खेलकुद

नेपालको विश्वकप छनोट सम्भावना कायम

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २६ फाल्गुन २०७९ , शुक्रबार

काठमाडौँ-आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक पूरा गरेको दिन बिहीबार नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा बिहीबार पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ५२ रनको जित निकालेर तेस्रो स्थानमा बस्दै विश्वकप छनोट खेल्ने सम्भावना कायम राखेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न विश्वकप लिग–२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाएर मात्र २ सय ४५ रन जोड्न सक्यो। यस जितसँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ। नेपालले बाँकी रहेका तीनमध्ये १ खेलमा सुखद नतिजा निकाले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहनेछ।

नेपालले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीका लागि नोर्मन भानुआले ५५ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा सर्वाधिक ६० रन जोडे। यसै गरी टोली उराले ४४ बलमा ९ चौकाको मद्दतमा ५०, कप्तान असद भालाले ४२, किप्लिन डोरिगाले २६, राइली हिकुरेले २० र  चाल्र्स अमिनीले १५ रनको पारी खेले। यसअघि पहिलो विकेटका लागि उरा र डोरिगाले ७७ रनको साझेदारी गरे पनि अन्य खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्। बलिङतर्फ नेपालका लागि  सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट निकाल्दा दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले एक विकेट लिए। पिएनजीका तीन खेलाडी रनआउट हुन पुगेका थिए। सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिंदा दीपेन्द्रले ९.१ ओभरमा ३६ रन खर्चे। कुशल मल्लले १ विकेट लिने क्रममा १० ओभरमा ६० रन खर्चे। पपुवा न्युगिनीका ३ खेलाडी रनआउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले १ सय १० रनको साझेदारी गरे। यस्तै भीम सार्की अर्धशतक बनाउन ६ रनले चुके। अर्का ब्याट्सम्यान कुशल भुर्तेलले ४५ रनको व्यक्तिगत स्कोर बनाएर पवेलियन फर्किंदा आसिफले व्यक्तिगत करियरको पहिलो शतक बनाए। १ सय १० बलको सामना गरेका आसिफले १२ चौका र २ छक्कासहित १ सय १० रन बनाएका हुन्। यससँगै एकदिवसीय क्रिकेटमा आसिफ शतक पूरा गर्ने पाँचांै नेपाली खेलाडी बनेका छन्। यसअघि रोहित पौडेल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेलले शतक बनाएका थिए। पिएनजीविरुद्ध नै २०२१ सेप्टेम्बर ७ मा डेब्यु गरेका आसिफले घरेलु मैदानमा पहिलो शतक पूरा गरेसँगै १ हजार रन पनि पूरा गरेका छ्न। उनले ३२ इनिङ खेल्दा ७ अर्धशतक पनि बनाएका छन्। आसिफले पाँचाै विकेटका लािग कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गर्दै नेपालको इनिङ सम्मानजनक अवस्थामा पुर्याएका थिए। कप्तान रोहित पौडेलले ३० रन बनाउँदै पवेलियन फर्किने क्रममा ३९ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा अघिल्ला खेलमा चम्किएका कुशल मल्ल २ रनमै समेटिए। भीम सार्कीले ३८ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाउँदा आरिफ शेख १५ रनमा क्याच हुँदै पवेलियन फर्किए। दीपेन्द्र ७ रनमा आउट भए भने एक छक्का प्रहार गरेका करण केसीले ८, सन्दीप लामिछानेले ७ रन बनाए। सोमपाल कामी ४ रनमा नटआउट रहे।

बलिङतर्फ पिएनजीका सिमो कामियाले १० ओभरमा ३८ रन खर्चेर सर्वाधिक ५ विकेट निकाल्दा राइली हिकुरेले १० ओभरमा ५० रन खर्चेर तीन विकेट लिए। एक विकेट लिएका एली नाओले १० ओभर बलिङ गर्दै ७५ रन खर्चिए।

शृंखलामा शुक्रबार पिएनजी र संयुक्त अरब इमिरेट्स (युएई) बीच खेल हुनेछ। लिग २ तालिकाको शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउन नेपालका लागि शृंखला क्लिनस्विप गर्नुपर्ने दबाब छ। बिहीबारको जितपछि नेपालले ३३ खेलमा ३४ अंक जोडेको छ। नेपाल लिग तालिकाको पाँचौं स्थानमा छ। सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५० अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा ४४ अंक बनाएको ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो र ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छन्। सात राष्ट्र सहभागी लिग–२ को शीर्ष तीन टोलीले सीधै विश्वकप छनोटमा स्थान पाउनेछ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन्। यस्तै संयुक्त अरब इमिरेट्स (युएई) को ३२ खेलमा ३१ अंक छ। युएई छैटांै स्थानमा छ। पपुवा न्युगिनी ३३ खेलमा ९ अंकका साथ पुछारमा छ। नेपालले आइतबार युएई, सोमबार पपुवा न्युगिनी र युएईसँग बिहीबार खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *