अन्तर्राष्ट्रिय समाचार

अस्ट्रेलियामा बढ्दै मानसिक समस्या

Advertisements
MAHABAI RURAL MUNICIPALITY

अस्ट्रेलिया — अस्ट्रेलियास्थित नेपाली सञ्चारकर्मी सरल गुरुङले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको र उपचार गराइरहेको सार्वजनिक गरे । लाखौं फलोअर रहेका उनले आफूले मानसिक स्वास्थ्य समस्यामा रहेका नेपालीलाई आफ्नो समस्या लुकाएर नराख्न र समयमै उपचारको खोजी गर्न आग्रहसमेत गरे ।

गुरुङ सामाजिक सञ्जालमा ७ लाख ८० हजार फलोअर रहेको ‘नेपालट्युब’ नामक पोर्टल चलाउँछन् । उनले आफूमा रहेका सामान्य मानसिक समस्या काउन्सिलिङपछि निको भएको जनाएका थिए । उनले अस्ट्रेलियामा मानसिक स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्‍याउने संस्थाको नामसहित सार्वजनिक गरेको सन्देशमा समस्या नलुकाई समयमै उपचार खोजे निको हुने सुझावसमेत दिएका थिए ।

अस्ट्रेलियास्थित सरकारी निकाय अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरले सार्वजनिक गरेको सन् २०२१ को तथ्यांकअनुसार ५ मध्ये एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख छ । सार्वजनिक तथ्यांकमा हरेक ५ अस्ट्रेलियालीमध्ये २ जनालाई आफ्नो जीवनकालमा मानसिक समस्याले सताउने गरेको जनाइएको छ ।

गतवर्ष १६ देखि २४ वर्षसम्मका युवामा मानसिक स्वास्थ्य समस्या धेरै देखिएको तथ्यांकमा उल्लेख गरिएको छ । जुन ४० प्रतिशत हाराहारीमा छ । तीमध्ये पनि महिलाहरूमा मानसिक स्वास्थ्य समस्या बढी देखिएको छ । यसैगरी, कोभिडपछि मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने संस्थाको सम्पर्कमा आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ । ‘अचानक जागिर गुमेको तथा सामाजिक सम्पर्क, विभिन्न कारणले बढेको तनावलगायतले लामो समयसम्म मानसिक स्वास्थ्यमा असर पुर्‍याउने देखिएको छ,’ रिपोर्टमा भनिएको छ ।

जनसंख्या बढेसँगै मानसिक स्वास्थ्यका कारण पीडित हुने नेपालीको संख्यासमेत बढ्दै गएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपालबाट ठूलो सपना लिएर आउने तर यहाँको वास्तविकता आफूले सोचेजस्तो नपाउने, परिवार तथा सामाजिक सम्पर्कबाट टाढा हुने, दुर्व्यसनमा फस्ने, आफ्नो स्वास्थ्यमा पर्याप्त ध्यान नदिने कारणले नेपाली विद्यार्थी समस्यामा पर्ने गरेका छन् । त्यसका साथै समस्या आएपछि भन्न हिच्किचाउने र कसलाई सम्पर्क गर्ने भन्ने थाहा नभएका कारणसमेत विद्यार्थीले समयमै उपचार खोज्न सकेका छैनन् । एनआरएनएलगायतका सामाजिक संस्थामा काम गर्ने पदाधिकारीले समेत विद्यार्थीमा देखिएको समस्याका बारेमा चाँडै थाहा नहुने र दुःखद् घटना भएपछि मात्र थाहा हुने गरेको गुनासो गर्ने गरेका छन् ।

अहिलेसम्म कति नेपाली मानसिक रोगका कारण पीडित छन् भन्ने अलग तथ्यांक नभए पनि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका विज्ञहरू अस्ट्रेलियाली सरकारी तथ्यांककै अनुपातमै हरेक ५ नेपालीमा एक जनालाई मानसिक स्वास्थ्य समस्या रहेको बताउँछन् । जसमा युवावर्ग धेरै पीडित छन् ।

अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नका वरिष्ठ मानसिक रोग विशेषज्ञ अनुपम पोखरेल एन्जाइटी र डिप्रेसन नेपालीहरूमा मुख्य मानसिक स्वास्थ्य समस्याका रूपमा देखिएको बताउँछन् । खासगरी युवा समूहका नेपालीमा मानसिक स्वास्थ्य समस्या बढी देखिएको उनको भनाइ छ ।

अस्ट्रेलियाली मात्र नभई नेपालीको उपचारमा समेत संलग्न पोखरेलले पहिलेको तुलनामा मानसिक रोगका कारण पीडित हुने नेपालीको संख्या बढ्नु स्वाभाविक ठान्छन् । ‘जनसंख्या बढेका कारण धेरै नेपालीमा यो समस्या देखिए पनि अनुपातमा भने त्यसरी स्वास्थ्य समस्या बढेको छैन,’ उनले भने ।

अस्ट्रेलियामा अध्ययनका लागि आएका विद्यार्थीमा बढिरहेको मानसिक स्वास्थ्य समस्याबारे छलफल तथा कार्यक्रम भइसकेका भए पनि अहिलेसम्म उल्लेख्य रूपमा केही हुन सकेका छैनन् । अहिले पनि विद्यार्थीले ज्यान गुमाइरहेका छन् भने एनआरएनएलगायतका विभिन्न संस्थाले समय समयमा सहयोग पुर्‍याइरहेका छन् तर पर्याप्त हुन सकेको छैन । यसका साथै अस्ट्रेलिया आउनुअघि नै यहाँको वास्तविकता, रहनसहन, रोजगारको अवस्था, बसोबास र आवश्यक परे सहयोगका लागि सम्पर्क गर्न सकिने संस्थाको सम्पर्क आदिबारे विद्यार्थीले पूर्वजानकारी राख्नुपर्नेमा त्यसतर्फ त्यति ध्यान जान सकेको छैन ।

एनआरएनए उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक देव गुरुङ विद्यार्थीको स्वास्थ्यलगायतका समस्यामा उनीहरूलाई यहाँ ल्याउने कन्सल्टेन्सी, दूतावास र नेपाल सरकार मुख्य रूपमा गम्भीर हुनुपर्ने सुझाव दिन्छन् । एनआरएनएले सकेजति सहयोग पुर्‍याइरहेको भए पनि विद्यार्थीलाई समस्या हुनुभन्दा अगावै आवश्यक जानकारी र सूचना दिनुपर्ने उनको भनाइ छ ।

ब्रिसबनमा रहेर पत्रकारिता गरिरहेका गुरुङ सबैभन्दा बढी जनचेतनाको आवश्यकता देख्छन् । ‘मानसिक रोग हुनु भनेको पागल हुनु हैन कि अन्य स्वास्थ्य समस्याजस्तै हो र उपचारबाट सहजै निको हुन्छ भनेर बुझाउन अत्यन्तै आवश्यक भइसकेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *