खेलकुद

यू-१९ विश्वकप छनोटमा नेपालका दुई ब्याट्सम्यानको शतक, कुवेतमाथि सानदार जित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – आइसिसी यू-१९ विश्वकप छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ। युएई जारी प्रतियोगिता नेपालले दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो।

नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भयो।

कुवेतका ओपनरद्वय किशोरभाइ हिन्सुले १६ रन र क्रिस्टोफर सल्धानाले २६ रन बनाए। यस्तै युसुफ मोहमदले १९ रन बटुले।

बलिङमा नेपालका आकाश चन्दले ६ विकेट लिए। उनले ९.५ ओभरमा ४३ रन खर्चिए। हेमन्त धामी र दिपेश कडेँलले २-२ विकेट लिए।

त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३४३ रन जोडेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले १०८ रन जोड्दा कप्तान देव खनालले १२५ रन बटुले।

कुमालले ११२ बलमा १२ चौका हिर्काए भने खनालले ११७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

ओपनर दीपक बोहरा ‘ए’ ले १३ रन जोड्दा आकाश त्रिपाठी २ रनमै आउट भएका थिए। विशालविक्रम केसीले २३ रन र दीपक बोहरा ‘बी’ ले १९ रन बटुले। दीपक डुम्रेले नटआउट २० रन जोडे।

बलिङमा कुवेतका साहिल काज्मी र हेनरी थोमसले २-२ विकेट लिए।

नेपालले अब तेस्रो खेलमा फागुन १५ गते हङकङसँग खेल्नेछ। यस्तै नेपालले फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ।

छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

२ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१० विश्वकप गुमाइसकको छ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *