विचार

नेपाल खुला विश्वविद्यालय एक वर्षदेखि डीनविहीन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

काठमाडौं –नेपाल खुला विश्वविद्यालयमा करिब एक वर्षदेखि डीन नियुक्त हुन सकेका छैनन् ।

दलीय भागबन्डाको कारण विश्वविद्यालयले डीन पाउन नसकेको हो । देशको कुनै पनि स्थानमा कुनै पेसा-व्यवसाय गर्दै उच्च शिक्षा हासिल गर्न चाहनेका लागि २०७३ सालमा स्थापित विश्वविद्यालयलाई दलीय राजनीतिले लथालिंग बनाएको छ ।

खुला विश्वविद्यालयको दुई वटा संकाय १५ महिना र एउटा संकाय एक वर्षदेखि डीनविहीन रहेको छ ।

प्रा.डा. शिलु मानन्धरको कार्यकाल पूरा भएपछि २०७८ भदौदेखि व्यवस्थापन तथा कानून संकाय, प्रा.डा. रामचन्द्र पौडेलको कार्यकाल सकिएपछि २०७८ भदौदेखि नै समाजशास्त्र तथा शिक्षा डीनविहीन भएको हो ।

प्रा.डा. इन्ऽबहादुर कार्कीको कार्यकाल पूरा भएपछि २०७८ पुस यता विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय पनि डीनविहीन बनेको हो । यति लामो समयसम्म विश्वविद्यालय नै डीनविहीन बन्नुमा दलीय भागबन्डा मुख्य कारण देखिएको छ ।

प्रा.डा.विद्यानाथ कोइराला दलीय भागबन्डा बाहेक कुनै कारण नभएको जिकिर गर्छन् । उनी भन्छन्, ‘यसमा अरु कुनै कारण नै छैन । कुलपति र रजिष्टार वाम छन् उपकुलपति काङ । उनीहरुले आ-आफ्नो मान्छे नियुक्त गर्ने अडान लिँदा समस्या भएको हो ।’

खुला विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कुलपति हुने व्यवस्था छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल र रजिष्टार डा.गोविन्दसिंह विष्टले माओवादी र उपकुलपति प्रा.डा.शिलु मानन्धरले काँग्रेसी डीन नियुक्त गर्न खोज्दा समस्या भएको उनको बुझाइ छ ।

लामो समय किन डीन नियुक्त गर्न सकिएन भन्ने विषयमा उपकुलपति प्रा.डा.शिलु मानन्धरले भने कारण खुलाउन चाहिनन् तर डीन नियुक्तिका लागि सक्दो प्रयास गरिरहेको बताइन् । उनले भनिन्, ‘किन भएन भन्नु भन्दा पनि मैले प्रयास गरिरहेकी छु । सम्भवत यो हप्ताभित्र नियुक्ति गर्छौं होला ।’ आफैं जिम्मेवार पदमा भएकोले अरुलाई दोष दिन नसक्ने बताइन् ।

सामाजिक विज्ञान तथा शिक्षाका पूर्व डीन प्रा.रामचन्द्र पौडेल डीन नियुक्ति नगरेर पदाधिकारीले विश्वविद्यालय, विद्यार्थी माथि अन्याय गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘यत्ति लामो समयसम्म डीन नियुक्त गर्न नसक्नु पदाधिकारीको लाचारीपन हो । डीन नै नियुक्ति नगरेर विश्वविद्यालय, विद्यार्थीमाथि अन्याय गरिरहनुभएको छ ।’

नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ अनुसार कार्यकारी परिषद्ले डीन नियुक्त गर्नुपर्छ । तर, कार्यकारी परिषद् -उपकुलपति, रजिष्टार, सभाका महिला सदस्यहरूबाट एक जना, शिक्षकहरूमध्येबाट एक जना र उपकुलपतिले तोकेको डीन एक जना हुनुपर्नेछ) उपकुलपति र रजिष्टार फरक दलका भएकैले समस्या भइरहेको सरोकारवालाहरुको बुझाइ छ ।

रजिष्टार डा.बिष्ट डीन नियुक्तिमा ढिलाइ भइरहेको स्वीकार गरेपनि कारण भने खुलाउन चाहेनन् । उनले भने, ‘हो अहिलेसम्म नियुक्त गर्न सकिएको छैन । अब हुन्छ होला ।’ डीन नियुक्त गर्न किन सकिएन भन्ने प्रश्नमा उनले आफु कार्यक्रममा भएकोले यसको जवाफ दिन नसक्ने बताए ।

डीन नहुँदा विषय समिति, संकाय अनुसन्धान समितिहरु समेत निष्किृय भएको एक प्राध्यापक बताउँछन् । तर उपकुलपति प्रा.डा.मानन्धर भने पुरानै समितिले काम गरिरहेको दाबी गरिन् । उनले भनिन्, ‘अर्को व्यवस्था नभएसम्म भनेर गठन गरिएको समितिहरु भएकोले त्यहि समिति सक्रिय छ ।’

समाजशास्त्र तथा शिक्षा प्रा.डा. इन्ऽबहादुर कार्की डीन नियुक्त नहुनुको मुख्य कारण नै राजनीतिक भागबन्डा भएको बुझेको बताउँछन् । ‘मैले बुझेको, सुनेको भनेको राजनीतिक भागबन्डा नै डीन नियुक्तिको बाधक हो । त्योभन्दा अर्को कारण होइन पनि होला,’ उनले भने ।

राजनीतिले विश्वविद्यालय गाँजेकोले समाधान कहिले निस्किन्छ भन्न सकिने अवस्था नभएको उनी बताउँछन् ।

विश्वविद्यालयमा अहिले ४ चना कर्मचारी र २१ जना शिक्षकहरु करारमा छन् । पदपूर्ति समितिले राजनीतिक पहुँचको आधारमा करारमा नियुक्त गर्‍यो । अहिले ती शिक्षकहरुले स्थायी हुनुपर्ने माग गरिरहेका छन् तर पदपूर्ति समितिले स्थायी गर्न सक्ने अवस्था छैन ।

प्रा.डा.लेखनाथ शर्मा उपकुलपति हुँदा बाम बिचारका शिक्षकहरु नियुक्त भएका छन् । त्यसैले कुलपति, रजिष्ट्रार र कार्यकारी परिषद्का अधिकांश सदस्यले त्यहीँ भित्रकालाई डीन नियुक्त गर्न जोड गरेको तर उपकुलपति नमान्दा समस्या भइरहेको देखिन्छ ।

कार्यकारी परिषद्की सदस्य प्रा.डा.सुधा त्रिपाठी त्यहीँ भित्रकालाई डीन बनाउने र बाहिरबाट ल्याउने भन्ने विषयमा एकमत नदेखिएकोले समस्या भइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यहीँभित्रको योग्य व्यक्तिहरुलाई बनाउ“m भन्ने हाम्रो जोड हो, अर्को थरी बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरा नमिल्दा ढिलाइ भइरहेको हो |उनको भनाइ अनुसार उपकुलपति प्रा.डा.मानन्धरले बाहिरबाट ल्याउनुपर्ने अडान लिएकोले अझै समय लाग्ने सम्भावना छ ।

२०७८ जेठमा उपकुलपति प्रा.डा.लेखनाथ शर्मा र रजिष्टार सहप्राध्यापक कमल ढकाल कार्यकाल पूरा गरेर बिदा भएको ८ महिनापछि पुसमा डा.गोविन्दसिंह विष्ट रजिष्टार र नौ महिनापछि माघमा प्रा.डा.शिलु मानन्धर बज्राचार्य उपकुलपतिमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *