समाचार

कर्णालीमा अमलाबाट च्यवनप्राश उत्पादन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१८ फागुन २०७९, बिहिवार

काठमाडौँ – कर्णाली प्रदेशमा पहिलो पटक च्यवनप्राश उत्पादन गरिएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अमलाबाट च्यवनप्राश उत्पादन सुरु गरेको हो ।

च्यवनप्राश मुख्यतया अमलाबाट उत्पादन हुन्छ । ताजा अमला भिटामिन सीको प्रमुख स्रोत हो । आयुर्वेद कार्यालयका प्रमुख डाक्टर शंकर रिजालका अनुसार च्यवनप्राश उत्पादन गर्ने योजना एक वर्ष अघिदेखि बनेको थियो ।च्यवनप्राश बनाउन पुसदेखि फागुन महिनाको समय राम्रो हुन्छ ।

यो समयमा अमला परिपक्व हुन्छ । बाहिरी कम्पनीहरुले भने फाइदाका लागि जहिले पनि उत्पादन गर्ने र विक्री वितरण गर्ने गरेका छन् ।

च्यवनप्राशको महत्त्व

च्यवनप्राश एक शक्तिवर्द्धक औषधि हो । रोगी र निरोगी दुवै व्यक्तिका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ ।

डा. रिजालका अनुसार खोकी, दम भएका मान्छेले प्रयोग गरेको खण्डमा यसले शक्ति प्रदान गर्छ । स्मरणशक्ति कम भएका व्यक्तिका लागि पनि यो लाभकारी रहने उनले बताए ।

सरकारी बेवास्ता

कर्णाली जडीबुटीले समृद्ध भए पनि यहाँ जडीबुटीको प्रयोगबारे कुनै प्रभावकारी योजना सञ्चालित छैन । जसका कारण कर्णालीका जंगलमा पाइने बहुमूल्य जडीबुटी खेर गइरहेको छ ।

अर्कोतर्फ प्रदेश सरकारले आयुर्वेद कार्यालयलाई समेत बेवास्ता गर्ने गरेको छ । आयुर्वेद डाक्टर यादव उपाध्याय भन्छन्, ‘कर्णालीमा प्रशस्त स्रोत साधन छ, तर त्यसको प्रयोग भइरहेको छैन । सरकारले नै प्रयोग गर्न नीति कार्यक्रम अनुरुप आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन ।’

प्रदेश सरकारले आयुर्वेद चिकित्सालाई प्राथमिकतामा राखेको पाइँदैन । कोरोना कालपछि आयुर्वेद चिकित्सामा विश्वास गर्नेहरुको संख्या दिनदिनै बढिरहेको आयुर्वेद कार्यालयको तथ्यांकमा भेटिन्छ ।

चिकित्सकहरु वार्षिक रुपमा जडीबुटी संकलन गर्ने र उत्पादन कार्य गर्न सके खेर गएको जडीबुटीको समुचित प्रयोग हुने विश्वास गर्छन् । जसले स्थानीयको आयआर्जन र आम्दानीको स्रोत बढ्न सक्छ भने प्रदेशको राजस्व वृद्धिको माध्यम बन्न सक्ने प्रमुख डा. रिजालको भनाइ छ ।

‘विद्वानले सबै अक्षरलाई मन्त्रकै रुप देख्छन् भनेझैं आयुर्वेदले पनि सबै स्थानमा भएका रुख, बोटविरुवालाई जडीबुटीको आँखाले हेर्छ,’ उनी भन्छन्, ‘कर्णाली समृद्धिको आधार आयुर्वेद र जडीबुटी पनि हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *