राजनीतिराष्ट्रिय समाचारसमाचार

प्रदेश १ मा जता जान्छिन् जसपाकी निर्मला, उतै बन्न सक्छ सरकार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

ताप्लेजुङकी निर्मला लिम्बूको पहिलो संसद् यात्रा नै यति रोमान्चक बन्दैछ कि प्रदेश १ संसद्मा उनी जता उभिइन्, उतैतिर नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।

प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टीले समानुपातिकबाट प्रदेश सभामा एउटा सट हात पारेको छ। त्यसमा लिम्बू चयन हुने पक्कापक्की भइसकेको छ। अहिलेसम्मको अवस्थामा जसपा सांसद निर्मला जता उभिने हो, उतैतिरको गठबन्धनलाई बहुमत पुग्ने अवस्था भएका कारण जसपा प्रदेशमा निर्णायक अवस्थामा छ।

निर्मलाको प्रदेश सभा प्रवेश जनता समाजवादी पार्टी (जसपा) को एक्ली सांसदका रूपमा हुँदैछ। प्रदेशमा नयाँ सरकार बनाउने निर्णायक मत नै उनको हुने भएपछि निर्मलालाई रमाइलो संयोग जुर्ने लगभग निश्चित भएको छ। यही निर्णायक भूमिकासहित उनी ताप्लेजुङबाट ‘माननीय’ बनेर विराटनगर आउँदैछिन्।

निर्मलाका लागि सरकार बनाउने मत मात्रै होइन, सांसद बनेर प्रदेश सभा प्रवेश गर्दैगर्दा मन्त्री पाउने सम्भावना पनि निश्चितै छ। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन गरे पनि वा एमाले नेतृत्वको गठबन्धनलाई साथ दिए पनि जसपाले सरकारमा हिस्सेदारी पाउने निश्चित छ। त्यो अवसरको फाइदा उनैलाई प्राप्त हुने पनि निश्चित छ। किनभने उनी संसदमा जसपाबाट उपस्थित एक्ली सांसद जो हुन्।

‘प्रदेश सरकार बनाउन म नै निर्णायक हुन्छु होला भन्ने सोचेकै थिइनँ’, जसपाबाट प्रदेश १ को समानुपातिक सांसद चुनिएकी निर्मलाले सेतोपाटीसँग भनिन् ‘तर, राजनीतिक परिस्थिति र गणितले त्यस्तो स्थिति आउने देखियो।’

जसपाले निर्णय गरिनसकेका कारण प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धनका नेताहरूको जसपा फकाउने दौड जारी छ। प्रदेशदेखि केन्द्रसम्मका नेताहरू भेट्ने, शक्ति बाँडफाँटको हिसाब लगाउनेसम्मको काममा लागिरहेका छन्।

‘जसपाले ठोस निर्णय नलिएसम्म प्रदेशमा जसको पनि नेतृत्व सम्भव देखिएको छ’, एमाले प्रदेश १ का एक जना नवनिर्वाचित सांसदले भने, ‘त्यसैले हामी पनि प्रयास जारी राखिरहेका छौं।’

एमालेले यस्तो प्रयास जारी राख्दा सत्ता गठबन्धनका दलहरूले पनि दौडधुप तीव्र पारेका छन्। ‘जसपा निर्णायक भएकाले उसँग विभिन्न चरणमा संवाद भइरहेका छन्’, प्रदेश १ मन्त्रिपरिषदका एक सदस्यले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा जसपा सत्ता गठबन्धनमै आउने सम्भावना देखिन्छ।’

आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गरिरहेका दलहरुको दाबी जे-जस्तो भए पनि बल आखिर जसपाको ‘कोर्ट’मा छ। त्यसैले उसले आधिकारिक निर्णय नलिएसम्म प्रदेशमा कसको नेतृत्व हुने भन्ने सबै सम्भावना खुला नै देखिन्छ।

अरू दलहरूले जसपा आफूतिर ल्याउने प्रयास गरिरहँदा निर्णायक बन्ने मत भएकी जसपा सांसद निर्मला चाहिँ कता उभिने विचारमा छिन्?

‘यसमा मेरो व्यक्तिगत रोजाइभन्दा पनि पार्टीको निर्णय मुख्य कुरा हुन्छ,’ फुङलिङ-६ मा ढाका कपडा उद्योगसमेत चलाइरहेकी ४२ वर्षीया उनले थपिन्, ‘म पार्टीको इमान्दार कार्यकर्ता र सिपाही हुँ। यसमा मेरो व्यक्तिगत रोजाइ गौण हुन्छ।’

त्यसो त उनको दलले प्रदेश र केन्द्रमा सत्ता गठबन्धनलाई सहयोग गर्ने कि एमालेलाई भन्ने टुंगो अझै लगाएको छैन। जसपा अनिर्णित रहेसम्म प्रदेश १ सरकारको नेतृत्व कसले गर्ने भन्ने होड खुला नै रहिरहनेछ। जसपाले यो निर्णय नलिएकै कारण नयाँ सरकारको नेतृत्व कसको हातमा पुग्ने भन्ने अन्योल कायमै छ।

यस्तो बेलामा उनी आफैंले भने वर्तमान सत्ता गठबन्धनतिर उभिन पाए खुसी हुने संकेत गरेकी छन्।

‘मैले अघि पनि भनें पार्टीको निर्णय नै मुख्य कुरा हुन्छ’, उनले भनिन् ‘तर, मलाईचाहिँ पहिचानको पक्षमा उभिएका शक्तिहरूसँग गठबन्धन भए राम्रो हुन्छ भन्ने लागेको छ।’

प्रदेश १ मा पहिचानको राजनीतिक मुद्दा पेचिलो रूपमा उठ्दै आएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले अघिल्लो संसद्का बेला पहिचानमा आधारित रहेर प्रदेश नामकरण गर्नुपर्ने अडान राखेका थिए भने एमालेले पहिचानको विषयमा असहमति प्रकट गर्दै आएको छ। अहिले एमालेकै गठबन्धनमा रहेको राप्रपा पनि पहिचानप्रति सकारात्मक छैन। त्यसैले उनले ‘पहिचान पक्षधर’ भनेर सत्ता गठबन्धनका दलहरूलाई संकेत गरेको बुझ्न सकिन्छ।

कुमार लिङ्देन नेतृत्वको लिम्बूवानबाट स्कुले जीवनबाटै राजनीतिक यात्रा थालेकी उनी अहिले जसपाको पोलिटब्यूरो सदस्य र प्रदेश सहइन्चार्जको जिम्मेवारीमा छिन्। अशोक राई, रकम चेम्जोङ, अजम्बर काङमाङहरूले एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी बनाएपछि निर्मला पनि सो पार्टीको संस्थापकमध्येकै एक थिइन्। एकता प्रक्रिया हुँदै अहिले उनी जसपाको जिम्मेवारीमा आइपुगेकी हुन्। यसपटक उनकै भूमिका प्रदेशमा सरकार निर्माणका लागि निर्णायक हुँदैछ।

९३ सदस्यीय प्रदेश सभामा एमालेबाट ४० जना सांसद छन्। जसमा राप्रपाका ६ जनाको साथ एमालेलाई रहने हो भने उसलाई बहुमत पुर्‍याउन अझै एक सिट पुग्दैन। ४७ जनाले बहुमत पुग्ने अवस्था प्रदेशमा छ। राप्रपाले अहिलेसम्म आफू सत्तामा जान नहतारिने बताउँदै आए पनि सरकार बन्न निर्णायक हुने अवस्थामा उसको समर्थन प्रदेशमा एमालेलाई हुने सम्भावना बलियो छ।

जसरी एमालेलाई १ सिटले बहुमत पुग्ने अवस्था छ ठीक त्यसैगरी सत्ता गठबन्धनलाई पनि बुहमत सिद्ध गर्न १ सिट नै आवश्यक छ। कांग्रेससँग २९ सिट रहेको प्रदेशमा माओवादीसँग १३ र एकीकृत समाजवादीसँग ४ सिट छ। यसरी सत्ता गठबन्धनलाई पनि बहुमत पुर्‍याउन जसपाको साथ अनिवार्य छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले एक साता अघि विराटनगरमा ‘एमालेसँग चुनावी सहकार्य मात्रै भएको र त्यो कोर्स सकिएको’ बताएपछि सत्ता गठबन्धन हौसिएको थियो। तर, लगत्तै अर्का नेता अशोक राईले ‘त्यो अध्यक्षको व्यक्तिगत विचार मात्रै भएको’ बताएपछि एमाले उत्साही देखिएको छ। यस्तो बेलामा जसपाको एकताबद्ध निर्णय नआउने हो भने प्रदेशकी एक्ली सांसद निर्मलाको पोजिसन के हुनेछ?

जसपा नेताहरू यस्तो अवस्था नै नआउने बताउँछन्। यदि त्यस्तो अवस्था आइहाले अशोक राईनिकट निर्मलाले आफ्नै नेताको लाइन लिने हुन् कि? जवाफमा निर्मलाको प्रष्टोक्ति छ, ‘हामी पार्टीका इमान्दार सिपाही हौं, हामी पार्टीको लाइनमा उभिन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *