राजनीति

दलहरुको आज निर्णायक वार्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको आज निर्णायक वार्ता हुँदैछ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।

कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित हुने अर्का एक नेताले बताए । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने भने पनि त्यो औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरिसकेका छन् । उनले एमालेसमेत सहभागी वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भनेर गरेको निर्णय गलत भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *