सिरहामा महिला हत्याका दुई आरोपी पक्राउ

सिरहा — घाँस काट्न जंगल गएकी सिरहा मिर्चैया नगरपालिका–२ पीडारी टोलकी २६ वर्षीया लक्ष्मीनिया देवी कापरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–२ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र मिर्चैया नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक छन् ।

उनीहरुलाई सिरहा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मिर्चैया नजिकै अरहिया सामुदायिक वनमा मंगलबार अपराह्न लक्ष्मीनियाको घाँटी र पेटमा खुकुरीले प्रहार गरी हत्या गरिएको थियो । हत्यापछि युवक फरार थिए । घटनाको १२ घण्टाभित्र प्रहरीले फरार दुवै युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले घाँस काट्न मृतक लक्ष्मीनियासँगै गएकी अर्की महिलाले लक्ष्मीनियालाई युवाहरुले लछारपछार गर्न थालेपछि जंगलमा लुकेर गाउँमा हत्याको खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरेको खुकुरी बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *