समाचार

प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको तस्बिर देखाएपछि न्यायाधीश खतिवडाले भने- म हेर्दिनँ, छोडिदिनुस्

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ। लामिछानेको निवदेनमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो।

सुनुवाइको क्रममा लामिछानेका पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए। सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्दै विदेशमा खेल्न जान दिनुपर्ने वकिलहरूको जिकिर थियो।  बहसका क्रममा अधिवक्ता घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन्दीपसँग हात मिलाएको फोटो देखाएका थिए।

‘प्रधानमन्त्रीले पनि उहाँलाई सम्मान गरिसक्नुभएको छ,’ घिमिरेले तस्बिर देखाउँदै भने।घिमिरेले उक्त तस्बिर देखाएपछि इजलासबाट न्यायाधीश खतिवडाले भने- प्रधानमन्त्री, मन्त्रीले के गर्नुहुन्छ म हेर्दिनँ, छोडिदिनुस्।

यसअघि बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई सम्मान गरेका थिए। सोही क्रममा उनले सन्दीपसँग पनि हात मिलाएका थिए। प्रधानमन्त्रीको उक्त कदमको आलोचना भइरहेको छ।

लामिछानेका वकिल घिमिरेले बहस गरिरहेका बेला  न्यायाधीश खतिवडाले सन्दीपले दिएका जस्ता अरू निवेदनमा तल्लो अदालतका फैसला मगाउने, न्यायाधिवक्ताको कार्यालयको राय माग्ने प्रक्रिया रहेको बताए।

‘यसमा ती सबै प्रक्रिया किन पूरा गर्नु नपर्ने हो?’ न्यायाधीश खतिवडाले सोधे, ‘यो मुद्दालाई अदालतले अपवादकारूपमा किन लिनुपर्ने हो?’  इजलासमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दास पनि उपस्थित भएका थिए।

सन्दीपको पासपोर्ट म्यानेजरसँग हुने भएकाले उनलाई सुरक्षित रूपमा विदेश जाने र फर्किने वातावरण आफूहरूले मिलाउने दासले बताएका थिए।

न्यायाधीश खतिवडाले भने आफूले व्यक्तिगतरूपमा नेपाली क्रिकेट टिमले राम्रो गरून् अन्तराष्ट्रियर स्तरमा नाम होस भन्ने चाहे पनि कानुनी प्रकृयाप्रति संवेदशील हुनैपर्ने र त्यही कुरा आफ्नालागि प्राथमिक हुने बताए।

सन्दीपको निवेदनबारे अदालतले केहीबेरमा निर्णय दिँदैछ।आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ।उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन्।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

उच्च अदालतको आदेश बदर गर्न भन्द‌ै महान्यायाधिवक्ता कार्यालयले दिएको यस्तै निवेदनमा भने न्यायाधीश प्रकाश ढुंगाना र हरि फुयालको इजलासले आज हर्न नभ्याइनेमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *