राजनीति

ओलीले संसद् विघटन ठीक भनेपछि मनमा चसक्क भयो : प्रधानमन्त्री दाहाल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१८ फागुन २०७९, बिहिवार

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि माओवादीले नयाँ विकल्प खोजेको बताएका छन् ।

बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुस २६ गतेको ओलीको विचारले आफूलाई सोच्न बाध्य बनाएको उल्लेख गरे ।

‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसद्‌मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्‌मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो ।

हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ । संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ‚’ प्रधानमन्त्री दाहालले भने ।

अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि सबै संविधान र लोकतन्त्रको पक्षमा उभिएर संसद पुनःस्थापना गर्न सडकसम्म गएको उनले सम्झिए । ‘हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो ।

तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ‚’ दाहालले भने । उनले पौडेलले आठ मात्र होइन १० दलको समर्थन रहेको दाबी गरे ।

गठबन्धनमा रहेका दलका साथै आम जनता र नेपाल समाजवादी पार्टीको र स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको उल्लेख गरे । ‘उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ‚’ दाहालले भने ।

उनले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेकाले मिलेर जानका लागि अनुरोध गर्दा ओलीले नमानेको दाबी गरे । मिलेर जानका लागि नै कांग्रेसका लागि राष्ट्रपति प्रस्ताव गरेको उनले बताए ।

‘पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैंमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ ।

तपाईं र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर, उहाँले मान्नुभएन‚’ दाहालले भने ।

राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक भए पनि विगतमा त्यस्तो नभएको आरोप लगाए । ‘यसपटक हामीले संविधानको महत्त्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान् नेता उम्मेदवार बनाएका छौं । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ‚’ प्रधानमन्त्री दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *