स्वास्थ्य सेवा सर्वसुलभ तथा गुणस्तरीय हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विकासको मेरुदण्ड भएको बताएक छन् । उनले स्वास्थ्य सेवालाई समयको गतिसँगै थप चुस्त, सहज र सर्वसुलभ बनाउँदै अघि बढ्नुपर्ने खाँचो औँल्याएका छन्।

स्वस्थ, तन्दुरुस्त र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक सामाजिक विकास सम्भव हुने बताउँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य र शिक्षा मानव अधिकारसँग पनि जोडिएको विषय भएको हुँदा यस क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेर कार्य गर्दै आएको अवगत गराए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एघारौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवा सबैलाई निःशुल्क र आकस्मिक सेवा सहज रूपमा उपलब्ध गराउने कुराको प्रत्याभूति गरेको छ । यस पृष्ठभूमिमा सम्पूर्ण नेपाली नागरिकहरूलाई गुणस्तरीय आधारभूत र आकस्मिक सुविधाहरू सहज र सुलभ रूपमा उपलब्ध गराउन सबै स्वास्थ्य प्रतिष्ठानहरू प्रतिबद्ध र क्रियाशील हुनुपर्दछ । साथै, स्वास्थ्य क्षेत्रमा विशिष्टीकृत सेवाहरू उपलब्ध गराउन समेत ध्यान दिन आवश्यक छ ।”

यस प्रतिष्ठानका उपकुलपतिले पेश गर्नुभएको कार्य प्रगति सुन्दा छोटो अवधिमै प्रतिष्ठानले उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै उहाँले काठमाण्डौँ उपत्यकाभित्र मात्र सीमित नरही प्रतिष्ठानले बर्दियाको राजापुरबाट स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा प्रवाह गर्ने कार्यको थालनी गर्न लागेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आफ्नो अस्पतालहरूमा समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी स्वास्थ्य सेवालाई नागरिकको माग र आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै कोभिड १९ र डेङ्गुबाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा प्रतिष्ठानले पु-याएको योगदानको प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *