राष्ट्रिय समाचारस्वास्थ्य

‘नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार’

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममका बीच सर्वेक्षणका मूख्य सूचकहरू प्रतिवेदनको सार्वजनिकरणमा नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युदरमा उल्लेखनीय कमी भएको देखाएको छ ।

 

सन् १९९६ मा ५ वर्षमुनिका बालबालिकाहरुको प्रति १,००० जीवित जन्ममा ११८ को मृत्यु हुने गरेको थियो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति १,००० जीवित जन्ममा ३३ हुन आएको छ । नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति १,००० जीवित जन्ममा २१ मा स्थिर रहेको प्रतिवेदनमा छ ।

 

हाल नेपालका महिलाहरुले औसतमा करिब दुई सन्तान जन्माउँछन् । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ, सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको प्रतिवेदनले दाएको छ ।

सर्वेक्षण अनुसार सर्वेक्षणअघिको दुई वर्ष भित्रको समय अवधिमा जीवित जन्मेकाहरु मध्ये ७९% बच्चाहरु स्वास्थ्य संस्थामा जन्मेका छन् । सन् १९९६ मा ८% बच्चाहरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए । त्यसैगरी ७० प्रतिशत महिलाहरुले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी जाँच गराउने सर्वेक्षणले देखाएको छ ।

त्यसैगरी सर्वेक्षणले बालबालिकाहरुमा आधारभूत खोपको कभरेज बढेको देखाएको छ । सन् १९९६ देखि यता १२–२३ महिनाका बालबालिकाहरुमा आधारभूत खोपको कभरेज बढेको छ, सो समयमा ४३% ले आधारभूत खोप पाउने गरेका थिए । तर, सन् २०११ मा ८७% रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८% हुन आएको र सन् २०२२ मा केहि बढेर ८०% हुन गएको छ ।

दीर्घकालिन कुपोषणको एउटा संकेत भनेको मानिने पुड्कोपन घटेको पाइएको छ । स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार सन् १९९६ मा ५७% रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५% मा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *