगलबार बिहान ८ बजे पुनः छलफलमा बस्दैछन् ।

टिमबाट एक जनामात्रै उम्मेदवार बन्ने विषयमा नेता कोइराला र महामन्त्री थापाबीच सोमबार बिहान पनि संवाद भएको थियो । उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । ‘यो कार्यकर्ताले भोट हाल्ने चुनाव पनि होइन, गणितीय हिसावले हामी त्यसैपनि कमजोर छौँ,’ कोइरालानिकट एक नेताले भने, ‘हार्ने चुनावमा जो लडेपनि कुरा उही हो, त्यसैले अहिले समुहको नेताको हिसाबले शेखरजीलाई नै अघि बढाऔँ भन्ने हाम्रो जोड हो, गगनजीले त्यो स्वीकार गर्नुभएको छैन ।’

थापानिकट अर्का नेताले भने अब थापा उम्मेदवारीबाट पछि हट्ने सम्भावना नरहेको बताए । ‘उहाँले चुनाव अगावै जोखिम मोलेरै त्यो विषयमा घोषणा गर्नुभएको हो । अब यो वा त्यो बाहनामा पछि हट्ने सम्भावना छैन,’ ती नेताले भने, ‘टिमको नेता शेखर दाइ नै हो, तर संसदीय दलमा गगनजीको दाबी देउवाका अगाडि अर्थपूर्ण र बलियो हुन्छ भनेका हौँ, त्यसबारे छलफल भइरहेको छ ।’

ती नेताका अनुसार थापाले कोइरालालाई नै नेताका रुपमा मान्ने र आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नेबारे समेत सहमति दिएका छन् । तर, कोइराला समूहकै नेताहरू भने अहिले थापाले संसदीय दलको चुनाव लडे त्यसपछि उनी नै शक्तिकेन्द्रको रुपमा स्थापित हुने त्रासमा देखिन्छन् ।

उपसभापति धनराज गुरुङ र उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले सोमबार कोइराला र थापालाई मिलाएर उम्मेदवार बनाउने विषयमा छलफल बोलाएका थिए । सो छलफलमा सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल लगायत सहभागी थिए ।

उनीहरूको छलफलपछि त्यही बैठकमा नेता कोइराला र महामन्त्री थापा पनि थपिए । त्यसक्रममा कोइराला र थापाले आ–आफ्ना कुराहरू राखेका थिए । तर, बैठकले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा ठोस् निर्णय भने लिएन । नेताहरूले कोइराला र थापालाई मिलेर आउन दबाबपूर्ण सुझाव दिएका छन् ।

कसको पक्षमा कति सांसद् ?

कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रष्ट बहुमत देखिन्छ । तर, इत्तर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् । संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।

प्रतिनिधिसभामा सदस्य बनेकामध्ये रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा मतदान गरेनन् । यसपटक आफैँलाई संसदीय दलको नेता बनाउन सभापति देउवालाई प्रस्ताव गरेका नेता पौडेलले दलको नेताको चुनावमा आफु उम्मेदवार बन्ने वा नबन्नेबारे प्रष्ट छैनन् । उनी उम्मेदवार नभए मतदान गर्ने वा नगर्ने समेत निश्चित छैन । नेताहरू भने उनले यसपटक सभापति देउवालाई सहयोग गर्ने दाबी गर्छन् ।

पूर्वमहामन्त्री शशांक कोइरालाले आफ्नै दाजु शेखर कोइराला उम्मेदवार भए उनलाई सघाउन सक्ने, नभए सभापति देउवालाई नै मतदान गर्ने स्पष्ट गरिसकेका छन् । अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा भने देउवालाई नै मतदान गरेका थिए । ०७४ मा संसदीय दलको नेतामा देउवासँगै चुनाव लडेका उनी यसपटक के गर्छन् ? प्रष्ट भइसकेको छैन । कोइराला र सिंहसँग नजिक रहेका सांसदहरू सन्तोष चालिसे, राजेन्द्रकुमार केसी र दीपक खड्काको भूमिका समेत प्रष्ट छैन ।

यसबाहेक ५० सांसद देउवाको पक्षमा प्रष्ट खुलेका र महाधिवेशनमा उनकै समूहबाट निर्वाचित भएका नेताहरू छन् । कोइराला समूहबाट ३२ जना सांसद् छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर भने गोप्य मतदानको कुरा भएकाले अहिले कुन सांसदले कसलाई मतदान गर्छन् भनेर अन्दाज गर्न नसकिने बताउँछन् । ‘यो दलको नेता चयन गर्ने चुनाव हो । यहाँ सांसदहरू उम्मेदवार बन्न सक्छन्, र मतदाता पनि उनीहरू मात्रै हुन्,’ उनले भने, ‘महाधिवेशनको हिसावले सभापतिजीको पक्षमा राम्रो बहुमत देखिन्छ । तर, गोप्य मतदानको कुरा हो, सबैले यसै गर्छन् भनेर अनुमान लगाउनु गलत पनि हुनसक्छ ।’ निर्वाचन समितिले उम्मेदवारको मनोनयका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकेको छ भने बुधबार विहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ ।

को कसको पक्षमा ?

प्रस्ट नखुलेका : ७

रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दीपक खड्का,प्रदीप पौडेल

संस्थापन पक्ष : ५०

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, किशोरसिंह राठौर, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, अञ्जनी श्रेष्ठ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन

कोइराला- थापा समूह : ३२

शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल र विश्वप्रकाश शर्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *