डम्पिङ साइट बन्दै नदी–खोला

सिन्धुपाल्चोक — मुख्य बजार क्षेत्रबाट निस्कने फोहोर सोझै नदी–खोलामा फालिँदा प्रदूषण बढ्दो छ भने पर्यावरणमा समेत असर पर्न थालेको छ । सीसा, धातु र प्लास्टिजन्य फोहोर प्रशोधन गरेर पुनः प्रयोग नगर्ने र जैविक तथा ढलसमेत प्रशोधन नगरी नदी–खोलामा मिसाइँदा पानीमा रहने जनावर र तटीय क्षेत्रका बासिन्दामा समेत असर परिरहेको हो । प्रदूषणकै कारण नटीय क्षेत्रका कतिपय व्यक्ति बिरामीसमेत पर्ने गरेको स्थानीय बताउँछन् ।

बाह्रबिसे, लामोसाँघु, खाडीचौर, सुकुटे, बलेफी, जलविरे, मेलम्चीलगायत बजारक्षेत्रबाट निस्कने फोहोर, ढल भोटेकोसी, सुनकोसी, इन्द्रावती, मेलम्चीलगायत नदी तथा खोलामा फ्याँकिने गरिएको छ । २० लाख रुपैयाँ बजेट छुट्याएर बाह्रबिसे नगरपालिकाले टिपर प्रयोग गरेर संकलित फोहोर महभीरस्थित कोसी किनारमा लगेर फाल्ने गरेको छ । जसले कोसीलाई दुर्गन्धित त बनाएकै छ, तटीय क्षेत्रका स्थानीय बिरामीसमेत पर्न थालेका सुनकोसी बजारका सौर्यन्द्र श्रेष्ठले बताए ।

‘नगरले खुलमखुला फोहोर नदी र खोलामा फ्याँकिरहेको छ । सबै प्रकारको फोहोरको थुप्रो यत्रतत्र देखिन्छ । जसको दुर्गन्धले किनारमा बस्ने मान्छे धमाधम बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘यसबारे आवाज पहिलेदेखि उठाउँदै आइरहेको हो तर कसैले सुनेको छैन ।’ बाह्रबिसे बजारमा भने स्थानीय मिलेर ढल संकलन गर्ने सेफ्टी ट्यांकी नै बनाएका छन् । बाह्रबिसे ढल समिति नै बनाई बाह्रबिसे बजार र राम्चेका केही स्थानीय मिलेर यो काम थालेका हुन् । ‘सामूहिक रूपमा दुई वटा ट्यांकी बनाइसकेका छौं,’ स्थानीय टोल सुधार समितिका अगुवा सान्दोर्जे तामाङले भने, ‘केहीले अझै पनि पसल र घरबाट निस्कने ढल र फोहोर निर्धक्क खोलामै मिसाइरहेका छन् । यो एकदमै दुःखद कुरा हो ।’

पानीको स्रोत र पर्यावरण संरक्षणका लागि खोला–नदी सफा राख्नु पर्छ भन्ने सचेतनाको अभावमा बजार क्षेत्रका नदी–खोला प्रदुषित हुँदै गइरहेको उनको बुझाइ छ । ‘बजार क्षेत्रको विकास र विस्तार कुनै दीर्घकालीन योजनाबिनै भइरहेको छ, जसका कारण बजारबाट निस्कने फोहोरको व्यवस्थापन पनि दिनप्रतिदिन जटिल र भद्रगोल बन्दै गइरहेको छ,’ उनले भने, ‘अव्यवस्थित रूपमा गिट्टी, बालुवा झिक्ने, माछा मार्न विषादी प्रयोग गर्ने प्रवृत्ति बढिरहेकाले पनि खोला–नदीहरू थप दूषित हुँदै गएका छन् ।’

नेपाल जलस्रोतमा विश्वमै धनी मानिन्छ । नदी, खोला, झरनालगायत पर्यटक तान्न निकै महत्त्वपूर्ण रहने भए पनि जलस्रोतको स्वच्छतामा ध्यान नदिँदा धार्मिक र पर्यटन क्षेत्रमा ठूलो आँच पुगेको मेलम्ची बजारका सुमन शर्मा बताउँछन् । ‘यसअघि नगरपालिकाले बनाएको मापदण्ड मेलम्ची बाढीले बिथोल्यो । त्यसयता लेदो र गेगरले ढाकिएकाले नदी संरक्षणमा खासै वास्ता गरिएको छैन, यो समस्या जिल्लाभर छ,’ उनले भने । नदीको सरसफाइमा ध्यान नदिएकाले घुम्न आउने पर्यटकमाथि समेत असर पुग्दा अहिले पर्यटकको संख्यामा समेत कमी हुँदै गएको उनको दाबी छ । राजधानी काठमाडौंलगायत क्षेत्रबाट घुम्न, पिकनिक खान तथ अन्य मनोरञ्जन गर्न आउने पर्यटकको संख्या घट्दो रूपमा रहेको उल्लेख गर्दै उनले अब प्रदूषण रोक्न नगरका सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।

नदी–खोला सफा राख्न सम्बन्धित जिल्ला प्रशासन र पालिकाले जलस्रोत संरक्षण तथा फोहोर व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बजार क्षेत्रका स्थानीयको भनाइ छ । त्यसका लागि आवश्यक नीतिनियम तत्काल बनाएर कार्यान्वयन गर्न पनि उनीहरूको माग छ । मेलम्ची किनारमा बस्ने माझी समुदायले निकै समस्या भोग्दै आएको अगुवा पूर्ण माझीले बताए । ‘मेलम्चीलगायत बजार क्षेत्रमा रहेका दर्जनौं होटल, रेस्टुरेन्टबाट निस्कने फोहोर, ढल खुलमखुल्ला नदीमा लगेर छोडिएको छ, यसबारे पालिका जानकार छ तर नियमन र कारबाही गर्न कुनै मापदण्ड बनाएको छैन,’ उनले भने ।

जनप्रतिनिधिहरूले भने वातावरण संरक्षण र नदी–खोलाको सफाइमा हरसम्भव प्रयाश गरिरहेको दाबी गर्दै आएका छन् । बाह्रबिसे नगर उपप्रमुख मञ्जु तामाङ र बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर लामाले फोहोर र ढललाई नदी–खोलामा मिसिन नदिन अनेक विकल्प खोजिरहेको बताए । ‘हाल फोहोर डम्पिङ गर्दै आएको क्षेत्र महभीरको विकल्प खोज्दै छौं, यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रयाशरत छौं,’ तामाङले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *