हेडलाइन

यस्तो छ प्रतिनिधि सभाका ११० समानुपातिक सांसदको विगत

Advertisements
MAHABAI RURAL MUNICIPALITY

मंसिर ४ गते भएको संसदीय चुनावको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। १६५ प्रत्यक्ष र ११० समानुपातिक सांसदको टुंगो लागेको छ।

प्रत्यक्षतर्फ उम्मेदवार बनेका सांसदबारे चुनावी प्रचारका क्रमदेखि मतगणनासम्म चर्चा हुन्छ। तर दलहरूको बन्द सूचीमा रहेका समानुपातिक सांसदबारे भने कमै चर्चा हुन्छ। हामीले यसपालि सबै दलहरूले छानेका ११० जना सांसदहरूको विगतबारे यहाँ संक्षिप्त चर्चा गरेका छौं।

नेकपा (एमाले)

एमालेले समानुपातिक छानेकाहरूमध्ये पार्टीमा लामो समय योगदान गरेकादेखि निर्वाचनको मुखमा पार्टी प्रवेश गरेकाहरूसम्म रहेका छन्। यस्तो छ उनीहरूको विगत:

१. रघुजी पन्त

रघुजी पन्त एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी यसअघि २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित सांसद हुन्। २०६४ र २०७०मा भने उनी सोही क्षेत्रबाट पराजित भएका थिए। उनी एक पटक मन्त्री भइसकेका छन् भने २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लहाकार थिए। लामो समयसम्म नेपाल निकट रहेका पन्त एमाले विभाजन हुँदा भने उनले नेपाललाई साथ दिएनन्।२. एकनाथ ढकाल

पहिलो र दोस्रो संविधान सभामा परिवार दलबाट सांसद बनेका एकनाथ ढकालले अहिले एमालेबाट सांसद बन्ने अवसर पाएका छन्। उनी खसआर्य कोटाबाट सांसद बनेका हुन्। ढकाल युनिफिकेसन चर्चसँग जोडिएका व्यक्ति हुन्। उक्त चर्चका नाममा उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका छन्। २०७५ मंसिरमा ढकालको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले ‘होली वाइन’ पिएको भन्दै आलोचना भएको थियो।

३. दयालबहादुर शाही

एमालेका केन्द्रीय सदस्य दयालबहादुर शाही पार्टीमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्। उनी बाजुराको जिल्ला सचिवसमेत भइसकेका छन्। माधव नेपाल महासचिव हुदाँ उनी कारबाहीमा परेका थिए। समसायिक राजनीतिक विषयमा कलम चलाउने शाही ओलीका कट्टर समर्थक हुन्। उनले भाषा र बोल्ने शैलीसमेत ओलीको नक्कल गर्छन्।

४. मेनकाकुमारी पोखरेल

दाङकी मेनकाकुमारी पोखरेलले एमालेको विद्यार्थी संगठनको राजनीति गरेकी हुन्। पञ्चायतकालमै राजनीति आन्दोलनमा सहभागी भएकी पोखरेल अहिले एमालेको केन्द्रीय सदस्य छन्। उनी एमाले दाङकी सहइन्चार्ज हुन्। उनी एमाले महासचिव शंकर पोखरेलकी बहिनी पनि हुन्। अखिलमा उनी आफ्ना दाजु शंकर पोखरेलभन्दा पहिला लागे पनि बहुदल आएपछि भने शिक्षण पेशमा संलग्न थिइन्।

५. सरिता भुसाल

एमाले केन्द्रीय सदस्य सरिता भुसाल पश्चिम नवलपरासीकी हुन्। उनी अखिल नेपाल किसान महासंघमा आबद्ध छन्। उनी लामो समय शिक्षण पेशमा आवद्ध थिइन्। भुसाल जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्य बनेकी हुन्। अर्घखाँचीमा जन्मिएकी भुसाल पारिवारिक पृष्ठभूमिबाटै राजनीतिमा आएकी हुन्। भुसालका श्रीमान् बद्री खनाल एमाले स्कुल विभाग सदस्य छन्।

६. शोभा ज्ञवाली

बर्दियाकी शोभा ज्ञवाली विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय छन्। पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय ज्ञवाली २०५४ मा एमाले र माले विभाजन हुँदा मालेमा आवद्ध भएकी थिइन्। एमालेकै राजनीतिमा निरन्तर रहेकी ज्ञवाली अहिले एमाले केन्द्रीय सदस्य हुन्।

७. विजुला रायमाझी

अर्घखाँचीकी विजुला रायमाझी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। उनी अनेमसंघमा समेत आबद्ध छन्। उनको पारिवारिक पृष्ठभूमि एमाले हो। उनका श्रीमान् बुद्धि रायमाझी पञ्चायतकालमा संघर्ष गरेका नेता हुन्। बुद्धि रायमाझीको निधन भइसकेको छ।

८. निर्मला कोइराला

निर्मला कोइराला एमालेकी केन्द्रीय सदस्य हुन्। सिन्धुलीमा जन्मिएकी कोइरालाले बारामा सक्रिय राजनीति गर्छिन्। उनी एमालेमा लामो संघर्ष गरेकी नेता हुन्। कोइराला राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट सम्बन्ध रहेकी नेतासमेत हुन्।

९. सम्झना थपलिया

सिराहाकी सम्झना थपलिया गैरसरकारी क्षेत्रमा आवद्ध छन्। उनी एमालेमा सक्रिय नभए पनि एमाले पृष्ठभूमिकी हुन्।समाजसेवामा सक्रिय रहेकी थपलिया यसपटक समानुपातिक सांसद बनेकी हुन्।

१०. दीपा शर्मा

दैलेखकी दीपा शर्मा एमाले अखिलको राजनीतिबाट आएकी हुन्। उनी अखिलको सचिवालय सदस्यसम्म भएकी थिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा रहेर काम गरेकी शर्माले समानुपातिक सांसदको अवसर पाएकी छन्।

११. सुनिता बराल

एमाले विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल झापाकी हुन्। उनी एमालेको दसौं महाधिवशेनबाट केन्द्रीय सदस्य बनेकी हुन्।

१२. देवीप्रसाद भट्टचन

व्यापारिक पृष्ठभूमिका देवीप्रसाद भट्टचनले एमालेको राजनीति गरेका होइनन्। स्रोतका अनुसार उनी कांग्रेसको समानुपातिक कोटामा समेत परेका थिए। तर कांग्रेसले आदिवासी-जनजाति क्लस्टरको तेस्रो नम्बरमा राखेपछि उनी एमालेको सूचीमा बसेका हुन्। भट्टचनलाई एमालेले जनजाति क्लस्टरको पहिलो नम्बरमा राखेको थियो।

१३. हेमराज राई

एमालेको समानुपातिक कोटाबाट सांसद बनेका हेमराज राई गत भदौमा मात्रै पार्टी प्रवेश गरेका हुन्। त्यसअघि उनी जसपाको कार्यकारिणी सदस्य थिए। सबभन्दा रोचक त के छ भने उनी गत माघमा जसपाको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका थिए। तत्कालीन ५ दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई एमालेका सोनाम ग्याल्जेन शेर्पासँग पराजित भए। देशभरि १९ सांसदका लागि भएको निर्वाचनमा गठबन्धनका तर्फ उम्मेदवार बनेका राई मात्रै पराजित भएका थिए।

राईको राजनीतिक पृष्ठभूमि एमाले नै हो। उनी २०४८ र २०५१ सालमा एमालेको तर्फबाट खोटाङबाट विजयी भएका थिए। २०६९ सालमा उनले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गरेका हुन्।

१४. कालुराम राई

प्राध्यापक डाक्टर कालुराम राईले मेची बहुमुखी क्याम्पस झापाबाट अवकाश पाएका हुन्। उनी जीव वैज्ञानिकसमेत हुन्।भ्यागुताका विषयमा पिएचडी गरेका राईको नाममा कतिपय प्रजातिका भ्यागुताको नाम समेत राखिएको छ।

१५. नैनकला थापा

माओवादी केन्द्र र एमालेको एकता खारेज भएपछि एमाले बनेकी नैनकला थापाले सांसद बन्ने अवसर पाएकी छन्। उनी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन्। नैनकलाले केपी शर्मा ओली नेतृत्वको सरकारमा केही दिन सञ्चारमन्त्री हुने अवसर पाएकी थिइन्।

१६. सूर्यकुमारी श्रेष्ठ

दैलेखकी सुर्यकुमारी श्रेष्ठ एमाले केन्द्रीय सदस्य हुन्। उनी एमाले दैलेखकी सहइन्चार्जसमेत हुन्। एमालेको जिल्ला कमिटीदेखि आवद्ध हुँदै आएकी श्रेष्ठ राजनीतिमा संघर्ष गरेकी महिला हुन्। उनी अनेमसंघ दैलेखको अध्यक्षसमेत बनेकी थिइन्।

१७. उर्मिला थेवे

थेवे एमाले केन्द्रीय सदस्य हुन्। उनी ताप्लेजुङ सहइन्चार्ज समेत हुन्। उनका श्रीमान भुपेन्द्र थेवे एमाले ताप्लेजुङका अध्यक्ष हुन्। छोरा क्षितिज थेवे युवा संघका महासचिव छन्।

१८. ईश्वरी घर्ती

ईश्वरी घर्ती एमाले अखिलकी पूर्वकेन्द्रीय सदस्य हुन्। उनी रोल्पामा सक्रिय राजनीति ‍गर्छिन्। एमालेनिकट प्रेस चौतारीमा आवद्ध घर्तीले पत्रकारितासमेत गरेकी हुन्।उनी अहिले अखिल नेपाल महिला संघमा आवद्ध छन्।

१९. रणकुमारी बलाम्पाकी मगर

एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी रणकुमारी बलाम्पाकी मगर सिन्धुलीकी हुन्। उनी एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्यसमेत हुन्। मगर बागमती प्रदेश सम्पर्क कमिटीको सचिवसमेत भइसकेकी छन्। उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन्। योभन्दा अघिल्लो पटकसमेत उनी समानुपातिक सूचीमा रहेर पनि सांसद बन्न पाएकी थिइनन्।

२०. शान्ति श्रेष्ठ

काठमाडौं क्षेत्र नं ३ की श्रेष्ठ एमालेकी पुरानो नेता हुन्। उनले अखिल जिल्ला कमिटीदेखि पार्टी जिल्ला कमिटीमा काम गरेकी हुन्। पार्टीमा तल्लो तहमा सक्रिय रहेर काम गरे पनि उनले कुनै भूमिका पाएकी थिइनन्। २०७४ र २०७८ मा काठमाडौं महानगरमा उपमेयर उम्मेदवारको रूपमा चर्चामा आए पनि उनी उम्मेदवार बन्न पाइनन्।

२१. सरस्वती सुब्बा

सरस्वती सुब्बा सर्लाहीकी हुन्। उनी भूमि अधिकारकर्मी हुन्। सुकुम्बासीका पक्षमा आवाज उठाउँदै आएकी उनी एमालेमा सक्रिय छन्। सामाजिक सञ्जालमा समेत उनी विशेष गरेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा वकालत गर्छिन्।

२२. आश्माकुमारी चौधरी

दाङकी आश्माकुमारी चौधरी पञ्चायत विरूद्धको आन्दोलनमा सक्रिय महिला हुन्। सामान्य साक्षर मात्रै उनी गरिब परिवारकी महिला हुन्। उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य छन्। विवाह नुहँदै उनी राजनीतिमा लागेकी थिइन्। भूमिगत कालमा उनी ठूला नेताहरूका लागि ‘सेल्टर दाता’ थिइन। उनका श्रीमान् लौटन चौधरी एमालेको जिल्ला कमिटी सदस्य छन्।

२३.शान्ति चौधरी

बर्दियाकी शान्ति चौधरी माओवादी पृष्ठभूमिकी हुन्। माओवादी जनयुद्धमा समेत सहभागी भएकी चौधरी पार्टीको प्रदेश कमिटी सदस्य समेत थिइन्। गत साउन १७ गते माओवादी परित्याग गरी एमाले प्रवेश गरेकी चौधरीले सांसद बन्ने मौका पाएकी छन्।

२४.ईश्वरबहादुर रिजाल

दोलखाका ईश्वरबहादुर रिजाल एमाले पोलिटब्युरो सदस्य हुन्। उनी एमाले स्कुल विभागका उप-प्रमुख समेत हुन्। नेकपाकालीन समयमा उनी नेकपाको पार्टी कार्यालय सचिव बनेका थिए। एमालेमा उनी वैचारिक नेता मानिन्छन्।

२५. प्रभु हजारा पासवान

पर्साका प्रभु हजारा पासवान वीरगञ्जको नगर कमिटी आवद्ध भएर पार्टी काम सुरू गरेका हुन्। उनी एमालेमा निरन्तर संघर्ष गरेका व्यक्ति हुन्। मधेशमा एमाले अफ्ठ्यारोमा परेको बेलामा समेत उनी पार्टीमै सक्रिय थिए। उनी पर्सा इन्चार्ज तथा केन्द्रीय सदस्य हुन्। सांसद भने पहिलो पटक भएका हुन्।

२६. चन्द्रबहादुर विश्वकर्मा

रूकुम पश्चिमका चन्द्रबहादुर विश्वकर्मा माओवादी पृष्ठभूमिका नेता हुन्। उनी माओवादीबाट दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए। सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि उनी एमाले प्रवेश गरेका हुन्।

२७. रुक्मणी राना बराइली

काभ्रेमा तल्लो तहबाट राजनीति सुरू गरेकी रुक्मणी राना बराइली बागमती प्रदेश कमिटी सदस्यसमेत हुन्।

२८. हर्कमाया विश्वकर्मा

हर्कमाया विश्वकर्मा एमाले झापा जिल्ला कमिटी सदस्य हुन्। अहिलेसम्म कुनै लाभको पदमा नपुगेकी विश्वकर्मा ग्रासरूटमा काम गरेकी नेता हुन्।

२९. गंगाप्रसाद यादव

गंगाप्रसाद यादव एमालेका केन्द्रीय सदस्य तथा सिराहा जिल्ला इन्चार्जसमेत हुन्। उनी आठौं महाधिवेशनदेखि एमाले केन्द्रीय सदस्य छन्। यसअघि २०७४ मा उनी सिराहा क्षेत्र नं १ बाट पराजित भएका थिए। पञ्चायतकालदेखि राजनीतिक आन्दोलनमा लागेका यादवले भूमिगत जीवनसमेत बिताएका छन्।

३०. अमृतलाल राजवंशी

पहिलो र दोस्रो दुबै संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका अमृतलाल राजवंशी अहिले एमालेका तर्फबाट सांसद बनेका छन्। उनी गत वर्ष कांग्रेसको महाधिवेशनमा असन्तुष्ट बनेर एमाले छिरेका थिए। झापाका राजवंशी ओलीको रोजाइमा परेपछि सांसद बन्न पाएका हुन्।

३१. विना देवी

रौतहटकी विना देवीले अखिल नेपाल महिला संघबाट राजनीति सुरू गरेकी हुन्। जिल्ला पार्टीमा सक्रिय उनी जिल्ला कमिटी सदस्य भइसकेकी छन्। उनी अहिले एमालेको मधेस प्रदेश कमिटी सदस्य छन्।

३२.अमृता अग्रहरी

एमालेबाट मधेशी कोटामा सांसद बनेकी अमृता अग्रहरी यसअघि जनता समाजवादी पार्टीमा थिइन्।

उनी २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सांसद बनेकी थिइन्। राजपा र समाजवादी पार्टीको एकताबाट जसपा बनेर पुनः विभाजन भएपछि उनले जसपा नै रोजेकी थिइन्।

जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवको अन्तरसंघर्ष हुँदा अग्रहरी भट्टराईको पक्षमा थिइन्। अन्तिम समयमा यादवसँगै रहेकी अग्रहरी यसपालि चुनावको मुखमा मात्रै एमाले प्रवेश गरेकी हुन्।

उनै अग्रहरी अहिले सांसद बन्न सफल भइन्। लगातार दुई पार्टीबाट सांसद बन्ने अवसर अग्रहरीले पाएकी छन्।

३३.प्रतीक्षा तिवारी मुखिया

मधेशी कोटाबाट सांसद बनेकी प्रतीक्षा तिवारी मुखिया पनि दोस्रो संविधान सभामा माओवादीबाट समानुपातिक सांसद बनेकी थिइन्। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि उनी एमाले प्रवेश गरेकी हुन्। उनै तिवारीले अहिले एमालेबाट अवसर पाएकी छन्।

३४.सराज अहमद फारुकी

कपिलवस्तुका सराज अहमद फारुकी एमालेनिकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष हुन्। उनी एमाले केन्द्रीय सदस्यसमेत हुन्। लामो समयदेखि एमालेमै सक्रिय रहेका सराज यस पटक सांसद बन्न सफल भएका छन्। उनी पूर्वसांसद मिर्जा दिल सादबेगका ज्वाइँसमेत हुन्।

नेपाली कांग्रेस

कांग्रेसले सांसद पठाएकामध्ये २३ जना सभापति शेरबहादुर देउवानिकट छन् भने ९ जना संस्थापनइतर समूहका छन्। कांग्रेसले समानुपातिक सांसद बनाएकाहरूको संक्षिप्त पृष्ठभूमि यस्तो छ।

१. जीवन परियार

कांग्रेस सहमहामन्त्री जीवन परियार दलित क्लस्टरबाट प्रतिनिधि सभामा सांसद बनेका छन्। उनी कास्की १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थे। सुरूमा यो क्षेत्र गठबन्धनबाट माओवादीले लिने भनेपछि परियारलाई समानुपातिकतर्फ राखिएको थियो। पछि यो क्षेत्रमा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाए। उनी पराजित भए।

कांग्रेसले समानुपातिकमा पाएको ३२ सिटमध्ये २९ जना महिला पठाउनुपर्ने थियो। ३ जना पुरूष सांसद छान्न कांग्रेसलाई सकस परेको थियो। सहमहामन्त्री परियार १४ औं महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट निर्वाचित भएका थिए। परियारलाई सांसद बनाउन संस्थापनइतर समूहले अडान राखेको थियो। अन्तत: परियार सांसद बनेका छन्।

२०७४ को चुनावमा कास्की १ को प्रदेश सभा १ बाट परियार पराजित भएका थिए। उनी संविधान सभा सदस्य पनि भइसकेका थिए। उनी १२ औं महाधिवेशनदेखि केन्द्रीय सदस्य हुँदै १४ औं महाधिवेशनमा सहमहामन्त्री बनेका हुन्।

२. प्रकाशशरण महत

प्रकाशशरण महत कांग्रेसका प्रवक्ता हुन्। उनको नाम समानुपातिकतर्फ खसआर्य समूहको पहिलो नम्बरमा थियो। महतलाई कांग्रेसले सांसद बनाएको छ। उनी सभापति देउवानिकट छन्। देउवाले यसअघि महतलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी दिएका थिए। कांग्रेसको १४ औं महाधिवेशनमा महत महामन्त्री उठे पनि पराजित भएका थिए। आफ्नो समूहबाट महामन्त्रीमा पराजित भएका महतलाई महाधिवेशनपछि पनि महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन्।

महत नुवाकोट १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थे। नेकपा माओवादीसँग चुनावी तालमेल गर्दा यो क्षेत्र माओवादीले पायो। त्यसपछि महत समानुपातिक सूचीमा बसेर चुनावअघि देशैभर प्रचारमा हिँडेका थिए। महत देउवाका विश्वास पात्र हुन्। उनले लामो समयदेखि देउवालाई साथ दिँदै आएका छन्। महत ०७४ को चुनावमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए।

३. विमलेन्द्र निधि

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि मधेशी क्लस्टरबाट समानुपातिक सांसद भएका छन्। १४ औं महाधिवेशनमा निधि सभापति उठेर पराजित भएका थिए। उनले दोस्रो चरणको चुनावमा सभापतिमा देउवालाई सहयोग गरेका थिए।

निधि देउवानिकट हुन्। २०३८ सालमा नेविसंघ सभापति भएदेखि नै निधिले देउवालाई सहयोग गर्दै आएका थिए। निधि यसअघि सांसद र पटक-पटक मन्त्रीसमेत भइसकेका छन्। तर २०७४ को चुनावमा निधि धनुषाबाट पराजित भएका थिए। यसपालि उनी धनुषाबाट चुनाव नलडेर समानुपातिकतर्फ बसेका हुन्।

४. आरजु राणा देउवा

आरजु नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। आरजुले २०७४ मा कैलाली ५ मा चुनाव हारेकी थिइन्। उनी यसपटक समानुपातिक सांसद बनेकी हुन्। आरजुलाई समानुपातिक सूचीमा राखेपछि पार्टीभित्र र बाहिर पनि देउवाको आलोचना भएको थियो। आरजु समानुपातिक कोटाबाटै संविधान सभा सदस्यसमेत भएकी थिइन्।

५. मन्जु खाण

मन्जु खाणले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिसकेकी छन्। उनी कांग्रेस नेता बालकृष्ण खाणको श्रीमती हुन्। गृहमन्त्रीसमेत रहेका बालकृष्ण रूपन्देही ३ बाट प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भए। श्रीमान प्रत्यक्षतर्फ र श्रीमती समानुपातिकतर्फ उम्मेदवार बनाएको भन्दै कांग्रेसभित्र खाणको आलोचना पनि भएको थियो। उनीहरू सभापति देउवानिकट छन्। मन्जुले सिरहाबाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन् तर पाइनन्।

६. अम्बिका बस्नेत

काठमाडौंकी अम्बिका बस्नेत कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। उनी सभापति देउवा समूहकी हुन्। २०७४ को चुनावमा उनी काठमाडौं -३ बाट पराजित भएकी थिइन्। महिला संघको पूर्वअध्यक्षसमेत रहेकी उनी २०६४ र २०७० मा संविधान सभा सदस्यसमेत भएकी थिइन्। उनी कांग्रेसको १२ औं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य पनि छन्। उनी एकपटक सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत बनेकी थिइन्।

७. ईश्वरी न्यौपाने

कैलालीकी ईश्वरी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनले लामो समय महिला संघमा काम गरिन्। उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन्। उनी खसआर्य महिलातर्फ समानुपातिक सूचीमा परेकी थिइन्।

न्यौपाने कैलाली -१ बाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन्। तर उनलाई पार्टीले समानुपातिकतर्फ राखेको थियो। २०७४ को चुनावमा न्यौपाने कैलाली १ बाट पराजित भएकी थिइन्। उनी सभापति देउवानिकट हुन्।

८. रमा कोइराला पौड्याल

रमा कोइराला पौड्याल कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। उनलाई पार्टीले खसआर्य महिलातर्फ प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको थियो। भोजपुरकी उनी १३ औं महाधिवेशनपछि आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन्। उनी सभापति देउवा पक्षकी हुन्।

९. कान्तिका सेजुवाल

जुम्लाकी कान्तिका सेजुवाल कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्य जितेकी थिइन्। उनलाई पार्टीले समानुपातिक सांसदको सूचीमा राखेको थियो। उनी २०७४ मा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर निर्वाचित भएकी थिइन्। उनी त्यसअघि शिक्षक थिइन्। सेजुवाल पनि सभापति देउवा समूहकी हुन्।

१०. सरस्वती बजिमय

खोटाङकी सरस्वती बजिमय १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। उनलाई पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजातिको पहिलो नम्बरमा राखेको थियो। उनी सभापति देउवानिकट हुन्। उनले महिला संघको केन्द्रीय कोषाध्यक्ष भएर पनि काम गरेकी थिइन्। बजिमय संविधान सभा सदस्य पनि थिइन्।

११. सीताकुमारी राना

दैलेखकी सीताकुमारी राना कांग्रेस केन्द्रीय सदस्य हुन्। उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजाति सूचीमा राखिएको थियो। उनले लामो समयदेखि नेपाल महिला संघमा रहेर काम गर्दै आएकी थिइन्। उनी सभापति देउवा पक्षकी हुन्।

१२. सुशीला थिङ

सुशीला थिङ सिन्धुलीकी हुन्। उनले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्। सुशीलाले सिन्धुली २ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन्। सिन्धुली २ मा तालमेल गर्दा माओवादीलाई भाग परेपछि उनलाई पार्टीले समानुपातिकतर्फ राखेको थियो। उनी पनि सभापति देउवानिकट हुन्।

१३. माया राई

भोजपुरकी माया राई कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले लामो समय नेविसंघमा छात्रा विभाग प्रमुख भएर पनि काम गरेकी थिइन्। उनी सभापति देउवानिकट हुन्। उनलाई पार्टीले यसपालि आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सूचीमा राखेको थियो।

१४. मनोरमा शेरचन

रूपन्देहीकी मनोरमा शेरचनले नेपाल महिला संघमा लामो समय काम गरेकी थिइन्। पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजाति सूचीमा उनको नाम राखेको थियो। यसअघि सभापति देउवाले उनलाई कांग्रेस महिला विभागको सदस्य मनोनीत गरेका थिए। उनी सभापति देउवा समूहकी हुन्।

१५. अन्जनी श्रेष्ठ

काठमाडौंकी अन्जनी श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी प्रतिनिधि सभामा समानुपातिक सांसद भएकी छन्। उनी चितवन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ उम्मेदवार हुन खोजेकी थिइन्। तर यो क्षेत्र गठबन्धन गर्दा माओवादी केन्द्रलाई परेपछि अन्जनी समानुपातिकतर्फ बसेकी थिइन्। उनी सभापति देउवानिकट हुन्।

१६. शान्ति परियार विक

चितवनकी शान्ति परियार विक कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी दलित महिलातर्फ प्रतिनिधि सभा समानुपातिक सूचीमा थिइन्। उनी सभापति देउवानिकट हुन्।

१७. रूपा विक

पाल्पाकी रूपा विक कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। उनी सभापति देउवानिकट हुन्।

१८. आशा विक

बाँकेकी आशा विक प्रतिनिधि सभातर्फ दलित क्लस्टरबाट सांसद भएकी छन्। उनी प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन्। उनको नाम बाँके क्षेत्र नम्बर ३ बाट सिफारिस पनि भएको थियो। यो क्षेत्रमा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार भई निर्वाचित भए। किशोरसिंहले टिकट पाएपछि आशालाई समानुपातिकतर्फ राखिएको थियो।

१९. नागिना यादव

मकवानपुरकी नागिना यादव कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। यादवलाई कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा राखेको थियो। यादव कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य रहेर पनि काम गरेकी थिइन्। उनी सभापति देउवानिकट हुन्। उनले महोत्तरी २ बाट प्रत्यक्ष चुनाव लड्न चाहेकी थिइन्।

२०. चन्दा चौधरी

सर्लाहीकी चन्दा चौधरी कांग्रेसमा नवप्रवेशी हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर चुनावअघि कांग्रेस प्रवेश गरेकी थिइन्। बालुवाटारमा सभापति देउवाले चौधरीलाई कांग्रेसमा प्रवेश गराएका थिए। उनी २०७४ मा तत्कालीन राजपाबाट सांसद बनेकी थिइन्। उनी महिला बालबालिका मन्त्रीसमेत भइसकेकी छन्।

२१. संगीता मण्डल धानुक

महोत्तरीकी संगीता मण्डल धानुक महोत्तरी ४ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन्। उनको नाम सिफारिस भए पनि उनले प्रत्यक्षतर्फ टिकट पाइनन्। समानुपातिकतर्फ प्रतिनिधि सभामा उनको नाम राखिएको थियो। उनी मधेशी क्लस्टरबाट सांसद भएकी छन्। उनी सभापति देउवानिकट हुन्।

उनी यसअघि संविधान सभा सदस्य पनि भएकी थिइन्। उनको उम्मेदवारी खारेजीका लागि निवेदन परेर विवादितसमेत बनेको थियो। उनी आदिवासी जनजाति भएको र मधेशी क्लस्टरमा राखिएकोमा उजुरी परेको थियो।

२२. जावेदा खातुन जागा

बर्दियाकी जावेदा खातुन जागा कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनमा मुश्लिम क्लस्टरबाट केन्द्रीय सदस्य जितेकी थिइन्। उनी सभापति देउवानिकट हुन्। उनको नाम कांग्रेसले मुश्लिम क्लस्टरबाट प्रतिनिधि सभा समानुपातिकमा राखेको थियो। उनले कांग्रेसको निर्वाचन प्रचार समितिमा रहेर कामसमेत गरेकी थिइन्।

२३. कल्पना चौधरी

सुनसरीकी कल्पना चौधरी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनबाट थारूतर्फ केन्द्रीय सदस्य बनेकी थिइन्। विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट २०७४ को चुनावअघि नै कांग्रेसमा समाहित भएपछि उनी कांग्रेसमा क्रियाशील छिन्। समायोजनपछि कांग्रेसले २०७६ फागुन २३ मा उनलाई केन्द्रीय सदस्यमा मनोनीतसमेत गरेको थियो। उनी पनि सभापति देउवानिकट छिन्।

२४. बिनाकुमारी थनेत

नवलपरासी पूर्व नवलपुरकी बिनाकुमारी थनेत कांग्रेस महासमिति सदस्य हुन्। उनलाई कांग्रेसले थारू क्लस्टरबाट प्रतिनिधि सभा समानुपातिक सांसद बनाएको छ। उनी सभापति देउवानिकट छिन्। उनी नवलपुर १ मा लामो समयदेखि समाजसेवा र कांग्रेस राजनीतिमा सक्रिय छिन्।

२५. सरिता प्रसाईं

झापाकी सरिता प्रसाईं कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनमा खुलातर्फ महिलामा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्, नेता शेखर कोइराला समूहबाट। प्रसाईं २०७४ मा प्रदेश नम्बर १ बाट राष्ट्रिय सभा सांसद निर्वाचित भएकी थिइन्। यसबीचमा उनले केही समय प्रमुख सचेतकको जिम्मेवारीसमेत लिएकी थिइन्। उनले विगतमा कृषि विकास राज्यमन्त्री भएर पनि काम गरेकी थिइन्। उनी २०७० मा संविधान सभा सदस्यसमेत भएकी थिइन्। प्रसाईं नेविसंघ, महिला संघ हुँदै पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय छिन्।

२६. प्रतिमा गौतम

काठमाडौंकी प्रतिमा गौतम कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनमा नेता शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्य बनेकी थिइन्। गौतम काठमाडौं २ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन् तर यो क्षेत्र नेकपा माओवादीले पायो र ओनसरी घर्तीमगर सत्ता गठबन्धनबाट साझा उम्मेदवार भएर पराजित भइन्।

प्रतिमा २०७४ सालमा पनि काठमाडौं २ मा चुनाव लडेकी थिइन्। त्यसबेला तत्कालीन एमाले नेता माधवकुमार नेपालले चुनाव जितेका थिए। यसपालि माओवादीलाई काठमाडौं २ छाड्नुपर्दा कांग्रेसले प्रतिमालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो। प्रतिमा नेविसंघ पूर्वमहामन्त्री पनि हुन्।

२७. मैना रावल कार्की

मैना रावल कार्की जाजरकोटकी हुन्। उनी १४ औं महाधिवेशनमा कांग्रेस जाजरकोटबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएकी थिइन्। मैना नेता शेखर कोइराला पक्षकी हुन्।

२८. लीलादेवी बोखिम लिम्बू

ताप्लेजुङकी लीलादेवी बोखिम लिम्बूलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। उनी कांग्रेसको १३ औं महाधिवेशनमा ताप्लेजुङ सभापति निर्वाचित भएकी थिइन्। उनले लामो समय जिल्लामा रहेर नेपाल महिला संघमा काम गरेकी थिइन्। उनी विगतमा गैरसरकारी संस्थाहरूमा पनि काम गरेकी थिइन्। उनी कांग्रेसमा संस्थापनइतर समूहमा छिन्।

२९. सपना राजभण्डारी

काठमाडौंकी सपना राजभण्डारीलाई कांग्रेसले प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको छ। उनी कांग्रेसका स्व. नेता नवीन्द्रराज जोशीकी श्रीमती हुन्। उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ बाट महासमिति सदस्य पनि हुन्। राजभण्डारी संस्थापनइतर समूहकी हुन्। उनी पहिलेदेखि नै कांग्रेसको राजनीतिमा थिइन्। नवीन्द्रराजको निधनपछि उनी सक्रिय रूपमा पार्टीमा लागेकी थिइन्।

३०. कुसुम थापा मगर

पर्वतकी कुसुम थापा मगरलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। उनी नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएकी थिइन्। कुसुम संस्थापनइतर समूहकी हुन्। उनी १२ औं महाधिवेशनदेखि नै कांग्रेस महाधिवेशन प्रतिनिधि छिन्।

३१. सीता मिजार

नुवाकोटकी सीता मिजारलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। उनलाई नुवाकोट कांग्रेसले क्षेत्र नम्बर १ बाट समानुपातिक सांसद सिफारिस गरेर केन्द्रमा पठाएको थियो। उनी नेविसंघबाट पार्टी राजनीतिमा आएकी हुन्। सीता संस्थापनइतर समूहकी हुन्।

३२. मुक्ताकुमारी यादव

धनुषाकी मुक्ताकुमारी यादव कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। मधेशी महिलातर्फ केन्द्रीय सदस्य बनेकी उनले कांग्रेस महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएकी थिइन्। उनलाई कांग्रेसले यसपालि प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसद बनाएको छ।

उनी २०७४ मा मधेश प्रदेशबाट राष्ट्रिय सभा सांसद भएकी थिइन्। २०५३ सालदेखि उनी कांग्रेस राजनीतिमा लागेकी थिइन्। त्यसअघि उनी शिक्षक थिइन्। उनी दोस्रो संविधान सभामा सांसद भएकी थिइन्। उनी संस्थापनइतर समूहकी हुन्।

नेकपा (माओवादी केन्द्र)

माओवादीले समानुपातिकमा सिफारिस गरेका १४ मध्ये कोही माओवादी आन्दोलनका योजनाकार छन् भने कोही माओवादी आन्दोलनबारे कुनै साइनो नभएकाहरू पनि छन्।

१. हितराज पाण्डे

नेकपा माओवादी केन्द्रका सचिव हितराज पाण्डे दोश्रो पटक सांसद बनेका छन्। यसअघि उनी २०७० मा गोर्खा क्षेत्र नं २बाट निर्वाचित भएका थिए। उनी एक पटक मन्त्री समेत भएका छन्। माओवादी जनयुद्ध सुरु गर्ने केन्द्रीय नेताहरुको टीममा पाण्डेपनि सदस्य थिए। उनका एक छोरा जनयुद्धमा सहिद भएका छन्। उनको सिंगो परिवार माओवादी आन्दोलनमा लागेको थियो। पाण्डेकी छोरी बन्दना पाण्डे पालुङटार नगरपालिकाकी उपमेयर हुन्। पाण्डे प्रचण्डका नजिकका विश्वास पात्र समेत हुन्।

२. दुर्गा राई

भोजपुरकी दुर्गा राई पञ्चायतकादेखि नै राजनीतिमा सक्रिय भएकी हुन्। उनी २०३८ सालमा अनेरास्ववियु छैटौंको भोजपुर जिल्ला समिति कोषाध्यक्ष भएकी थिइन्। उनी २०६४ र २०७४ मा समानुपातिक सूचीमा परे पनि सांसद बन्न पाएकी थिइनन्। नेकपा माओवादी विभाजनका बेलामा मोहन वैद्यको नेतृत्वमा पार्टी छोडेकी राई २०७३ मा रामबहादुर थापा, पम्फा भुसाल लगातयसँगै मूल पार्टीमा फर्किएकी हुन्। उनी माओवादी उपमहासचिव पम्फा भुसाल निकट हुन्।

३. मीना तामाङ

मीना तामाङ २०५२ मा भूमिगत भएकी हुन्। उनले तत्कालीन काभ्रेपलाञ्चोक क्षेत्र नं ३ बाट २०६४ र २०७० मा चुनाव हारेकी हुन्। उनी पार्टीको केन्द्रीय सदस्य हुन्। २०४८ सालदेखि मसालबाट राजनीति सुरू गरेकी उनी २०५१ बाट माओवादीकी पूर्णकालीन सदस्य भएकी हुन्। उनका श्रीमान् बुद्धिबहादुर तामाङ जनयुद्धमा सहिद भएका हुन्।

४. छिरिङ ल्ह्यामु लामा तामाङ

जुम्लाकी छिरिङ ल्ह्यामु लामा तामाङ २०७० मा माओवादी बनेकी हुन्। त्योभन्दा पहिला उनी समाज सेवामा सक्रिय थिइन्। उनी माओवादीको महिला संगठनको प्रदेश सदस्य तथा चन्दननाथ नगरपालिकाको नगर इन्चार्जसमेत हुन्। ‘मुगुम जनजाति’बाट पहिलो सांसद बन्ने अवसर उनले पाएकी छन्।

५. रणेन्द्र बराली

रणेन्द्र बराली माओवादीका केन्द्रीय सदस्य हुन्। उनी जनमोर्चासँगको एकता प्रक्रियाबाट माओवादी बनेका हुन्। दलित आन्दोलनका अगुवा बराली पुराना कम्युनिष्ट नेता हुन्। स्वच्छ र इमान्दार छवि भएका मानिने बरालीले पार्टीमा कुनै अवसर पाएका थिएनन्। उनी दलित मुक्ति मोर्चाको संरक्षक हुन्। नेपाल दलित साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका बराली २०२५ सालदेखि कम्युनिष्ट आन्दोलनमा छन्।

६. उर्मिला माझी पौडेल

माओवादीबाट समानुपातिक सांसद बनेकी उर्मिला माझी पौडेल १५ वर्षदेखि माओवादी आन्दोलनमा लागेकी हुन्। २०६० सालमा श्रीमान गुमाएकी उर्मिलाले शान्ति प्रक्रियापछि माओवादीनिकट पत्रकार सन्तोष पौडेलसँग अन्तरजातीय बिहे गरेकी हुन्। काभ्रेपलाञ्चोककी माझीले लमजुङका पौडेलसँग बिहे गरेकी हुन्। पौडेल माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरका महासचिव छन्। २०७० को बन्दसूचीमा समेत उर्मिला परेकी थिइन्। अहिले उनी माझी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव छन्।

७. नारायणी शर्मा

२०५२ सालमा जनयुद्ध सुरू गर्दा रूकुमको चौकीमा भएको पहिलो आक्रमणमा नारायणी शर्मा सहभागी थिइन्। उनी माओवादी केन्द्रीय सदस्य हुन्। शर्मा २०७० मा दाङ क्षेत्र नं १ बाट पराजित भएकी हुन्। उनले अहिलेसम्म कुनै भूमिका पाएकी थिइनन्। नारायणी शर्मा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माकी बहिनी हुन्।

८. ज्ञानु बस्नेत सुवेदी

ज्ञानु २०४६ सालपछि कम्युनिष्ट आन्दोलनमा सहभागी छन्। २०५१ मा अखिल क्रान्तीकारी जिल्ला सदस्य भएकी बस्नेत २०५२ सालदेखि भूमिगत भएकी हुन्। २०६३ सलामा धादिङ जिल्ला सेक्रेटरी बनेकी सुवेदी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनी माओवादीका उपमहासचिव शक्ति बस्नेतकी बहिनी हुन्।

९. बिमला सुवेदी

बिमला सुवेदी माओवादीकी केन्द्रीय सदस्य हुन्। उनी माओवादी जनयुद्धमा भूमिगतसमेत भएकी थिइन्। २०६४ मा नुवाकोटबाट निर्वाचित सुवेदी यस पटक समानुपातिक तर्फको सांसद बनेकी हुन्।

१०. रूपा सोसी चौधरी

रूपा सोसी चौधरी माओवादीकी केन्द्रीय सदस्य हुन्। २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा समेत थिइन्। सामान्य पारिवारिक पृष्ठभूमिकी चौधरी सहिद परिवारकी समेत हुन्। उनी २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएकी थिइन्।

११. सुशीला श्रीपाली ठकुरी

२०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी सुशीला श्रीपाली ठकुरी २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी भएकी थिइन्। उनी २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लागेकी हुन्। उनी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन्। २०६८ मा उनी दलित आयोगको सदस्य भएकी थिइन्।

१२. मीना यादव

मीना यादव राजनीतिक पृष्ठभूमिबाट भन्दा पनि पारिवारिक पृष्ठभूमिको सहयोगले सांसद बनेकी हुन्। उनी माओवादी केन्द्रका नेता शिवपुजन रायकी श्रीमती हुन्। २०६४ मा तत्कालीन सर्लाही क्षेत्र नं ६ बाट मधेशी जनअधिकार फोरमको तर्फबाट निर्वाचन जितेका राय रातो पासपोर्ट प्रकरणमा दोषी ठहरिएका व्यक्ति हुन्। विभिन्न पार्टी चहार्दै २०७४ मा माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नं ४ को उमेदवार बने पनि उनको उम्मेदवारी खारेज भएको थियो। आफू सांसद बन्न नमिल्ने भएपछि रायले आफ्नी श्रीमतीलाई पठाएका हुन्। रायकी छोरी मधुमाला कुमारी यादव माओवादीबाट सर्लाही क्षेत्र नं ४ मा बागी उमेदवार बनेकी थिइन्।

१३. उमरावती देवी यादव

उमरावती देवी यादव नेपाल समाजवादी पार्टीको तर्फबाट सांसद बनेकी हुन्। उनी २०६३ को मधेस आन्दोलनदेखि रजनीतिमा सक्रिय भएकी हुन्। उनको राजनीतिक पृष्ठभूमि सद्भावना पार्टी हो। उनका श्रीमान् रमेश यादव नेपाल समाजवादी पार्टीका महासचिव हुन्। रमेश यादव राष्ट्रिय सभाका पूर्वसांसद हुन्।

१४. कल्पना मिया

कल्पना मिया माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तीकारीकी उपाध्यक्ष हुन्। अखिल क्रान्तीकारीको क्याम्पस इकाई कमिटीदेखि नै संगठनमा काम गरेकी मिया यसपटक सांसद बनेकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाले समानुपातिकतर्फ छानेका १३ सांसद को हुन् त? उनीहरूको विगत के थियो? हामीले यहाँ संक्षिप्त रूपमा उल्लेख गरेका छौं:

१. डा. ढाकाकुमार श्रेष्ठ

कास्कीका ढाकाकुमार श्रेष्ठ चिकित्सक हुन्। ४६ वर्षका उनलाई रास्वपाले समानुपातिकतर्फ सांसद बनाएको छ। उनलाई रास्वपाले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेको थियो। उनी रास्वपाको गण्डकी प्रदेश सभापतिसमेत हुन्। उनले क्षेत्रीय अस्पताल पोखरामा कामसमेत गरेका थिए।

२. इन्दिरा राना मगर

इन्दिरा राना मगर झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको छ। उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्। उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन्। बा-आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा उनले सहयोग गर्दै आइरहेकी छन्।

३. सुमना श्रेष्ठ

काठमाडौंकी सुमना श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। ३७ वर्षकी सुमनालाई रास्वपाले आदिवासी जनजाति क्लस्टरमा राखेको थियो। उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन्। उनले भूकम्प तथा कोरोनाका बेला परामर्शदातासमेत रहेर काम गरेकी थिइन्।

४. असिम शाह

रास्वपाले फिल्म निर्माता तथा निर्देशक असिम शाहलाई सांसद बनाएको छ। ४१ वर्षका उनलाई मुश्लिम पुरूषतर्फ पहिलो नम्बरमा नाम राखिएको थियो। उनी काठमाडौंका हुन्। राजनीतिमा सक्रिय हुनु अघि असिम चलचित्र क्षेत्रमा सक्रिय थिए। उनले २ रूपैयाँ फिल्मसमेत बनाएका थिए।

५. मनीष झा

धनुषाका मनीष झालाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। ४२ वर्षका उनको नाम रास्वपाले मधेशी पुरूषतर्फ पहिलो नम्बरमा राखेको थियो। मनीष पहिले पनि राजनीतिमै थिए। उनी लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय थिए। उनले नेविसंघबाट राजनीति थालेका थिए। मनीष फ्याक्ट नेपालका प्रमुखसमेत हुन्।

६. लक्ष्मी तिवारी

बाँकेकी लक्ष्मी तिवारी रास्वपाबाट सांसद बनेकी छन्। ४७ वर्षकी उनलाई रास्वपाले मधेशी महिला क्लस्टरतर्फ पहिलो नम्बरमा राखेको थियो। उनी सामाजिक अभियन्ता थिइन्।

७. डोलप्रसाद अर्याल

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल समानुपातिक सांसद भएका छन्। धादिङ घर भएका ४८ वर्षका उनलाई पार्टीले खसआर्यतर्फ पहिलो नम्बरमा राखेको थियो। उनी राजनीतिमा आउनु भन्दा पहिले पर्यटन व्यवसायी थिए।

८. डा. चन्दा कार्की

चन्दा कार्की चिकित्सक हुन्। ६३ वर्षकी उनलाई रास्वपाले खसआर्य महिलातर्फ पहिलो नम्बरमा राखेको थियो। उनी ललितपुरकी हुन्। उनी प्रसुति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी काठमाडौं मेडिकल कलेजको पूर्वसिइओ हुन्। उनले बिएन्डबी अस्पतालमा समेत काम गरेकी थिइन्।

९. निशा डांगी

झापाकी निशा डांगीलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। २५ वर्षे निशा पत्रकार थिइन्। उनलाई पार्टीले खसआर्य महिलातर्फ बन्दसूचीमा नाम राखेको थियो। उनले स्वास्थ्य बिटमा रहेर अनलाइन तथा टेलिभिजन पत्रकारिता गरेकी थिइन्।

१०. अशोककुमार चौधरी

सुनसरीका अशोककुमार चौधरीलाई रास्वपाले सांसद बनाएको छ। ३९ वर्षका उनलाई पार्टीले थारू क्लस्टरको पहिलो नम्बरमा राखेको थियो। उनी डोरीतान खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन्।

११. सन्तोष परियार

भक्तपुरका सन्तोष परियारलाई रास्वपाले सांसद बनाएको छ। दलिततर्फ पहिलो नम्बरमा बन्द सूचीमा उनको नाम थियो। ३९ वर्षीय उनी राजनीतिमा आउनुअघि शिक्षक थिए।

१२. शिव नेपाली

कास्कीका शिव नेपाली रास्वपाबाट समानुपातिक सांसद भए। उनको नाम पार्टीले समानुपातिकतर्फ दलित क्लस्टरको दोस्रो नम्बरमा राखेको थियो। उनी रास्वपाको पोखरा महानगर समितिका सदस्यसमेत हुन्।

१३. विनिता कठायत

जुम्लाकी विनिता कठायतलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। २६ वर्षकी उनको नाम खस आर्यतर्फ पिछडिएको क्षेत्र क्लस्टरमा राखेको थियो। उनी राजनीतिमा आउनुअघि पत्रकार थिइन्। ग्यालेक्सी फोरके टिभीको सिधा कुरा जनतासँग कार्यक्रममा उनी कार्यरत थिइन्।

जनता समाजवादी पार्टी

जसपाले समानुपातिकमा सिफारिस गरेका सांसदमा २०६३ को मधेस आन्दोलनमा लागेकादेखि नवप्रवेशीहरूसम्म छन्। हामीले जसपाबाट समानुपातिक सांसद बनेका ५ जनाको पृष्ठभूमि केलाएका छौं।

१. प्रकाश अधिकारी

प्रकाश अधिकारी जसपाका कार्यकारिणी सदस्य हुन्। सिराहाका अधिकारी २०२८ सालदेखि वाम विद्यार्थी आन्दोलनमा लागेका हुन्। नेकपा संयुक्तबाट विद्रोह गरेर उनले तत्कालीन संघीय समाजवादी फोरमसँग २०७४ मा पार्टी एकता गरेका हुन्। त्यसयता उनी पार्टी अध्यक्ष उपेन्द्र यादवसँग निकट भएर काम गरिरहेका छन्।

२. सुशीला श्रेष्ठ

सुशीला श्रेष्ठ जसपाकी कार्यकारिणी सदस्य हुन्। २०२८ सालदेखि पञ्चायतविरोधी राजनीतिमा सक्रिय भएकी श्रेष्ठ २०२९ सालमा संखुवासभाको भानु जन माध्यमिक विद्यालयको स्ववियु कोषाध्यक्ष भएकी थिइन्। नेकपा मालेको झापा आन्दोलनबाट प्रभावित भएकी श्रेष्ठ २०४६ सालसम्म भूमिगत भइन्। २०३५ सालमा आफ्नै आखा अगाडि रत्नकुमार बान्तवालाई पञ्चायती शासकले गोली हानेको श्रेष्ठले सेतोपाटीलाई बताइन्। उनी एमालेनिकट अनेमसंघको उपाध्यक्ष र महासचिव भइसकेकी छन्। २०६९ सालमा उनले आफ्ना पति अशोक राईसँगै एमालेबाट विद्रोह गरेकी हुन्। श्रेष्ठ २०५० सालदेखि स्वप्नवाटिका स्कुलको प्रिन्सिपल छन्।

३. रञ्जु ठाकुर

रञ्जु ठाकुर जसपाकी केन्द्रीय सदस्य हुन्। उनी एमाले पृष्ठभूमिबाट आएकी हुन्। २०७८ चैतमा मात्रै ठाकुर जसपा प्रवेश गरेकी हुन्। २०७० मा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी ठाकुर त्यो बेलामा महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिकी सभापतिसमेत भएकी थिइन्। उनी २०६४ सालको संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट एमालेको उम्मेदवार भई पराजित भएकी थिइन्।

४. रेखा यादव

रेखा यादव जसपाकी केन्द्रीय सदस्य हुन्। उनी सदभावना पार्टीको पृष्ठभूमिबाट आएकी हुन्। २०४७ माघमा सद्भावना अध्यक्ष गजेन्द्रनारायण सिंहको नेतृत्वमा सिंहदरबार घेराउ अभियानमा लाग्दा उनी पक्राउसमेत परेकी थिइन्। पटक-पटक गरेर १३ पटक गिरफ्तार परेकी यादव २०६४ देखि मधेशी जनअधिकार फोरममा आवद्ध भइन्। २०६४, २०७० र २०७४मा समानुपातिक सूचीमा परेकी विराटनगरकी यादव चौथो पटकमा सांसद बनेकी हुन्।

५. सहनाज रहमान

सहनाज रहमान जसपा केन्द्रीय सदस्य हुन्। कांग्रेस पृष्ठभूमिकी हुन्। २०६३ देखी मधेसी जअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भइन्। २०६४, २०७० र २०७४ मा समानुपातिक सूचीमा रहेकी सहनाज रहमानले यसपटक सांसद बन्ने अवसर पाएकी हुन्।

जनमत पार्टी

समानुपातिकतर्फ जनमत पार्टीले प्रतिनिधि सभामा पाँच जना सांसद पाएको छ। जनमत पार्टीका तर्फबाट सांसद सिफारिस भएका ५ जनाको पृष्ठभुमि यस्तो छ।

१.अनिता साह

अनिता साह जनमत पार्टीको सचिव हुन्। धनुषाकी साह जनमत पार्टीमा लाग्नुभन्दा पहिला गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी हुन्।

२. सोनु मुर्मुर

सोनु मुर्मुर ११ वर्षदेखि सिके राउतको अभियानमा सक्रिय छन्। स्वतन्त्र मधेस गठबन्धनमा आवद्ध सोनु मुर्मुरकै पहलमा २०६९ सालमा सिके राउतलाई मोरङमा बोलाइएको थियो। त्यही बेला राउत पहिलो पटक गिरफ्तारीमा परेका हुन्।

३.अब्दुल खान

अबदुल खान जनमत पार्टीका उपाध्यक्ष हुन्। उनी सिके राउतको अभियानमा सुरूदेखि सक्रिय थिए। बर्दियाका खान पार्टी प्रशिक्षकका रूपमा समेत कार्यरत छन्।

४. विनिताकुमारी सिंह दनुवार

विनिताकुमारी सिंह दनुवार पनि सिराहामा सिके राउतकै अभियामा सुरूदेखि सक्रिय हुन्। उनी पार्टीको कुनै भूमिकामा छैनन्। सिराहामा किसान आन्दोलनको नेतृत्व गरेर उनले चर्चा कमाएकी थिइन्।

५. गोमा लाभ सापकोटा

महोत्तरीकी गोमा लाभ सापकोटा स्थानीय चुनाव अघि जनमत पार्टीमा आबद्ध भएकी हुन्। उनी खस आर्यको कलष्टरबाट सांसद बनेकी हुन्। उनी स्थानीय निर्वाचनमा महोत्तरी गाँउपालिका उपाध्यक्षमा पराजित भएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *