शिशुलाई गाईवस्तुको दूध खुवाउनै हुन्न, आमाको दूध अमूल्य उपहार

गाईवस्तुको दूध, फर्मुला मिल्क, ह्युमन मिल्क बैंकलगायतले शिशुको शारीरिक विकासका लागि जरुरी पोषक तत्व पुग्दैन ।

आधुनिक महिलाहरु शिशुलाई आफ्नो दूध खुवाउन त्यति रुचि गर्दैनन् । त्यसैले स्तनपानको विकल्प खोज्छन् । यसलाई सहज बनाइदिएको छ, फर्मुला मिल्कले । बजारमा पाइने फर्मुला मिल्क नै आफ्नो शिशुको भोक मेट्छन् ।

कतिपयले गाईवस्तुको दूध पनि खुवाउने गरेका छन् । तर आमाको दूध बराबर अरु केही छैन । आमाको दूध शिशुको लागि अमूल्य उपहार हो । यसको कुनै विकल्प छैन ।

हरेक शिशु र आमाको प्रकृति फरक-फरक हुन्छ । कुनै पनि शिशुको लागि आफ्नै आमाको दूध खास हुन्छ । किनभने शिशुको शारीरिक एवं मानसिक आवश्यकता अनुसार आमाको दूध आउने गर्छ । यसले शिशुको भोक-प्यास मात्र मेट्दैन, उसको शारीरिक एवं मानसिक विकासका लागि सम्पूर्ण पोषण पनि प्रदान गर्छ ।

त्यसैले एक आमाको दूध पनि अर्को शिशुका लागि त्यति उपयुक्त हुँदैन । एउटा आमाको दूधमा जुन पोषक तत्व हुन्छ, ठ्याक्कै त्यही पोषक तत्व अर्को शिशुमा हुँदैन । यसर्थ आफ्ना शिशुलाई आमाले नै स्तनपान गराउनुपर्छ । अरु कुनै पनि खाद्य तत्वले शिशुलाई जरुरी दूधको पूर्ति गर्दैन ।

 

फर्मुला मिल्कले शिशुको एन्टीबडीमा योगदान दिंदैन

सम्भव भएसम्म दुई वर्षसम्म आफ्नो शिशुलाई नियमित आमाले नै स्तनपान गराउनुपर्छ । तर कतिपय अवस्थामा आमाको दूध नआउन सक्छ । स्तनपान गराउन कठिन हुनसक्छ । स्तन क्यान्सर भएको स्थितिमा, दूध नै नआएको स्थितिमा के गर्ने त ?

आमाको दूधबाट शिशुलाई चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त हुन्छ । यसमा आमाको स्वास्थ्य अवस्थाले भने फरक पार्न सक्छ । आमा स्वस्थ छिन्, पर्याप्त आराम पाएकी छन्, शान्त छिन् र खानपान राम्रो छ भने दूधमा सम्पूर्ण पोषण प्राप्त हुन्छ ।

सैको विकल्पमा मात्र फर्मुला मिल्क बनाइएको हो । आमाको दूधमा पाइने पोषक तत्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ । यसले शिशुलाई पोषण त दिन्छ । आफ्नै आमाको दूधले जस्तो एन्टीबडी बनाउनमा योगदान दिंदैन ।

फर्मुला मिल्क लिंदा उच्च लिक्विड प्रोटिन भएको लिनुपर्छ । आमाको दूधमा लिक्विड प्रोटिन ७० प्रतिशत हुन्छ, जसले शिशुको शारीरिक विकास गर्न र कब्जियत हुन नदिन भूमिका खेल्छ ।

 

गाईवस्तुको दूध दिन हुँदैन

सम्भव भएसम्म एक वर्षभन्दा कम उमेरको शिशुलाई गाईवस्तुको दूध दिनु हुँदैन । विश्व स्वास्थ्य संगठनले त दुई वर्षसम्म पनि गाईवस्तुको दूध नदिनु भनेको छ । यद्यपि हाम्रो एसियाली मुलुकमा गाईवस्तुको दूध दिंदा बच्चा बलियो हुन्छ भने भ्रम छ ।

वास्तवमा गाईवस्तुको दूध यसकारण नदिनु भनिएको हो कि त्यो गाईवस्तुको बाच्छाको लागि बनेको हो । उक्त दूध मान्छेको शिशुले पचाउन सक्दैन ।

गाईको बाच्छा ५० दिनमा दोब्बर तौलको हुन्छ । जबकि मान्छेको बच्चाको तौल ६ महिनामा मात्र दोब्बर हुन्छ । आमाको दूधमा पाउने प्रोटिनभन्दा तीन गुणा उच्च प्रोटिन, फ्याट गाईको दूधमा पाइन्छ । त्यसैले गाईवस्तुको दूध खुवाउँदा शिशुको पाचन प्रणाली अपरिपक्व भएकाले पचाउन सक्दैन । पछि मिर्गौलामा समस्या हुनसक्छ । प्रोटिन एलर्जी हुनसक्छ ।

जब शिशु दुई वर्षका हुन्छन्, तब अन्य खानासँगै गाईको दूध पनि खुवाउन सकिन्छ ।

 

आमाको दूधमा के पाइन्छ ?

आमाको दूधमा ९० प्रतिशत पानी हुन्छ । त्यसैले ६ महिनासम्मको शिशुलाई पानी नदिनु भनिन्छ । पानीबाहेक प्रोटिन, फ्याट, आमाको एन्टीबडी, खनिज, क्याल्सियम, भिटामिन बी २, भिटामिन ए, डी र ईसहित फस्फोरस, म्याग्नेसियम, आयोडिन तथा धेरै खनिज र बोसो तथा ऊर्जा दूधबाट प्राप्त हुन्छ ।

आमाको नियमित स्तनपान गर्ने शिशुमा सुगरको जोखिम ४० प्रतिशत कम हुने, कानको मध्यकानमा हुने संक्रमण ५० प्रतिशत जोखिम कम हुने, छातीको संक्रमण र चिसो लाग्ने समस्या कम गराउनेदेखि ब्लड क्यान्सरको जोखिम समेत न्यून हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसबाहेक दुईदेखि चार महिनाको शिशु वा एक वर्षभन्दामुनिका उमेरका शिशुमा देखिने आकस्मिक नवजात मृत्यु सिन्ड्रोम (एसआईडीएस)को ३५ प्रतिशत जोखिम कम हुन्छ ।

 

आमाको दूध कुन उमेरसम्म नियमित खुवाउनुपर्छ ?

शिशु जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनुपर्छ । त्यसपछि सकेसम्म दुई वर्षसम्म दूध खुवाउनुपर्छ । दुई वर्षपछि पनि दूध राम्रो आइरहेको खण्डमा दिन सकिए राम्रो मानिन्छ ।

 

कति खेर आमाको दूध दिने ?

शिशुले माग्ने बित्तिकै दूध दिनुपर्छ । उसले रुने, कराउने, नसुत्ने अवस्थामा दूध खुवाउनुपर्छ । त्यो भोक लागेको संकेत हो ।

 

सम्पूर्ण पोषण

आमाको दूधबाट शिशुलाई चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त हुन्छ । यसमा आमाको स्वास्थ्य अवस्थाले भने फरक पार्न सक्छ । आमा स्वस्थ छिन्, पर्याप्त आराम पाएकी छन्, शान्त छिन् र खानपान राम्रो छ भने दूधमा सम्पूर्ण पोषण प्राप्त हुन्छ ।

बच्चा दुई वर्षको पुगुञ्जेलसम्म आमाले पोषणयुक्त खानेकुरा खाएको छैन, सन्तुलित भोजन गरिएको छैन, तनावग्रस्त जीवन बिताइरहेको अवस्थामा भने दूध पूर्ण रुपमा पोषिलो नहुन सक्छ ।

 

स्तनपानको समस्या भएमा

दूध नै नआउने वा निप्पल नै भित्र पसेको कारण बच्चाले स्तनपान नै गर्न सक्दैनन् । त्यसको पनि विकल्प हुन्छ । त्यस्तो अवस्थामा चिकित्सकले पनि कसरी निप्पललाई तान्न मिल्छ भन्ने विधि सिकाउनु हुन्छ ।

उनीहरुले आमाको दूध विभिन्न तरिकाले तानेर बच्चालाई पनि दूध चुसाउन प्रोत्साहन गर्नुपर्छ । बच्चाले नचुस्दा दूध आउँदैन र विस्तारै दूध सुक्दै जाने हुन्छ । त्यसैले निप्पल भित्र छ, कठिन छ भनेर अभ्यास नै नगराउँदा पनि स्तनपानबाट शिशु वञ्चित भएका छन् ।

 

स्तनपान गर्ने आमाको खानपान

चिकित्सक र पोषणविद्हरुले यो खाने र त्यो नखाने भनेर निश्चित केही तोकेका हुँदैनन् । तर समाजअनुसार आ-आफ्नो विश्वास हुन्छ । यो खान हुँदैन, त्यो खान हुँदैन भनेर भन्ने गरिन्छ र त्यो मानिन्छ पनि जसमा कुनै सत्यता नहुन सक्छ । चिसो गराउने खानेकुरा, फ्रिजमा हुने खानेकुरा सिधा खाँदा बच्चालाई पनि चिसो लाग्छ । त्यसैले यी कुरामा ध्यान दिनुपर्छ । खानेकुरा नै केही बार्नुपर्छ भन्ने हुँदैन ।

फलफूलमा भिटामिन, खनिजहरु एक समयमा खानुपर्छ । मेथी, मुसुरोको दाल, ज्वानोको झोल, ड्राइ फ्रुट्स, दूधमा सेवाइ र ड्राइ फ्रुट्स राखेर पनि खाँदा दूध उत्पादनमा मद्दत गर्छ । सुत्केरीले सकेसम्म दिनको पाँच टाइम कार्बोहाइड्रेट, फ्याट, भिटामिन, आइरन, खनिज जस्ता पोषक तत्व सन्तुलित रुपमा मिलाएर खानु राम्रो हुन्छ ।

 

ह्युमन मिल्क बैंक विकल्प मात्र

आमाको दूध खान असम्भव भएको अवस्थालाई मध्यनजर गरेर नै यो ह्युमन मिल्क बैंक ल्याइएको हो । यो आमाको दूध नै भण्डारण गरिएको हुन्छ । अरु आमाको दूध स्वीकार्छ स्वीकार्दैन त्यो बच्चामा पनि भर पर्छ । हरेक आमा र सन्तानको प्रकृति र आवश्यक फरक-फरक भए पनि आफ्नो आमाको दूध खान नपाउने अवस्थामा भन्दा अन्य आमाको दूधबाट पूर्ति गर्न सक्नु एउटा राम्रै उपाय हो । ह्युमन मिल्क बैंकको दूध खुवाउँदा भने आमासँगको आत्मीयतामा कमी आउँछ ।

 

स्तनपान गराउँदा आमालाई पनि लाभ

धेरैले नबुझेको कुरा के भने स्तनपान गराउँदा आमालाई फाइदा हुन्छ भन्ने । जबकि यसले आमालाई पनि उत्तिकै फाइदा गर्छ । पहिलो त शिशुसँग बलियो सम्बन्ध स्थापित गराउन मद्दत गर्छ । त्यस्तै, स्तनपान गराउँदा आमाको तौल कम हुँदै जान्छ ।

अध्ययनहरुले पाठेघर र स्तन क्यान्सरको जोखिम स्तनपान नगराउनेको भन्दा निकै कम हुन्छ । बच्चालाई दैनिक दूध खुवाइरहेको छ भने त्यसले प्राकृतिक गर्भनिरोधकको काम समेत गर्छ ।

स्तनपान नगराउँदा ब्लड कोलेस्टेरोल उच्च हुन्छ भने स्तनपान गराउनेमा यो नियन्त्रणमै हुन्छ । आमामा हर्मोनल परिवर्तनले पोस्टमार्टम डिप्रेसन पनि हुन्छ । त्यो सबै बच्चाको क्रियाकलाप, स्तनपान गराउदै जाँदा, बच्चालाई हेर्दा त्यो कम हुँदै जान्छ ।

 

तथ्यांकले के बताउँछ ?

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्यांकले नेपालमा स्तनपान गराउनेको संख्या तुलनात्मक रुपमा घट्दै गएको देखाएको छ । तथ्यांकअनुसार सन् १९९६ मा ७६ प्रतिशत आमाले स्तनपान गराएका थिए । सन् २००६ मा आइपुग्दा ५३ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २०११ मा बढेर ७० प्रतिशत, २०१६ मा ६६ प्रतिशत छ भने २०२२ सम्म घटेर ५६ प्रतिशत मात्रै रहेको छ । जसले स्तनपान गराउनेको संख्या घट्दो रहेको पाइन्छ ।

त्यस्तै, २०२२ मा २३ महिनासम्मका एक हजार ९२६ शिशुमध्ये ५५.३ प्रतिशत शिशुले जन्मिएको एक घण्टाभित्रै स्तनपान गरेका थिए । त्यस्तै, ०-६ महिनाको ५२७ बच्चामध्ये ५६.५ प्रतिशत शिशुमा पर्याप्त स्तनपान गराएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *