खेलकुद

मोरक्कोका हँसिला गोलकिपर यासिन बोनो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं विश्वकप–२०२२ अफ्रिकी राष्ट्र मोरक्कोको लागि एक स्वर्णीम यात्रा हो । बेल्जियम, स्पेन, पोर्चुगलजस्ता महाशक्ति टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्दै सेमिफाइनलसम्मको बाटोमा मोरक्कोका लागि गोलकिपर यासिन बोनो ‘नायक’ हुन् ।

अफ्रिकी तथा अरबी देशमध्ये मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो ।

एटलस लायन्सको रुपमा परिचित यो टिमले विश्वकपमा यति लामो र आश्चर्यजनक यात्रा तय गर्नुमा गोलकिपर बोनोको भूमिका अतुलनीय छ । विश्वकपमा अहिलेसम्मका पाँच खेलमा बोनोले १ गोल मात्र खाएका छन् । त्यो पनि आफ्नै डिफेण्डरले आत्मघाती गोल गरेका थिए ।

मोरक्कोको रक्षापंक्तिलाई पनि कमजोर आँक्न मिल्दैन । विपक्षी खेलाडीको ध्यान भने डिफेन्डर भन्दा पनि गोलपोष्टमा रहेका बलिया खम्बा बोनोमा हुने गरेको छ ।

बोनो एक शान्त स्वभावका व्याक्ति हुन् । मैदानमा सबै तनावले खेलिरहेका हुन्छन्, भने उनी मुस्कुराउँदै पोष्टको जिम्मेवारीमा खरो उत्रिरहेका छन् ।

अन्तिम १६ को खेलमा स्पेनसँगको खेल पेनाल्टी सुटआउटमा गयो । सबै जना अत्तिएका र डरमा थिए । उनी भने हाँस्दै पेनाल्टी बचाइरहेका थिए । ३१ वर्षीय बोनोको पेनाल्टीका बेला मुस्कुराउँदै गरेको तस्वीरले सामाजिक सञ्जालदेखि सन्चारमाध्यममा अत्यधिक स्थान पायो ।

अन्तिम १६ को खेलमा स्पेनका खेलाडीको होस उडाउने खालको थियो बोनोको हाँसो र कलात्मक गोलरक्षण शैली । उनको यही कलात्मक हाँसोले पोर्चुगल र स्पेनलाई निराशा दिएको थियो ।

‘उनी मुस्कुराएनन् भने समस्या हो,’ मोरोक्कोका पूर्व गोलकिपिङ प्रशिक्षक क्रिस्टोफ रेवेलले रेडियो फ्रान्स इन्टरनेशनलसँग भने ।

अन्तरर्वाताको क्रममा पनि उनले निकै सम्हालिएर उत्तर दिन्छन् । उनी यदि फुटबलर नभएको भए शैक्षिक क्षेत्रमा आवद्ध हुन्थे होलान् भन्न सकिन्छ ।

बोनोको जन्म क्यानडामा भएको हो । तीन बर्षको उमेरमा मोरक्को आएका थिए । मध्यम वर्गीय परिवारमा हुर्किएका बोनोको पढाई मोरक्कोको उत्कृष्ट मध्ये एक फ्रेन्च विद्यालयमा भएको थियो ।

उनको व्यवहारमा अंहकार अथवा घमन्ड कहिल्यै देखिएन । उनको शान्त स्वभावले गर्दा उनी जस्तो सुकै तनावको स्थितिमा पनि मुस्कुराउन सक्छन् ।

८ वर्षको उमेरमा मोरक्कोको सबैभन्दा सफल क्लब वाइदाद एथलेटिकमा भर्ना भएपछि उनको फुटबल सिकाइको यात्रा सुरु भएको हो । यद्यपी उनले व्यवसायिक डेब्यूका लागि लामो प्रतीक्षा गर्नुपरेको थियो ।

२०११ मा पहिलो पटक अफ्रिकी च्याम्पियन्स लिगको दोस्रो लेगमा ट्यसनिसियन महारथी क्लब एस्पेरेन्स स्र्पोटिभविरुद्ध वाइदादका लागि डेब्यू गरे ।

‘मेरो लागि पहिलो खेल खेल्नु सहज थिएन । मलाई त्यो बेला लागेको थियो यदि यो खेल बिग्रियो भने मेरो करिअर अर्कैतिर जान्छ । राम्रो खेल्दा अर्कै तिर जान्छ भन्ने मलाई थाहा थियो ।’ उनले मोरक्कोन टिभी एम ट्वान्टीफोरलाई दिएको अन्तरवार्तामा भनेका छन् ।

आफ्नो पहिलो व्यवसायिक खेलमा उनले केहि उत्कृष्ट बचाउ गरे । यद्यपी उनको टिम पराजित रह्यो । नतिजा खराब आए पनि उनलाई त्यो खेलले राम्रो एक्सपोजर मिल्यो । उनलाई एट्लेटिको म्यड्रिडबाट खेल्ने प्रस्ताव आयो । उनलाई म्याड्रिडमा र वाइदादमा भन्दा पनि कम तलबको प्रस्ताव गरियो । उनले कमाइभन्दा पनि एक्सपोजर पाउने आशाले सो प्रस्ताव स्वीकार गरेका थिए ।

एटल्टिकोबाट लोनमा दोस्रो डिभिजनको क्लब रियल जारागोजाबाट खेले । त्यहाँ आफूलाई प्रमाणित गरेपछि उनी जिरोना एफसीमा अनुबन्धित भए । उनीसहितको उत्कृष्ट प्रदर्शनले जिरोना ला लिगामा बढुवा भएपछि उनको दोस्रो डिभिजनको खेलबाट मुक्ति पाए । त्यसपछि उनको यात्रा ला लिगाको स्थापित क्लब सेभियाबाट सुरु भयो ।

२०२१–२२ को ला लिगा सिजनको तथ्यांक हेर्ने हो भने उनको प्रदर्शन शानदार छ । बोनोले ७८ प्रतिशत प्रहार बचाउ गरेका छन् । जुन युरोपियन लिगमा उत्कृष्ट छैटौंमा पर्छ । २०२१ मा युरोपका सबै गोलकिपरलाई पछि पार्दै आफूले खेलेका ५९ मध्ये ३२ खेल क्लिनसिट राखेका छन् ।

‘उनी एक शीर्ष स्तरका गोलरक्षक हुन्,’ पूर्व प्रशिक्षक रेवेल भन्छन्, ‘उनी वान भर्सेस वानको अवस्थामा पनि निकै सुन्दर बचाउ गर्न सक्छन् । उडेर आएको बल रोक्ने कला पनि उनको उत्कृष्ट छ । उनी यदि इङ्ल्यान्ड् तथा बेल्जियमका किपर भएका भए, एक स्टार खेलाडीको रुपमा अगाडि आइसकेका हुन्थे । विश्वको कम मानिसहरुले हेर्ने र पछ्याउने देशका खेलाडी भएका कारण उनको चर्चा कम भएको हो ।’

मैदान बाहिर पनि उनी निकै शान्त स्वभावमा बसेर रमाउने मानिस हुन् । सेभियामा उनी अन्य दुई मोरक्कोन खेलाडी यूसुफ एन–नेसरी र मुनिरको ठूलो दाईको भूमिकामा रहन्छन् । पूर्व खेलाडीहरुसँग पनि उनको सम्बन्ध सुुमधुर छ । टिमका खेलाडीसँग निकै राम्रो सम्बन्ध बनाउँछन् । पोर्चुगललाई पराजित गर्दै सेमिफाइनल पुगेका बेला उनले म्यान अफ द म्याचको अर्वाड एन–नेसरीमा समर्पित गरेका थिए ।

उनी आफू सार्वजनिक व्याक्ति भएका कारण कहाँ कसरी व्यवहार गर्ने भन्ने कुरा खुब ख्याल राख्छन् ।

उनले एम ट्वान्टीफोर टिभीको अन्तरर्वातामा भने, ‘हामीले राम्रो खेल्नु हाम्रो जिम्मेवारी हो । त्यति मात्रै होइन हामीले अन्तर्राष्ट्रिय स्तरमा मोरक्कोको प्रतिनिधित्व गरिरहेको कुरालाई पनि ध्यानमा राख्नुपर्छ । हामी त्यसरी नै काम गरिरहेका हुन्छौं ।’

मोरक्को २०२२ को विश्वकपमा यति अघि आउनुको मुख्य कारणको रुपमा बोनोको बचाउ क्षमता रहेको धेरैको एकमत छ । मोरक्कोका प्रमुख प्रशिक्षक वालिद रोग्रुगाइ पनि तीमध्ये पर्छन् । ‘बोनोजस्ता गोलकिपर टिममा छन् भन्ने थाहा भएपछि आत्मविश्वास आफैं बढ्छ । उनी विश्वको उत्कृष्ट हुन्,’ रेग्रागुईले एक पत्रकार सम्मेलनमा भनेका छन् ।

मोरक्कोले फ्रान्ससँगको सेमिफाइनलका लागि बोनोको प्रयोगमा कमी ल्याउने छैन । प्रशिक्षक रेग्रागुईले उनको टिममा भएको रक्षात्मक क्षमता र बोनोको मद्दतले साविक विजेतालाई रोक्ने कोशिस गर्नेछन् ।

बोनो फ्रान्सका लागि पनि निकै घातक हुनसक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *