राष्ट्रिय समाचार

भरतपुरमा विवाह भोज खाएका पाँच सय एकसाथ बिरामी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

चितवनमा विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन्।

भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन्। बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्।

अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल आइपुगेको बताए।

‘एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको छ,’ अधिकारीले भने, ‘फुड पोइजनका कारण बिरामी परेको हुनसक्छ। त्यहीअनुसार उपचार भइरहेको छ।’

उनीहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए।

ढकाल र अधिकारी पनि सामान्य बिरामी छन्। नेशनल सिटी अस्पतालमा उपचार गराइरहेका गैंडाकोटका सविन लम्सालले भोजमा सहभागी बिरामीले अस्पताल भरिएको बताए।

भोज खाएको भोलिपल्टबाट ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने समस्या देखियो। अरुलाई पनि उस्तै समस्या देखिएपछि जचाउन अस्पताल पुग्यौं,’ लम्सालले भने, ‘गुणस्तरहीन खाना खुवाएर बिरामी बनाउने होटल सञ्चालकलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।’

होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको बताए।

‘हामी कहाँ मंसिरभरका लागि विवाह पार्टी बुकिङ भएको छ। होटलका कोठाहरु पनि भरिएका छन्। २३ गते पाँच सय जना भन्दा बढीलाई खाना खुवाएका थियौं। उहाँहरु मध्ये धेरैजना बिरामी पर्नुभएको जानकारी पाएका छौं,’ रिजालले भने, ‘उही खाद्यान्न प्रयोग गरिएको अन्य भोजमा सहभागी हुनेलाई केही नहुने एउटा भोजमा सहभागी हुनेलाईमात्र समस्या आउने के भएको रहेछ छानबिन गरिरहेका छौं।’

उपचाररत बिरामीहरुले फूड पोइजनको विषयमा छानबिन हुनुपर्ने र उपचार खर्च होटलले व्योहोर्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *