समाचार

‘मित छोरा’ले करोडको जग्गा झ्वाम बनाएपछि हारगुहार, पीडितलाई झुक्याएर श्रीमतीको नाममा पास

Advertisements
MAHABAI RURAL MUNICIPALITY

विराटनगर महानगरपालिका- १२ स्थित रानीसिंचाइका ६४ वर्षीय लखनलाल मण्डल धानुकको झण्डै एक करोड पर्ने १७ धुर जग्गा उनलाई झुक्याएर अर्कै व्यक्तिको नाममा पास गरिएको पाइएको छ । विराटनगर महानगरको न्यायिक समितिमा परेको निवेदनका आधारमा छानबिन गर्दा यस्तो फेला परेको हो । न्यायिक समितिले यो विषय ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालय मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।

सहकारी संस्थामा धितो राखेको ११ (क) ५४५ कित्ता नम्बर रहेको १७ धुर जग्गा मण्डललाई थाइ नदिकनै नातामा उनकै मित छोरा पर्ने राजु शर्मा घतानीले आफ्नी श्रीमती सिर्जना खातीको नाममा पास गरेका हुन् ।

विराटनगर १३ घर भएका घतानीले श्रीमती खातीको नाममा २०७६ माघ १९ गते पास भएको न्यायिक समितिले घटना विवरणमा उल्लेख गरेको छ । मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थाबाट मण्डललाई ६८ हजार रुपैयाँ कर्जा मिलाइका थिए ।

सहकारीका प्रबन्धसमेत रहेका मित छोरा घतानीले ऋण दिँदा सोही जग्गा सहकारीमा धितो बुझेका थिए । ६८ हजारको सावा र ब्याज गरी मण्डलले विभिन्न मितिमा ६ लाख रुपैयाँ राजुलाई बुझाएका छन् । तर,मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा समेत नगरेको पाइएको छ । ‘ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा मेरो नाममा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गयो । उसले जे– जे भन्यो त्यही अनुसार मैले सही र ल्याप्चे पनि लगाइदिएँ । लेखपढ राम्रो सँग गर्न आउँदैन । त्यसैको फाइदा उठाउँदै राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरिदिएछ,’ मण्डलले सुनाए ।

मण्डललको घरदेखि राजुको तीन सय मिटर दक्षिण घर पर्दछ । उनीहरूको घरमा आवतजावत नियमित जस्तै हुने गर्थ्यो । राजुले मण्डललाई मित बाबु भन्ने गरेका थिए । मण्डलको जेठा छोराको नाम पनि राजु हो । त्यही भएर मण्डललाई मित बाबु भनेर सम्बोधन गर्थे । राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा भएको जग्गा उनले थाई नपाइ श्रीमतीको नाममा पास गरिदिए । विराटनगर १२ मा मण्डलको जग्गा भएको ठाउँमा प्रतिधुरको ६ लाखले कारोबार हुने गरेको छ ।

राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरेकै दिनमा २८ लाख रुपैयाँमा १७ धुर जग्गा किनेको देखाउन मण्डलको नाममा नबिल बैंकमा खाता पनि खोलिदिएको खुलेको छ । सन् २०२० फेब्रुअरी ३ तारिखमा लखनलाल मण्डलको नाममा नबिल बैंकमा खाता खोलेको देखिएको हो । उक्त खाता खोलेको दिन जग्गा किनेको देखाउन सिर्जना खातीले २८ लाख रुपैयाँजम्मा गरेकी छिन् ।

‘जम्मा गरिएको दिन आरती चौधरीको नाममा ७ लाख,६ लाख र ७१ हजार ५ सय रुपैयाँ चेक काटेर झिकेको बैंक स्टेटमेन्टमा देखिन्छ । खाता खोलेको दिन १३ लाख ७१ हजार ५ सय रुपैयाँ झिकेका छन्,’ न्यायिक समितिले गरेको सिफारिस फैसलामा उल्लेख छ ।

खाता खोलेको दोस्रो दिन २०२० फेब्रुअरी ४ गते लखनलाल मण्डल नाममा ७ लाखको चेक बेन्जु तम्रकारले भजाएको देखिएको छ । सोही दिन अर्को ७ लाखको चेक लखनलाल मण्डलकै नाममा काटेर पीन्टु कुमार ठाकुरको नाममा साटेको बैंक स्टेटमेन्टमा देखिन्छ । मण्डलको खाताबाट झिकेको रकम राजु र सिर्जनाले दिएको खुलेको छ ।

अहिले मण्डलको खातामा १७ हजार २ सय ४८ रुपैयाँ मौज्दात देखिन्छ । पैसा झिक्नेहरू सिर्जना र राजु आबद्ध भएका सहकारीका कर्मचारीहरू हुन् । उनीहरूले बयानको क्रममा उक्त रकम राजु र सिर्जनाले चेक काटेर दिएको बताएका छन् ।

‘जग्गा आफ्नो नाममा आउने भनेपछि राजु र सिर्जनाले भने अनुसार बैंकमा गयौं । त्यहाँ पनि मालपोतमा जसरी कागजपत्रमा सही गर्न लगाए । उनीहरूले भनेअनुसार गर्दै गएँ । अहिले आएर थाहा पाएँ २८ लाखमा जग्गा बचेको भनेर,’ भावुक हुँदै मण्डलले भने, ‘मैले २८ लाख देख्नै पाएको छैन । कहाँबाट मैले दुःख गरेर आर्जेको जग्गा बेच्छु । जग्गाको नाममा त्यही एक टुक्रा छ । जस्तापाताको छानो हालेर सोही जग्गामा हामी ९ जनाको परिवार ओत लागेर बसेका छौं । त्यो जग्गा बेचेर हामी कहाँ बस्नु ?’ जालझेल गरेर मण्डलको नामको जग्गा आफ्नो श्रीमतीको नाममा पास गरेका राजुको भने २०७८ पुसमा मृत्यु भएको छ ।

जालजेल गरेर आफ्नो नाममा भएको जग्गा अर्कै व्यक्तिको नाममा परेपछि लखनलाल मण्डलले न्यायको लागि हारगुहार गरेका छन् । मण्डल आफ्नो नाममा जग्गा फिर्ता ल्याउन दैनिक जसो विराटनगर महानगरपालिकाको न्यायिक इजाजतमा पुग्ने गरेका छन् ।

उनले जालझेल गरेर मण्डलको नामको जग्गा आफ्नो नाममा ल्याउने सिर्जना खाती र विराटनगर १२ मा रहेको नेपाल सहकारी संस्थाको तर्फबाट अख्तियार प्राप्त संस्थाका सचिव ४० वर्षीय निर्मल कुमार दाहाललाई प्रतिवादी बनाएर समितिमा निवेदन हालेका हुन् । ‘जालझेल गरेर म जस्तो लेखपढ गर्न नजान्ने मान्छेलाई फसाए । ९ जनाको परिवार ओत लागेको जग्गा जसरी पनि आफ्नो नाममा ल्याउन पहल गरिदिनुहोस्,’ मंगलबार दिउँसो न्यायिक समितिको इजालसमा मण्डलले भने ।

विराटनगर महानगरपालिकाको न्यायिक समितिले लखनलाल मण्डल ठगीमा परेकोले मोरङ प्रहरीलाई काम कारबाही अगाडि बढाउन पत्रचार गरेको छ । न्यायिक समितिको प्रमुख विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की,सदस्यहरू रुपा पाण्डे देउवा र तिथेन्द्र न्यौपानेको इजलाशले सोमबार यस्तो आदेश गरेको हो ।

‘…विपक्षी सिर्जना खाती समेतले आफ्नो पति राजु शर्मा घतानीसँग मिली एक सिधा साधा गरिब र वृद्ध व्यक्तिलाई विश्वासमा पारेको देखियो । अब कानुनी रुपमा हेर्दा कुनै पनि व्यक्तिलाई फकाई झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी गर्न बाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानी पूर्वक कुनै किसिमको हानी नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा कसैको लागि लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ भनी मूलकी अपराध संहिता २०७४ को दफा २,४,९ को उपदफा (२) को (१)मा उल्लेख गरेको देखिन्छ । निज प्रतिवादी समेत मिली माथि उल्लेखित गरिएको परिभाषामा नै एक सिधा इमानदार,व्यक्ति वादीलाई उपरोक्त परिभाषा भित्रकै कार्य गरी वादीले ६८ हजार कर्जा लिएकोमा सिर्जना खातीको नाममा पास गरी २८ लाख नविल बैंकमा जम्मा गरी निज वादीको नामको खाली चेकमा निजलाई फकाई,झुक्याई सही गराई उक्त चेक प्रतिवादी समेतले आफ्नो नियन्त्रणमा लिई वादीको नामको चेकबाट नै प्रतिवादी समेत भई आफूले खाएको ऋण चुक्ता गर्न उल्लेखित कार्य गरेको नविल बैंकको स्टेटमेन्ट र वेन्जू ताम्राकार पिन्टु कूमार ठाकूरले यस न्यायिक समितिमा आई गरेको बकपत्र समेतवाट पुष्टी हुन आयो,’ आदेशको तथ्य खण्डमा भनिएको छ, ‘ठगी मुद्दा न्यायीक समितिको क्षेत्रअधिकार भित्र नपर्ने हुँदा उक्त मुद्दा चलाउने क्षेत्राधिकार मोरङ प्रहरीलाई छ । मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को ठगी आपराधिक लाभ कसुरको दफा २४९ को सृजना खाती समेतलाई पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाउनुहुन जिल्ला प्रहरी कार्यालय मोरङलाई सक्कल मिसिल पठाइदिनु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *